आदिवासी जनजातिको धर्नामा प्रहरी हस्तक्षेप

Janajati-Dharnaविराटनगर, २८ जेठ । नगर क्षेत्रमा रहेका आदिवासी जनजाति समुदायलाई रोजगार मूलक तालिमको माग गर्दै विराटनगर उपमहानगरपालिका कार्यालयमा आदिवासी जनजाति महासंघ नगर समितिको अगुवाइमा दिइएको धर्नामा सोमबार प्रहरीले हस्तक्षेप गरेको छ । आदिवासी जनजाति महासंघ नगर समिति विराटनगरले सोमबार विराटनगर उपमहानगरपालिका कार्यालयअगाडि नाराबाजी गर्ने र धर्ना दिने कार्यक्रम गरेको थियो । दलित वर्ग उत्थान र पिछडिएको वर्गको समेत सहयोग लिएर आदिवासी जनजाति महासंघ नगर समन्वय समितिले १३ सूत्रीय माग राखेर आन्दोलन थालेको हो । लक्षित वर्गका लागि सरकारले छुट्याएको रकम सही ठाउँमा सदुपयोग हुनु पर्ने माग राखेर सुरु गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप आन्दोलनकर्मीको छ ।

सरकारले छुट्याएको रकम लक्षित वर्गमा लगेर खर्च गर्न माग गर्दै धर्नामा बसेकामाथि प्रहरीले बल प्रयोग गरेको आन्दोलनकारी बताउँछन् । उपमहानगरका कर्मचारी कार्यालयमा प्रवेश गर्नुअघि नै कार्यालयको गेटमा पुगेर धर्ना दिइरहेका आन्दोलनकारीलाई प्रहरीले हटाएर कर्मचारीलाई कार्यालय प्रवेश गराएको थियो । कर्मचारीलाई कार्यालय प्रवेश गराए लगत्तै प्रहरीले आन्दोलनकारी लाठी चार्ज गर्न थालेको थियो ।
प्रहरीको लाठी चार्जबाट सात जना घाइते भएका छन् । सुरेन्द्र महतो, दीलिप शाहा, अर्विनकुमार मण्डल, विके चाम्लिङ, कल्पनासी गनगाईलगायत घाइते भएको आदिवासी जनजाति महासंघ विराटनगरका अध्यक्ष मिलन राईले बताए । उनले उपमहानगरले लक्षित वर्गसम्म बजेट नलगिकन मनोमानी रूपमा खर्च गर्ने प्रवृत्ति बढेकाले पारदर्शीताको माग पटक–पटक गरिएको जानकारी दिए ।
लक्षित वर्गका लागि उपमहानगरपालिकाले छुट्याएको रकम सही ठाउँमा सदुपयोग हुनु पर्ने माग राखेर सुरु गरिएको आन्दोलनमा उपमहानगरपालिकाका कर्मचारीको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको दलित वर्ग उत्थान नगर परिषद्का अध्यक्ष धुव्र विश्वकर्माले बताए । लक्षित वर्गका कार्यक्रम उद्देश्यमूलक, पारदर्शी, उत्तरदायी हुनु पर्ने, लक्षित वर्गको सहमतिमा योजना छनौट गर्नु पर्ने, उपमहानगरका कर्मचारीको चल अचल सम्पत्ति छानबिन गरिनु पर्ने र लक्षित वर्गका लागि छुट्याइएको रकम दुरूपयोगको छानबिन गरिनु पर्नेलगायतका माग आन्दोलनकमर्मीको छ । बजेट दुरूपयोग गर्ने माथी कारबाही गरिनु पर्ने, विनियोजित बजेट लक्षित वर्गसँगको समन्वय विनानै खर्च गर्नका लागि गरिएको निर्णय बदर गर्नु पर्नेलगायतका १३ सूत्रीय माग राखेर आन्दोलन थालिएको हो । माग सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले लक्षित वर्गका लागि छुट्याइएकको बजेट रकम दुरूपयोग नभएको बताए । ‘नगरपालिकाको एउटा नीति हुन्छ,’ उनले भने, ‘त्यही नीति अनुरूप बजेट खर्च भइरहेका छन् । त्यही भएर पनि अहिले भइरहेको आन्दोलनको कुनै अर्थ छैन ।’
यसैबीच आन्दोलनको समाचार संकलन गर्न गएका विराटनगरका दुई जना पत्रकारमाथि आक्रमण भएको छ । उपमहानगरका कर्मचारीले पत्रकारद्वय कौशल निरौला र ब्रह्मदेव यादवमाथि आक्रमण गरेका हुन् । धर्ना कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको भिडियो खिचिरहेका पत्रकार कौशल निरौलामाथि नगरका कर्मचारीले एक्कासी आक्रमण गर्न थालेका थिए । निरौलालाई बचाउनका लागि गएका अर्का पत्रकार यादवमाथि पनि नगरका कर्मचारीको निर्देशनमा प्रहरीले लाठी हानेको छ । आक्रमणबाट पत्रकार निरौलाको मुखमा र यादवको ढाडमा चोट लागेको छ । नेपाल पत्रकार महासंघले समाचार संकलनका लागि गएका पत्रकारमाथि भएको आक्रमणको विरोध गरेको छ । महासंघले आज नै एक विज्ञप्ति जारी गरेर पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघ अध्यक्ष विक्रम निरौलाले दोषीलाई कारबाही नभए आन्दोलन थालिने जानकारी दिए ।

प्रतिक्रिया