मूल्यवृद्धि नियन्त्रण बाहिर

धनगढी : एक महिनायता धनगढीमा मूल्यवृद्धि नियन्त्रणबाहिर रहेको छ । यस क्षेत्रमा दाल, चामललगायत दैनिक उपभोग्यवस्तुमा भएको मूल्यवृद्धिले स्थानीय उपभोक्ता मारमा परेका छन् ।
मूल्यवृद्धिले खासगरी विपन्न समुदाय र मजदुर वर्गलाई सबैभन्दा बढी असर पारेको छ । मूल्यवृद्धिसँगै बजारमा २५ किलो तौल भएको चामलको बोराको मूल्य अहिले एक हजार ३ सय ५० पुगेको छ । यो चामलको मूल्य एक महिनाअघि एक हजार २ सय २५ रुपियाँ थियो ।
यसैगरी, गहुँको पिठोको भाउ बढेर प्रतिपाँच किलोको १ सय ५५ बाट १ सय ७० पुगेको स्थानीय किराना व्यापारी यज्ञराज भट्टले बताए । दालहनको पनि भाउ बढेको छ । प्रतिकिलो मुसुरोको दाल ८५ बाट १ सय १०, अरहर १ सय १० बाट १ सय २० र मासको दाल १ सय बाट १ सय २० पुगेको छ ।
यो अवधिमा चनाको दाल र खाने तेललगायत केही उपभोग्यवस्तुको मूल्य भने स्थिर रह्यो । केही व्यापारीको मूल्यमा हुने एकाधिकारका साथै चुनावी चर्चा परिचर्चासँगै दैनिक उपभोग्यवस्तुको भाउ वृद्धि गरिएको देखिएको किराना व्यापारी बताउँछन् । यद्यपि, चामल र पिठो उत्पादन गर्दै आएका स्थानीय उद्योगीले भने मूल्यमा आफूहरूको एकाधिकार भएको भन्ने भनाइ गलत भएको दाबी गर्दै भारतमा भन्दा नेपालमा चामल सस्तो भएको बताए ।
जिल्लामा उत्पादित गुणस्तरीय चामल जिल्लाबाहिर बिक्री गर्ने र भारतबाट कमसल खालको चामल ल्याई यस्तो चामलमा पुन: पोलिस गर्दै स्थानीय बजारमा बिक्री गर्ने प्रवृत्ति कतिपय व्यापारीमा देखिएकाले पनि चामलको भाउ बढेको कतिपयको भनाइ छ ।

प्रतिक्रिया