…त्यसपछि बाँच्ने निर्णय गरेँ

Keshab-Sthapit०१६ सालमा न्युरोड, प्युखामा जन्मेँ । गोह्रो वर्णको हेर्दै राम्रो थिएँ रे † अरूको आँखा नलागोस् भनेर आमा मलाई सधैँ गाजलको टीका लगाइदिनुहुन्थ्यो । गोरो छाला घामले डढेर कालो होला भन्दै सधैँ शरीर पूरै छोपिने लुगा लगाइदिनुहुन्थ्यो । परिवारमा सबैको प्रिय थिएँ । जति बेला जे मागे पनि सजिलै पाउँथेँ । कुनै चिजका लागि कहिल्यै रडाको गर्नुपरेन । परिवार सम्पन्न भएकाले सुखमा हुर्किएँ ।
चार वर्षको उमेरमा निर्मल विद्यापीठमा भर्ना गरिदिए । दाजु पनि त्यहीँ पढ्थे । स्कुलमा कपीकलम प्रयोग हुँदैनथ्यो । घरमा बनाएको काठको पाटी र चक लिएर दाजुसँगै जान्थेँ । पाटीमा रातो माटो पोत्थ्यौँ, लेख्दा अक्षर देखियोस् भनेर । स्कुलको पहिलो दिन मस्तिष्कमा अझै ताजै छ । आमाले घरमा बुनेको रातो धर्के सुनौलो रंगको भुवादार सुइटर लगाइदिनुभएको थियो । फागुनको महिना थियो । काठमाडौंमा मुटु कमाउने चिसो हुन्थ्यो । स्कुल पुगेपछि सुकुलमा बसेर पढंँ। अहिलेजस्तो डेस्कबेन्चको चलन थिएन ।
सानोमा म एकांगी स्वाभावको थिएँ । अरूसँग धेरै नबोल्ने, आफूभित्रै सोचाइमा डुबिरहने । स्कुलबाहेकको समय आमालाई एक छिन पनि छोड्न सक्दैनथेँ । परिवारले स्कुल त पठाए । तर, मलाई विस्तारै लाग्न थाल्यो– यो ठाउँ मेरा लागि ठीक छैन, यस्तो शिक्षा लिएर के हुन्छ ? त्यसपछि त के थियो, घरबाट स्कुल भनेर जाने अनि पढ्न छोडेर अन्तै भाग्ने । स्कुलमा पढाइ चलिरहँदा भूगोलपार्क वा विष्णुमती छेउछाउ गएर खेल्थेँ । कहिले त्यसै बसिरहन्थेँ, पढ्नचाहिँ पटक्कै मन नलाग्ने । साँझ अरू साथी स्कुलबाट फर्कने बेलामा घर आउँथेँ ।
स्कुलमा सधैँ अनुपस्थित भएका कारण एक कक्षाको परीक्षा दिन पाइनँ । अनि त सबैका अघि मेरा पोल खुलिहाल्यो । ‘यसरी भएन’, बुबाले माहिनाको तीस रुपियाँ खर्च गर्ने गरी घरमै पढाउने व्यवस्था मिलाउनुभयो । त्यसपछि दाजु र मलाई पढाउन एक जना सर घरमै आउन थाले । नपढी कहाँ सुख भो र अब त ? सरका अघि बस्न मात्रै भए पनि परिगो । मन त कहाँ लाग्थ्यो र ? एक दिन बुबाले कुरा गरेको सुनेँ– ‘यो मास्टर हामी अगाडि हुँदा मात्रै राम्रो पढाएजस्तो गर्छ, नहँुदा राम्ररी पढाउँदैन ।’ मलाई पनि मास्टर भगाउने निहुँ चाहिएको थियो, पाइहालेँ । दोस्रो दिन उनी आउनेबित्तिकै लात्ताले बजाएँ– ‘हामीलाई राम्रो गरी नपढाउने मास्टर लौ जा त †’ भोलिपल्टदेखि उनी आउन छोडिहाले ।
त्यो साल पनि त्यत्तिकै बित्यो । सँगैका साथी तीन कक्षामा पढ्ने भइसकेका थिए । त्यसपछि मलाई आदर्श विद्या मन्दिरमा भर्ना गर्न लगियो । प्रवेश परीक्षा दिनुपर्ने रहेछ । सरले एबिसिडी लेख्न भने । लेख्दै जादाँ ‘पी’ उल्टो लेखेछु । ‘एबिसिडी पनि लेख्न आउँदो रहेनछ, यस्तालाई एकमा भर्ना गर्न सकिँदैन ।’ शिशुकक्षामा लगेर हुलिदिए । हीनताबोध हुन्थ्यो– आफूभन्दा साना माथिल्लो कक्षामा, आफूचाहिँ आधा कक्षामा † मलाई आफू अरू साथीभन्दा नजान्ने हुँ भन्ने लाग्न थाल्यो । त्यसैले कसैसँग बोल्दैनथेँ, त्यो स्कुल पनि जान मन लाग्न छाड्यो । ढोकामा चुकुल लगाएर भित्र लुक्न थालँे, स्कुलको गाडी गइसकेपछि मात्रै बाहिर निस्कन्थेँ ।
आदर्श विद्यामन्दिरका प्रिन्सिपल सत्यनारायणबहादुर श्रेष्ठ अहिलेको कम्प्युटरजस्तै तेज थिए । सबै बिद्यार्थीका परिवारको समेत जानकारी राख्थे । म स्कुल नगएको धेरै दिन भएपछि एक दिन उनी हाम्रो घर आए । देख्नासाथ उपाय खोज्न थालेँ– ‘यो प्रिन्सिपललाई पनि भगाउनुपर्छ तर के गर्ने ?’ उनलाई पनि ‘किन आएको’ भन्दै लात्ती हानेँ ।
तर, सधैँ यसरी कहाँ हुन्थ्यो र ? भोलिपल्ट सबैले फकाएर फेरि स्कुल पठाए । डराई–डराई गएँ । हिजो आपैँmले लात हानेको, प्रिन्सिपलसँग निकै डर लागिरहेको थियो । मनभरि सोचेँ– ‘आज पिटाइ त पक्कै भेटिन्छ ।’ अहिलेको हिमालयन होटल भएको ठाउँमा स्कुलको स्पोर्टरुम थियो । खचाखच विद्यार्थी थिए, सर त्यहीँ हुनुहुन्थ्यो । मलाई बोलाउनुभयो । सोचेँ– ‘लौ सब विद्यार्थीमाझ मेरो बाजा बजाउने भए ।’ दुखाइ सम्झेर पहिल्यै डराएँ । तर, उहाँले मीठो आवाजमा मलाई बोलाउनुभयो । अनि सबैसँग भन्नुभयो– ‘योजस्तो बहादुर कोही छैन । आजसम्म कसैले स्कुलबाट भाग्ने आँट गरेको छ ? कहीँ एक्लै घुम्न जान सक्छ ? यो जान्छ, त्यसैले आँटिलो छ ।’ सर त मेरो प्रशंसा पो गर्न थाले– ‘यो निकै ट्यालेन्ट छ । कमजोरी भनेको एउटा मात्रै हो– समयलाई दुरुपयोग गर्छ ।’ पिट्लान् भन्ने सोचेका मान्छेले त मलाई ‘ल खेल’ भन्दै मलाई बल पो दिए । त्यो दिन मलाई साह्रै आत्मग्लानि भयो, यति माया गर्ने बुबाजस्तो प्रिन्सिपललाई लात हानेकोमा । त्यसपछि मेहनत गरेर पढ्न थालेँ ।
सात कक्षामा पढ्दा ममा धेरै ‘फ्रस्टेसन’ आयो । मेरा बाजेले भोगेको एउटा दारुण विगत सुनेपछि मलाई बाँच्नै मन लाग्न छाड्यो । राजतन्त्रले उहाँमाथि अन्याय गरेको रहेछ । मर्ने सोचाइ बनाइसकेको थिएँ । त्यो उमेरदेखि नै हिन्दी कथा–उपन्यास खुव पढ्थेँ । त्यस बेला एउटा हिन्दी कथाको किताब हात परेको थियो, पढ्दै थिएँ । त्यसको एउटा पात्रसँग मैले आफ्नो जीवनका धेरै कुरा मिलेको पाएँ । किताबको नाम त अहिले याद छैन । तर, त्यसको पात्रले अन्तिममा आत्महत्या सोच त्यागेर बाँच्नुपर्ने निष्कर्ष निकाल्छ । ती तर्कले मलाई पनि प्रभाव पारे । लाग्यो– मरेर हैन, आफन्तलाई दु:ख दिनेलाई बाँचेर बदला लिनुपर्छ । फेरि बाँच्ने निर्णय गरे । कोर्सका भन्दा बाहिरका किताब धेरै पढथेँ । पैसा चोरेर भए पनि हिन्दी उपन्यास किन्थेँ । भारतीय, चिनियाँ, अमेरिकी र रसियन लाइब्रेरी पुगिरहन्थेँ । किताब निकालेर पढ्थेँ । जिम keshav-Shapit-Sourya-Dailyजानु, खेल्नु र नयाँनयाँ कुरा खोज्नु मेरो बाल्यकालीन स्वभावकै निरन्तरता हो ।
बुबा सधैँ तमाखु खानुहुन्थ्यो । तमाखु भर्ने जिम्मा कहिलेकाहीँ मेरो पनि हुन्थ्यो । धुवाँ आयो कि आएन भनेर थाहा पाउन पहिला आफूले तान्नुपथ्र्यो । दाजु बिँडी खान्थे । सुरुमा सल्काउनचाहिँ मलाई लगाउँथे । दाजुले भनेको मान्नैपर्‍यो, म खोक्दै तान्थेँ । पछि त दाजु मैलाई ब्ल्याकमेल गर्न थाले– ‘मैले बिँडी खाएको आमालाई भनीस् भने ठीक हुँदैन । नत्र, पहिला तैँले नै खाएको भनिदिन्छु ।’ चार वर्षको उमेरमा दाजुका लागि बिँडी खाएको थिएँ ।
