हत्या अभियोगमा पत्नी/छोरी/प्रेमी पक्राउ

राजविराज, २४ जेठ । पूर्व सभासद् सदरुल हक मियाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै पत्नी, छोरी र छोरीकी प्रेमीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा आज (शुक्रवार) पत्रकार सम्मेलन गरेर तीनजना हत्या आरोपीलाई सार्वजनिक गरिएको हो । हत्यामा संलग्न अन्य दुई जना भने फरार छन् ।
हत्या अभियोगमा सभासद् मियाँकी पत्नी ४६ वर्षीया नुरजहा खातुन, १९ वर्षीया छोरी रुबेदा खातुन र चतरी–६, सिरहा घर भई हाल लहान–५ बस्ने अब्दुल रउफलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्याको अनुसन्धानमा खटिएका प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका नायव उपरीक्षक दिनेश आचार्यले पत्नी नुरजहा र मियाँबीच आर्थिक विषयलाई लिएर घरायसी विवाद रहेको जानकारी दिए । सोही विषयमा उनले पतिको हत्या गरेको जनाएको छ ।
हत्यामा माहिली छोरी रुबेदाको पनि संलग्नता रहेको आचार्यले बताए । रुबेदाले जमिरुल सेखसँगको प्रेम सम्बन्ध पछि रौतहटमा आफूखुसी विवाह गरेकी थिईन् । सो विवाहलाई मियाँले अस्वीकार गरे पछि आमा/छोरीकै योजनामा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
प्रहकरीका अनुसार जमिरुल २०६८ फागुन महिनामा पूर्व सभासद् मियाँकी जेठी छोरी विरामी भएका बेला झारफुक गर्न आउँदा रुबेदासँत प्रेम सम्बन्ध कायम भएको थियो ।
पत्नीले रकम हिनामिना गरेको र छोरीले प्रेम सम्बन्ध कायम गरेको कुरालाई लिएर पारिवारिक विवाद बढेपछि जमिरुल, नूरजहा र रुवेदा मिलेर ५ महिना अगाडी नै सदरुलको हत्याको योजना बनाएका थिए ।
जमिरुल, अब्दुल रउफ र एनुल सेख पटक/पटक कल्याणपुर–२ स्थित विसनपुर आएर हत्याको योजना र मियाँको गतिविधि नियालेको प्रहरी भनाई छ । उनीहरु हत्याका लागि १५ दिनअघि नै सो स्थानमा आईपुगेका थिए ।
हत्याको एकदिन अगाडि सिरहाकै गम्हरियामा पूर्व सभासद् मियाँलाई हत्या गर्ने योजना बने पनि असफल भएपछि दोश्रो पटकको प्रयासमा हत्या भएको अनुसन्धानबाट खुलेको नायव उपरीक्षक आचार्यले बताए ।
आफ्नै पेट्रोल पम्पमा सुतेका पूर्व सभासद् मियाँको हत्या पछि पछि रुबेदालाई उनका प्रेमीले जानकारी गराएका थिए । मियाँ पम्पमा सुत्न आएको जानकारी हत्यामा संलग्नहरुलाई रुबेदाले नै दिएकी थिईन् ।
हत्याका लागि एनुलले ८०, जमिरुलले हजार रकम लिएका थिए । जमिरुल र एनुल सेख फरार छन् ।
बिहीबार राति पक्राउ परेका तीनैजनालाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
प्रहरीले अब्दुल रउफलाई उनकै घरबाट पक्राउ गरेको हो । उनको घरबाट मियाँले प्रयोग गर्ने गरेको नोकिया मोवाईलको सेट, विभिन्न सिमकार्ड र चक्कु बरामद गरेको सप्तरीका एसपी सञ्जयसिंह बस्नेतले बताए ।
गत जेठ–६ गते राति कल्याणपुर–२ स्थित हुमा पेट्रोल पम्पमा सुतेकै अवस्थामा पूर्व सभासद् मियाँको हत्या भएको थियो ।

प्रतिक्रिया