संगीतमय कविता

Biamal-Aarohiयो मैले ‘समीक्षा’ लेखेको होइन, न त ‘रिभ्यु’ नै । म प्रतिबद्ध र ‘जिज्ञासु’ पाठक होइन । लिखित समीक्षक हुनु त झन् मेरा लागि अग्लो र दुर्गम पहाड हो । चिया गफमा गफाउने मौखिक प्रतिक्रियावादी पाठकचाहिँ अवश्यै हुँ म । ‘लोकेसन’का कर्ता दीपक सापकोटाको अह्रन ताकितामा चेन्जिएपछि मैले अखबारमा सार्वजनिक गरेको यो पठनअनुभव केवल दोस्रो हो ।
सङ्गीतश्रोताको ‘वास्तविक र सही’ पुरेतप्रदत्त नाउँ, पार्टीगत र पेसागत संलग्नता, कविको रूप र रङ, उमेर र थर, वर्ण र धर्म, जात र गोत्र, गर्भस्थान–जन्मस्थान र कर्मस्थान, लेखनोन्मुख र प्रकाशोन्मुख कृतिसूची, पुरस्कार र पदक, सम्मान र अभिनन्दन, रुचि र भ्रमण, शिक्षा र दीक्षा, बा र बाजे (आमा र श्रीमती होइन) इत्यादिबारे सप्रसंग व्याख्या त के ‘चुुँ’ समेत नगरिएको यो कसरी समीक्षा हुन सक्ला ? प्राच्यदेखि पाश्चात्यसम्मका, शास्त्रीयदेखि उत्तरोत्तराधुनिकतावादी ‘उद्यमी’हरूका स्टेटमेन्टसको क्वोटै नगरी र तिनका ‘चाबी’विनै कविता खोल्ने (खुलस्त जो छन्) प्रयासलाई कसरी ‘समाऽऽलोचना’ मान्न सकिएला ? लोकको कुनै कविलाई तराजुको एक पल्लामा नराखीकन सङ्गीतश्रोताको ‘ओइट’ लिन सम्भव छैन ? तरकारी बजारमा डिजिटल तराजु प्रयोग हुन थालेको वर्षाैं भइसक्दा पनि ‘समाऽऽलोचना’को ‘हाटबजारिया’हरू भने ‘ढक’खाने पुरातात्विक तराजु झुन्डयाई ‘दुकान’ थापिरहेका छन् । रमैलो त के छ भने ‘भजनशिरोमणि’ टाइपका ‘उत्तरआधुनिक क्रिटिक्स’का हात पो झन् ‘पूर्वआधुनिक ढकैढक’ले भरिभराउ छन् ।
संग्रहमा कविता कतिओटा छन्, कविताका शीर्षक के–के हुन्, किताबमा कति पृष्ठ छन्, कवितामा कति अनुच्छेद–वाक्य–शब्द–अक्षर छन् इत्यादिबारे लेख्तै ‘जीवन र जगत्’ कविताका विषय हुन्, शीर्षक सार्थक छ, भाषा सरल र सहज छ, हिज्जेमा केही गडबडी छ, बिम्ब र प्रतीकको प्रस्तुति मन छुने छ, कभर आकर्षक छ, पेपर क्वालिटियुक्त छ, फन्ट सही छ’ लेखेर अन्त्यमा ‘असंख्य’ कमी–कमजोरी भए पनि पुस्तक हरेकले एकचोटि पढ्नैपर्ने असाध्यै पठनीय र मननीय, संग्रहणीय र किननीय, सर्वोत्तम र सर्वाेत्कृष्ट छ’ भनी नलेखिएको यो कसरी समीक्षा होला त ?