मेरा बाजेबराजु पुस्तौँदेखि राजदरबारमा निर्माणको काम गर्थे रे † मल्लकालीन तलेजु भवानीको मन्दिर हाम्रै पुर्खाले बनाएका रहेछन् । त्यो त्यति बेला भारतवर्षकै सर्वोत्कृष्ट मन्दिर मानिएकाले राजाले खुसी भएर हामीलाई ‘स्थापित’ मानपदवी दिएका रहेछन् । सानैमा काकाबाजेले मलाई सुनाएका । दरबारमा हुने हरेक संरचना निर्माणको जग हाम्रै पुर्खाले हाल्थे रे †
पृथ्वी वीरविक्रम शाहको पालामा दरबारमा निर्माणको काम हाम्रा बाजेको हातमा आएछ । ती राजाका बीसवटी रानीमध्ये पश्चिमतिर माइत भएकी एउटीले बाजेलाई आदेश दिइछन्– ‘पन्ध्र दिनमा छपन्न हातको एउटा दरबार निर्माण गर ।’ आदेश मानेर बाजे दरबार निर्माणमा जुट्नुभयो तर उनले भनेको दिन सकिएनछ । त्यसपछि, ती रानीले बाजेलाई नांगेझार पारेर शरीरभरि चाकु दलिदिन आदेश दिइछन् आसेपासेलाई । रानीको आदेश लागू नहुने कुरै भएन । त्यो घटनापछि बाजे मानसिक तनाबले ग्रस्त हुनुभएछ । त्यही पीडाले केही वर्षमै बित्नुभएछ । त्यो घटना सुनेपछि मेरो बालमस्तिष्कमा सधैँ राजतन्त्रसँग बदलाको भाव उत्पन्न भयो । बाजेले भोगेको मानसिक पीडा मेरो मस्तिष्कमा पनि छिरेको थियो । पढ्न बस्यो, मन नलाग्ने । आँखावरिपरि बाजेले पाएको दु:खका काल्पनिक चित्रहरू घुमिरहन्थे । बदला बिस्तारै बिद्रोही भावनामा परिणत भयो, कसरी यीे राजाहरुलाई समाप्त गर्ने भनेर । त्यही क्रममा झापालीहरूसँग संगत भयो । स्कुलका एक जना सर सुनाउनुन्थ्यो– ‘झापामा यस्ता मान्छे छन्, जो कम्युनिस्ट हुन्, उनीहरू समाज परिवर्तन गर्न लागिपरेका छन् ।’
०२६ सालमा विद्यार्थीहरू जुलुस लिएर न्युरोड, पीपलबोटमा आउँथेँ । म सानै थिएँ तर उनीहरूको पर्चा बाँडिदिन्थेँ । भाषण सुन्थेँ । कम्युनिस्टहरू राजाको चर्को विरोध गर्थे, कांग्रेसीहरू गर्दैनथे । ठहर्‍याएँ– ‘कम्युनिस्टको पछि लागे राजतन्त्र फाल्न सकिने रहेछ ।’ बिस्तारै कम्युनिस्टसँग नै संगत बढ्यो ।
कक्षा दश पढ्दा वर्षभरिमा जम्मा २९ दिन हाजिर भएछु । त्यसैले एसएलसी पास गर्न मैले कुल एघार वर्ष पढ्न पर्‍यो । पछि पढाइ राम्रै थियो । अतिरिक्त क्रियाकलाप र खोज–अनुसन्धानात्मक विषयमा सधैँ अगाडि हुन्थेँ । स्कुलमा पढाइ छोडेर भाग्नुमा मेरो मस्तिष्कमा गडिएको राजाहरूको निरंकुश छवि नै कारण थियो । बाजेहरूले दरवारमा काम गर्दा पाएको दु:ख र अपमान सुनेपछि स्कुलमा पढाइने ‘पञ्चायत’ र ‘महेन्द्र’ माला हेर्न समेत मन लागेन । समाप्त गर्नुपर्ने राजाका नामबाट लेखिएका किताब किन पढुँ । सधैँ बदलाको भावना उत्पन्न भइरहन्थ्यो ।
बाल्यकालमा जति बदमासी गरे पनि घरमा गाली भने खाँदैनथेँ । आमाको साह्रै प्यारो छोरा । उहाँका अगाडि मलाई कसैले केही भन्न नसक्ने । म पनि कम चलाख थिइनँ । केही गल्ती भयो भन्ने लाग्नेबित्तिकै आमा भए ठाउँ पुगिहाल्थेँ । आज यसो गरेँ, उसो गरेँ भन्दै फुर्ती लगाउँथेँ । दश–पन्ध्र मिनेटमै आमालाई आफ्नो पक्षमा वकालत गर्न तयार पारिहाल्थेँ । उहाँका अघि लुटुपुटु गरेपछि कसैको केही नलाग्ने ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया