क्रिकेटरलाई नगद पुरस्कार

cricket-playerकाठमाडौं : बर्मुडामा गत अप्रिलमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ च्याम्पियन नेपाली क्रिकेट टोलीलाई बिहीबार नगद पुरस्कार प्रदान गरियो । युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३ लाख ५० हजारका दरले नेपाल सरकारसमक्ष सिफारिस गरेको नगद पुरस्कार १५ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक र फिजियो थेरापिस्ट गरी १८ जनालाई प्रदान गरिएको हो । २५ प्रतिशत कर काटेर प्रत्येकले २ लाख ६२ हजार ५ सय नगद प्राप्त गरे ।
कमलपोखरीस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, सदस्य–सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले टीका लगाइदिनुका साथै नगद पुरस्कार र सम्मानपत्र प्रदान गरे । पुरस्कृत खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवासप्रसाद खकुरेल, अनिलकुमार मण्डल, पृथु बाँस्कोटा, प्रदीप ऐरी, विनोद भण्डारी, वसन्त रेग्मी, शरद भेषावकर, शक्तिप्रसाद गौचन, चन्द्र साउद, अमृत भट्टराई, सञ्जम रेग्मी, राहुलकुमार विश्वकर्मा तथा नरेशबहादुर बुढा ऐर रहेका छन् । प्रशिक्षकमा पुबुदु बाथिया दासानायके, व्यवस्थापकमा तारिणीविक्रम शाह तथा फिजियो थेरापिस्टमा सुब्रमनियम भिक्रासामी छन् । (सौस)

प्रतिक्रिया