कविता के हो ? कविताले के दिन्छ ? कविता किन बढी लेखिन्छ ? जस्ता ‘आदि सवाल’लाई सम्बोधन नगरीकनै केही सवाल–जवाफ थपाँै । साहित्यिक विधामध्ये बेलाबेला दोहोर्‍याएर पढिने विधा किन कविता हो ? गतिला कविहरू स्थापित उपन्यासकार, कथाकार, निबन्धकार, नाटककार बन्न सकेका छन्, तर गतिला अन्यकारहरूले कविता लेखे भने हन्ड्ेरड पर्सेन्ट झुर लेख्छन्/लेखेका छन् । अरू विधामा ठस्ठसी कनेर पनि ‘कलम चलाउन’ सकिएला तर साँच्चैको कविता भने ख्वाल्ल पखाला नलाग्नेले लेख्न सम्भव छैन । त्यसैले मानिएको थियो होला, काव्य र साहित्य अर्थात् कवि र साहित्यकारलाई समानार्थी पद ।
मेरो ‘हाइपोथेसिस’ छ– भर्खर बितेको ६ अंके दशक नेपाली कविताको पुनर्जागरण र पुनर्आकर्षण हो । यो दशकमा केही निक्कै खत्रा हरामी कवि जन्मेका छन् । गजप त के छ भने कविको औतारमा अलि पहिल्यै जन्मिसकेकाहरू समेत यही दशकमा हिरो बनेका–पल्टेका छन् । इच्छुक र आहुतिका कविता, विप्लव र श्रवणका कविता पुरानै कारखानाका नयाँ र विशिष्ट मोडल हुन् । ‘घर फर्किरहेको मानिस’ र ‘ल्याम्प–पोस्टबाट खसेको जून,’ ‘हजार वर्षको निद्रा’ र ‘सीमान्त आमाहरू,’ ‘बाडुली र सुदूर सम्झना’ अनि ‘अस्तित्वको घोषणापत्र,’
‘भोकको क्षेत्रफल’ र ‘म काठमाडौं आइपुगेँ,’ ‘र नि:शब्द’ र ‘आदिम सिमाना,’ ‘महाभारतकी मैच्याङ’ र ‘बागी सारंगी’ इत्यादि थुप्रै कविताले मलाई ‘कवितामा पुनर्आकर्षण’ बोल्न सकसक बनाइदिएका हुन् । मोमिला र हरिमाया, गीताहरू र सीमा, गाम्नागे र ज्योति, अभय श्रेष्ठ र सुरेश किरण, बुद्धिसागर र राबत, धाइबा र हेमप्रभास, बाबु त्रिपाठी र सुको, दूतेन्द्र र वसन्त ‘विवश’ आचार्य, रूपेश र दीपक सापकोटाका कविताले पनि मलाई छोएका छन् । (नोट : यो मेरो ‘हाइपोथेसिस’ मात्र हो, ‘फाइन्डिङ’ होइन । मेरो सीमित रिडिङका कारण यहाँ नपरेका कविताज्यूसँग म क्षमाप्रार्थी छु ।)
अहो ! म त ‘म काठमाडौँ आइपुगेँ’ कविताको तौल लिएर लोकलाई सुनाउन पो बसेको त । कताकता भौँतारिएछु । म अलमलिएको जानाजान पनि किन हुन सक्छ भने ममा कविताको तौल लिने ताकत र कविता ‘खोल्ने’ जाँगरको निथार पनि छैन । मलाई लाग्छ, कविता जोख्ने ‘प्रतियोगिता र महोत्सव’ खारेज गरिनुुपर्छ । कविता तौलिने वस्तु होइन, न त अक्षर–अक्षर र शब्द–शब्द सन्धान गरिनुपर्ने ‘प्राचीन अभिलेख’ वा ‘संविधान’ नै । म राम्रो कविता पढेपछि शब्दमा उतार्न नसक्ने खालको स्वाद पाउँछु । कविता घन्टा बजाएपछि घन्टाबाट निस्कने लामो अनुरणनजस्तो लाग्छ ।
‘म काठमाडौँ आइपुगेँ’ कवितासंग्रह मैले पढेँ, दोहोर्‍याएँ । कविता किन दोहोर्‍याइरहन्छु, यसको जवाफ भने मसँग छैन । विम्ब र प्रतीकको अन्टसन्ट प्रयोग भएका कविता म पढ्नै सक्दिनँ, फिटिक्कै बुझ्दिनँ । विम्ब र प्रतीकविना पनि छोइने कविता लेख्न सकिने रै’छ भन्ने यो संग्रह पढेपछि मलाई भयो । यो संग्रहका कविता पढेपछि मलाई लागेको के पनि छ भने प्रयोग गर्न जाने शब्दको संगीतले भावको संगीतलाई सधैँ मार्दाे रहेनछ, बरु जीवन्त बनाउँदो रै’छ ।
सारा भत्कियो र बिग्रियो भन्दै डाँको छाडेर रोइरहने रुन्चे र पिन्चे कविता लेख्ने झुर कविहरू पनि छेउछाउमा उत्तिकै छन् । तर, संगीतका कविता रुँदैनन्, आत्महत्या गर्दैनन् बरु ती त महाराजसँगै आँखा जुधाएर बन्दुक माग्छन् र भन्छन्, म पनि गोली चलाउन पाऊँ । संगीतका ‘दुविधा,’ ‘जीवन,’ ‘कमरेड किताब खोजिरहनुभएको छ,’ ‘वायुमण्डलको पेटेन्ट,’ ‘म कवि बन्न चाहन्नँ,’ ‘आमाको अन्तर्वार्ता,’ ‘पुस्तक’ इत्यादि कविता कुनै गोलीभन्दा कम बिझ्दैनन् । संगीतका कविता ‘नयाँ’ अजेन्डावाहक सचेत राजनीतिक कार्यकर्ता हुन्, नेताका दैलोदैलो चहार्ने–चाकडी गर्ने, चोकमा आउने–सत्तोसराप गर्ने तस्कर होइनन् ।
सरलता र सीधा सङ्गीतका कविताका सबल पक्ष हुन्, सरलता र सीधा सङ्गीतका कविताका कमजोर पक्ष हुन् । सुरुकै वाक्य : यो मैले ‘समीक्षा’ लेखेको होइन, न त ‘रिभ्यु’ नै । भूलचूक लिनेदिने ।

प्रतिक्रिया