सार्वजनिक जग्गा निजीकरण गर्ने प्रयास असफल

भैरहवा, २५ जेठ । भैरहवामा रहेको सार्वजनिक जग्गालाई केही व्यक्तिले जबर्जस्ती रूपमा निजीकरण गर्न गरेको प्रयास असफल भएको छ । सिद्धार्थनगर नगरपालिका–११ भुजौलीमा रहेको १० बिघा सार्वजनिक जग्गालाई केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका रूपमा प्रयोग गर्दै आएका थिए । परापूर्वकालदेखि गौचरन र मसानघाटका रूपमा रहेको सो जग्गालाई शक्ति र राजनीतिक शक्तिको दुरूपयोग गर्दै केही व्यक्तिले खेतीबालीसमेत गर्दै आएका थिए । पछिल्लो समय यसलाई खनजोत एवं भोग अधिकारको क्षेत्रमा रहेर आफ्नो नाममा पार्ने तयारीसमेत भएको थियो । स्थानीयवासी रामजतन यादव, बाबुराम कुर्मी, सुरेश चाई, रामसुवध यादव, मंगरु चौधरीलगायतले सार्वजनिक जग्गालाई अतिक्रमण गरी खनजोत गर्दै आएका थिए । उनीहरूले नै सो जग्गालाई बिस्तारै आफ्नो निजी नाममा दर्ता गर्ने प्रयास पनि थालेका थिए ।

स्थानीय अगुवा दिलीप यादव, जगदीश राजभर, रामशरण यादव, रामपत गडरिया, शिवकुमार यादव, रामलखन यादवसहित स्थानीय र सिद्धार्थनगरपालिको सक्रियताका कारण सो जग्गा अहिले पूर्ववत् अवस्थामा रहेको छ । अतिक्रमण रोक्न स्थानीयले ०६५ सालको ३० भदौमा नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण गर्न लिखित रूपमै निवेदन दिएका थिए । त्यतिबेलादेखि चालेको प्रयास अहिले सफल भएपछि स्थानीयवासी खुसी भएका छन् ।
उक्त जग्गा मंगलबार नगरले आफ्नो उपभोग्य अधिकारभित्र ल्याएको नगरपालिकाका प्रमुख टीकादत्त राईले जनाए ।
जग्गा अतिक्रमणको विषयलाई लिएर सोही वार्डका पूर्व वडाध्यक्षसमेत रहेका दिलीप यादवसहित स्थानीय बासिन्दाले सार्वजनिक जग्गाको संरक्षण गरिदिन बारम्बार सम्बन्धित निकायलाई लिखित रूपमा अनुरोध गरेका थिए । स्थानीयले ०६५ सालयता धेरैपटक जिल्ला प्रशासन कार्यलय, रूपन्देही, सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अख्तिायारको ढोका ढक्ढक्याएका थिए ।
यसअघि सम्बन्धित कार्यलयबाट आश्वासन दिने काम भए पनि कार्यान्वयन भएको थिएन । अख्तियारको मिति २०६९ वैशाख १८ गतेको निर्णयअनुसारको सोही महिनाको २० गतेको निर्देशनात्मक पत्र र जिल्ला प्रशासन कार्यलय रूपन्देहीको त्यसै वर्षको जेठ २४ गतेको निर्देशनात्मक पत्र अहिले आएर कार्यान्वयन भएको हो । अख्तियार र प्रशासनको निर्देशन तथा स्थानीयको बारम्बारको लिखित अनुरोधलाई कार्यान्वयन गर्न ढिलाइ भएको स्विकार्दै नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले कार्यान्वयन पद्धति र प्रक्रिया पूरा गर्दागर्दै ढिला भएको बताए ।
अतिक्रमित जग्गाको संरक्षणमा खटिएका नगरका नगरप्रहरी इन्चार्ज ताराबहादुर क्षेत्रीले गाउँलेको सहयोगमा अतिक्रमित जग्गा नगरपालिकाले संरक्षण गर्न लागेको बताउँदै अब सो जग्गामा वृक्षरोपण गरिने जनाए ।
स्थानीय जगदीश राजभरले ०६५ सालदेखि केही व्यक्तिले जमानादेखिको गौचरन र मसानघाटलाई नेतागिरीको बलमा कब्जा गरेको सो जग्गालाई गाउँलेको प्रयोजनमा लगिने बताए । उक्त जग्गा ०६५ सालअघिसम्म गौचरन र मसान घाटको रूपमा रहेको थियो ।

प्रतिक्रिया