एसियाली राजनीतिक सम्मेलन सुरु

काठमाडौँ, २६ जेठ । लोकतन्त्रको रक्षा तथा साम्राज्यवादको विरोधमा रहेका एसियाली मुलुकका प्रजातान्त्रिक तथा वामपन्थी पार्टीहरूको तीनदिने क्षेत्रीय सम्मेलन शनिबार काठमाडौंमा सुरु भयो । सम्मेलनमा सहभागीले एसियाली मुलुकमा अझै पनि अमेरिकाको साम्राज्यवादी हस्तक्षेपको नीति रहेको, कतिपय मुलुकमा राजतन्त्र र निरंकुशता रहेकाले ती मुलुकको समग्र विकास हुन नसकेको जनाएका छन् । यसको विरोधमा यी मुलुकका सबै लोकतन्त्रवादी तथा साम्राज्यवादविरोधी राजनीतिक दल र जनताबीच ऐक्यबद्धता हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

नेपाल, भारत र बंगलादेशका गरी करिब पाँच सय जनाको सहभागिता रहेको सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरे । अध्यक्ष केसीले क्रान्तिकारी आन्दोलनको इतिहास बोकेको तथा पर्याप्त सम्भावना भए पनि साम्राज्यवाद र निरंकुशताको निरन्तर सिकार भएका कारण जनताको समाजवादको लक्ष्य पूरा नभएको बताए । केसीले नेपालमा अहिले पनि भारतीय विस्तारवादको प्रभाव रहेको भन्दै नेपालको जलसम्पदा र उपभोग्य भू–भागमा भारतीय हस्तक्षेपको नीतिले नेपालको राष्ट्रियता खतरामा रहेको दाबी गरे  ।
अध्यक्ष केसीले नेपालजस्तो सानो र अल्पविकसित मुलुकमा संघीयताको नारा उचाल्दा राष्ट्रियता थप खतरामा पर्ने विचार व्यक्त गरे  । सम्मेलनको सफलताको कामना गर्दै एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, कांग्रेसका नेता मनमोहन भट्टराई, नेकपा (माले) का महासचिव सिपी मैनालीलगायतले लोकतान्त्रिक मार्गमा बाधा उत्पन्न गर्ने कुनै पनि प्रकारका अधिनायकवाद तथा विस्तारवादको डटेर विरोध गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले एसियाको विद्यमान राजनीतिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया