सुन लुटपाटमा संलग्न गिरोह समातिए

चितवन, २८ जेठ । चितवनको विभिन्न सडकखण्डमा लुटपाटमा संलग्न ११ अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

चितवनको दारेचोक–९ फिस्लिङग सडकखण्डमा २५ जेठमा बा २ ख ३४०७ नम्बरको यात्रुबाहक माइक्रोबसबाट ३३ तोला सुन लुट्न खोजेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महादेवस्थान–२ का २४ वर्षीय सन्तोष लामा, धादिङ बैरेनी–६ का ३१ वर्षीय मानबहादुर थिङ, जोगीमारा–९ का २३ वर्षीय सुदम कँडेल, जोगीमारा–२ का ३२ वर्षीय साङ्गे राई भन्ने सन्तबहादुर राई, नौबिसे–१ का २२ वर्षीय उत्तम लामा थिङ, नौविसे–८ का २५ वर्षीय अरुण तामाङ, गोगनपानी–७ का ३१ वर्षीय राजु लामा, मकवानपुर टिस्टुङ–४ का ३१ वर्षीय दिनेश लामा र २८ वर्षीय वाङथोक लामा, फाखेल–६ का २८ वर्षीय गणेशमान लामा र रोल्पा हारजुङ–६ का ३० वर्षीय सर्वजित थकाली रहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
सुनव्यापारीले बाग्लुङबाट चालकको जिम्मा लगाइपठाएको ३३ तोला सुन काठमाडौंका सन्तोष लामाको नेतृत्वमा लुट्ने क्रममा ११ जनालाई नै मुग्लिङ इलाका प्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट लुटेर लगेको ३३ तोला सुनसहित लुट्न प्रयोग गरेको फलामे खुकुरी २ थान, काठको पेस्तोल १ थान, विभिन्न किसिमका मोबाइल १२ थानसमेत बरामद गरेको छ । आरोपीलाई चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेका चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया