लोथर खोलाबाट गिटी, बालुवा झिकिने

gittiचितवन, २६ जेठ । चितवन र मकवानपुर जिल्लाको सिमानामा पर्ने लोथर खोलाले पुल र मानवबस्ती जोखिममा पारेपछि खोलाबाट गिटी बालुवा निकालिने भएको छ ।

वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो खोलाबाट गिटी, बालुवा निकाल्न नदिँदा खोला पुरिएर पुल नै बगाउने र खोला थुनिएर बस्तीमा पस्ने खतरा बढेपछि लोथर राप्ती ड्याक संरक्षण समितिको पहलमा गिटी, बालुवा निकाल्न लागिएको हो । यसअघि सो कार्य अनुमतिका लागि समितिले सरोकारवाला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिनुका साथै मुख्यसचिवलाई भेटेर अवस्थाबारे ध्यानाकर्षण गराएको थियो । खोलाको सतह बढेर पुल थुनिए बाढी बस्तीमा पस्ने र पूर्वीचितवनका दर्जन गाविसका झन्डै एक लाख जनताको जीवन जोखिममा पर्ने भएकाले खोलाको सतह गहिरो बनाउन पहल थालिएको लोथर राप्ती ड्याक संरक्षण समितिका अध्यक्ष जेपी भेटवालले बताए ।
समितिको पहलपछि गठन गरिएको गृह मन्त्रालय, वन मन्त्रालय, स्थानीय विकास मन्त्रालयका प्रतिनिधि सहभागी अध्ययन टोलीले स्थलगत अध्ययन सके पनि यसअघि खोलाको सतह गहिर्‍याउन नसकेकाले पूर्वीचितवनका गाविस डुवानमा पर्न सक्ने ठहर गर्दै अध्ययन प्रतिवेदन बुझाएकाले सोही अ ाधारमा खोलाको गिटी, बालुवा निकालेर सामाजिक काममा लगाइने भएको हो । पूर्व–पश्चिम राजमार्गमै रहेको लोथर खोला पुलभन्दा उत्तरतर्फ ४ सय मिटर र दक्षिणतर्फ १६ सय मिटर क्षेत्रको एक लाख ५६ हजार दुई सय घरमिटर ग्राबेल झिक्ने तयारी भएको लोथर राप्ती ड्याक संरक्षण समितिका अध्यक्ष भेटवालले बताए । खोलाबाट झिकेको ग्राबेललाई लोथर तथा राप्ती नदी किनारमा निर्माण गरिएको तटबन्ध तथा पूर्वीचितवनका विभिन्न गाविसमा आवश्यकताअनुसार प्रयोग गरिने जिल्ला विकास समिति चितवनका कृषि तथा पर्यटन शाखा अधिकृत राजेन्द्र सुवेदीले बताए ।
मानव बस्ती नै बाढीका कारण जोखिममा पर्ने भएकाले ग्राबेल झिक्न सहमति गरिएको तथा सरोकारवाला सबै विभागका प्रतिनिधि सम्मिलित टोलीले दिएको प्रतिवेदनका आधारमा तोकिएको क्षेत्रबाट गिटी, बालुवा निकालिने भएकाले जैविक विविधता तथा वातावरण सन्तुलनमा नकारात्मक असर नपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए । जिल्लास्थित सरोकारवाला सरकारी कार्यालय, राजनीतिक दलका प्रतिनिधि र प्रभावित क्षेत्रका प्रतिनिधिले स्थलगत अवलोकन गरी गिटी, बालुवा निकाल्ने कामलाई व्यवस्थित पार्ने निर्णय गरिसकिएकाले छिट्टै काम सुरु हुने जिल्ला विकास समिति चितवनका कृषि तथा पर्यटन शाखा अधिकृत सुवेदीले बताए । ०२७ र ०५० सालमा आएको बाढीले सो क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति पुर्‍याएको थियो । ०५२ सालबाट तटबन्ध बनेपछि सो स्थानबाट विस्थापित बनेकाहरू पनि गाउँ फर्किन थालेका थिए ।

प्रतिक्रिया