अर्थबजार

१० महिनामा २४ अर्ब राजस्व संकलन

सौर्य अनलाइन २०७० जेठ २४ गते २:३७ मा प्रकाशित

काठमाडौ, २४ जेठ । चालु आर्थिक वर्षको वैशाखमा कर राजस्वबापत १९ अर्ब ९९ करोड ८२ लाख र गैरकरतर्फ ३ अर्ब ९८ करोड ५१ लाख गरी कुल २३ अर्ब ९८ करोड ३३ लाख रुपियाँ संकलन भएको छ । गत आवको सोही समीक्षा अवधिमा १७ अर्ब ९८ करोड ३४ लाख राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको वैशाखसम्म भन्सारतर्फ ३३ अर्ब ९० करोड ३४ लाख राजस्व संकलन भएकामा चालु आवको यस महिनासम्ममा ४६ अर्ब ७४ करोड ५१ लाख संकलन भई राजस्व संकलन वृद्धिदर ३७ दशमलव ८८ प्रतिशत रहेको छ । त्यस्तै, गत वर्ष वैशाखसम्ममा मूल्यअभिवृद्धि कर ५८ अर्ब ४० करोड ६ लाख संकलन भएकामा यस वर्षको सोही अवधिमा ६७ अर्ब ८७ करोड ९३ लाख संकलन भई वृद्धिदर १६ दशमलव २३ प्रतिशत भएको छ । त्यसैगरी, अन्त:शुल्कतर्फ गत आवको वैशाखसम्म २३ अर्ब ९६ करोड १८ लाख संकलन भएकामा चालु आवको सोही अवधिमा २९ अर्ब ७ करोड ०५ लाख संकलन भई वृद्धिदर २१ दशमलव २३ प्रतिशत रहेको छ । आयकरतर्फ गत आवको वैशाखसम्ममा ३९ अर्ब १७ करोड ८४ लाख संकलन भएकामा चालु आवको यस महिनासम्म ५१ अर्ब ९५ करोड ६९ लाख संकलन भई वृद्धिदर ३२ दशमलव ६२ प्रतिशत रहेको छ । त्यसैगरी, गत आवको माघसम्ममा रजिस्ट्रेसन दस्तुर र सवारीसाधन कर ६ अर्ब ४८ करोड संकलन भएकामा चालु आवको यस महिनासम्ममा ७ अर्ब ९६ करोड संकलन भएको छ ।
कुल राजस्व संकलनमा शीर्षकगत राजस्व संकलनको संयोजनमा केही फेरबदल भएको छ । विगतमा भन्सार महसुलको योगदान अन्य राजस्वको योगदानभन्दा अधिक रहने भए पनि केही वर्षदेखि मूल्यअभिवृद्धि कर र आयकरको योगदान क्रमश: बढ्दै गइरहेको छ । चालु आवको माघसम्मको अवस्थालाई विश्लेषण गर्दा पनि मूल्यअभिवृद्धि करको योगदान २९ प्रतिशत रहेको छ भने आयकरको योगदान २२ प्रतिशत छ । भन्सार महसुलको अंश २० प्रतिशत, अन्त: शुल्कको अंश १३ प्रतिशत र गैरकरको अंश १२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री कोइरालाले राजस्व संकलनको लक्ष्य प्राप्तिका लागि सबै विभाग कार्यालयले कार्ययोजनाअनुसार परिचालित हुने विषयमा जोड दिँदै राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागको संरचनात्मक सुधार गर्ने, विभागहरूले सूचना सञ्जाल एवं टेलिफोनबाट समेत कार्यलयको दैनिक अनुगमन गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए । सो अवसरमा अर्थसचिव सुवेदीले राजस्व संकलन सन्तोषजनक भए पनि आन्तरिक राजस्वतर्फको संकलन उत्साहजनक नभएकाले मूअकर र अन्त:शुल्कको संकलनमा सुधार ल्याउन आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागले संयुक्त रूपमा राजस्व चुहावटका क्षेत्रको पहिचान गरी अभियानका रूपमा कारबाही थाल्न निर्देशन दिए । यसका साथै आयात र निर्यातबीचको फरक घटाउन निर्यातलाई प्रोत्साहन र प्रवद्र्धन गर्न, निजी क्षेत्रलाई विश्वासमा लिई राजस्व बढाउन, संक्रमणकालीन अवस्थाका अप्ठ्याराहरूलाई ध्यानमा राख्दै होसियारीपूर्वक कार्य सम्पादन गर्न, उपस्थित पदाधिकारीलाई निर्देशन दिँदै आगामी महिनामा तोकिएको लक्ष्य पूरा गर्न विशेष कार्ययोजना बनाई अगाडि बढ्न ध्यानाकर्षण गराए । राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले राजस्व संकलनको विद्यमान अवस्थाको चर्चा गर्दै समग्र कर प्रशासनमा गरिएको सुधार प्रक्रिया, आयातमा भएको वृद्धि, मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास, करछलीविरुद्धका अभियान, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको प्रयोग, करदाता शिक्षा र कर चेतनामा करदाता सेवा कार्यालयहरूको स्थापना र विस्तार, राजस्व चुहावट नियन्त्रण र चोरी पैठारी नियन्त्रणमा गरिएका थप प्रयास, अनुसन्धानात्मक कर परीक्षण र थप कर दायित्वको सिर्जना, गैरकर राजस्वमा समेत सेवा क्षेत्रको बढ्दो योगदान, बजेट प्रस्तुत हुनु, पुँजीगत खर्चमा क्रमश: वृद्धि हुँदै जानुका कारणले राजस्व परिचालनमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय