बीस वर्षपछि मिलन कबिला आमासँग

us_son_meet_motherमातृबिछोडको पीडामा छटपटिएका एक अमेरिकी युवकले २० वर्षपछि आफ्नी आमालाई भेटेका छन् । अमेरिकाको आधुनिकतम जीवनशैलीमा बाँचिरहेका डेविड गुथले अमेजनको घना जंगलमा बसोबास गर्ने कबिला सम्प्रदायबीच पुगेर आमालाई फेला पारेका हुन् । उनकी आमा यरिमा आफैँ पनि कबिला सम्प्रदायकी सदस्य हुन् ।

७० को दशकमा डेविडका पिता केनेथले प्राचीन यनोमामी जनजातिमाथि अध्ययन सुरु गरे । त्यसका लागि अमेजन जंगलका यनोमामी कबिलाहरूबीच घुलमिल गर्न थाले । त्यहीँ यी अमेरिकी मानवविज्ञानीको भेट ‘जंगली किशोरी’ यरिमासँग भयो । त्यो भेट विस्तारै दोस्ती, आकर्षण अनि प्रेम हुँदै विवाहसम्म पुग्यो । उनीहरूको संसर्गबाट केही समयपछि जंगलमै डेविड जन्मिए ।
यो उनीहरू दुवैका लागि अनौठो (अन्तरजातीय/अन्तरसाम्प्रदायिक) बिहे थियो । डेविडका पिता पढेलेखेका, आधुनिक, सभ्य अनि अमेरिकानिवासी थिए, जबकि आमा बाहिरी दुनियाँबारे कुनै जानकारी नभएकी प्राचीन जंगली संस्कारमा हुर्किएकी । एउटा त्यस्तो कबिला सम्प्रदाय, जहाँ मान्छे लुगासमेत लाउँदैनथे ।
डेविड सुनाउँछन्, ‘बिहे हुँदा मेरा पिता ३० वर्षका थिए भने आमा जम्मा १६ वर्षकी ।’ छोरा जन्मिएपछि केनेथ आधुनिक दुनियाँबारे बिल्कुलै अन्जान पत्नी च्यापेर पेन्सिलभेनिया फर्किए । तर, यरिमाले त्यो नयाँ जिन्दगीसँग आफ्नो कबिला स्वभावको तालमेल मिलाउन सकिनन् । ‘यतिसम्म कि आमामा कपडा पहिरिने स्वभाव नै विकसित हुन सकेन,’ डेविड भन्छन्, ‘एक दिन उहाँ बिनाकपडा नै बाहिर घुम्न निस्किनुभएछ । बुबाले उहाँलाई कबिला जीवन र अहिलेको जीवनपछि थुप्रै कुरा फरक रहेको र त्यसैअनुसार आफूलाई परिवर्तित गर्दै लैजान सम्झाउनुभयो ।’
जब डेविड पाँच वर्षका मात्रै भएका थिए, यरिमा अमेरिकाको आधुनिक जीवनशैली र गृहस्थी दुवै छाडेर फेरि जंगलै फर्किइन्, ‘वनको चरी वनमै रमाउँछ’ शैलीमा । डेविड भन्छन्, ‘अमेजनको जंगलमा मेरी आमाको जरो गाडिएको थियो, पूरै जिन्दगी जोडिएको थियो । त्यो छाडेर एक्कासि अमेरिका पुग्दा दिक्क लाग्नु स्वाभाविकै थियो ।’
यद्यपि डेविड यो पनि बताउँछन् कि अमेरिका आएपछि यरिमाले विस्तारै आफूलाई नयाँ माहोलमा ढाल्ने अभ्यास नगरेकी होइनन्, धेरथोर अंग्रेजी पनि जानिसकेकै थिइन् । सपिङ गर्न मन पराउन थालेकी थिइन् । कपडासँग आफूलाई अभ्यस्त बनाउने कोसिस गरिन् । ‘तर, जब बाटोमा कार कराएको आवाज सुन्नुहुन्थ्यो, डराउनुहुन्थ्यो । किनकि उहाँलाई त्यो कुनै हिंस्रक जनावरझैँ लाग्थ्यो,’ डेविड सुनाउँछन् ।
यनोमामी सम्प्रदायको संस्कृति निकै प्राचीन मानिन्छ । र, त्यो अलिकति पनि बदलिएको छैन । मानिसको जीविकाशैली अझै उस्तै छ, जस्तो युगौँपहिले थियो । जतिबेला केनेथ त्यहाँ पुगे, मानिस जंगलको सहारामै जीवन व्यतीत गरिरहेका थिए । धनुष–तिर तथा बाँसको घोचोले जनावरको सिकार गरेर जीविका चलाउँथे । झकीझकाउ कपडाको त आवश्यकताबोध नै उनीहरूलाई थिएन । बढीजसो मान्छे कम्मरमाथि नांगै हुन्थे । महिलाहरू कम्मरमुनि आफ्नै शैलीको स्कर्ट वा जंगली पात बेर्थे ।
डेविडका अनुसार उनका पितालाई यनोमामी सम्प्रदायको सरल, आत्ममग्न तथा तनाबरहित जीनवशैलीले निकै आकर्षित गर्‍यो । त्यसो त कति मानिस केनेथलाई एक अबोध जंगली किशोरीमाथि शोषण गरेको आरोप पनि लगाउँछन् । तर, डेविड मान्दैनन्, ‘यो बिहे त एउटा निश्चल प्रेमसम्बन्धमा आधारित थियो । पहिले दुवैमा दोस्ती बढ्यो, माया बस्यो अनि बिहे भयो । फेरि आमालाई एक्लै छाडेर बुबा हिँडेको पनि होइन । यहाँ शोषणको कुरा कसरी उठाउन सकिन्छ †’ केनेथ आधुनिक सभ्यताका थिए, जबकि यरिमा त्यसबाट कोसौँ टाढा । यो अवस्थालाई एडजस्ट गर्न केनेथले यनोमामी सम्प्रदायको भाषा पनि सिकिसकेका थिए ।
त्यसो त डेविड अहिले भलै अमेरिकी जीवनशैलीमा अभ्यस्त भएका हुन्, उनको शैशवकाल भने अमेजनको कबिला बस्तीमै बितेको हो । पहिलोचोटि अमेरिका पुग्दा त्यहाँको जीवनशैलीसँग अभ्यस्त हुन उनका लागि पनि सजिलो थिएन । तर, जब उनका खुट्टा लाग्ने थाले, पाँच वर्ष पुगे । यरिमा उनलाई चटक्कै छाडेर हिँडिन् ।
उनी आफ्नै गाउँ फर्किएको अनुमान सबैले गरे । सायद उनलाई आफ्नी आमा अनि सखीहरूको यादले साह्रै सताइरहेको थियो । ठीक त्यसै गरी यता डेविडलाई पनि आमाको यादले सताउन थाल्यो । ‘मेरा आँखा हरेक दिन उहाँलाई खोजिरहन्थे, प्रतीक्षामै बित्यो मेरो बालापन ।’ युवावस्थामा प्रवेश गरेसँगै उनले आमालाई खोज्ने प्रतिज्ञा गरे । पिता केनेथले पनि उनलाई साथ दिए । ‘म आमालाई खोज्न कुनै घना जंगलमा भौँतारिन लाग्दै थिएँ, अमेजनका नौला मान्छेबीच जाँदै थिएँ । कुनै साथीको घर गइरहेको थिइनँ । त्यसकारण मलाई डर पनि लागिरहेको थियो ।’
त्यसबाहेक सम्बद्ध देशका अधिकारीलाई आफू यनोमामी सम्प्रदायकै सदस्य रहेको र त्यहाँ जानुको अभिप्राय: बुझाउनु अर्को झन्झटिलो काम थियो । भेनेजुएला र ब्राजिलको सिमानास्थित यो घना जंगलमा घुस्नुअघि अनेकौँखाले सरकारी औपचारिकताको झन्झट पार गर्नुपरेको उनले सुनाए । जे होस्, आखिरीमा उनी अनेकौँ झन्झट पार गर्दै आफ्नो आदिम मावली पुगिछाडे । जहाँ उनकी आमा आफ्नैखाले जिन्दगी बिताइरहेकी थिइन् । यतिबेला डेविडका साथ एक दोभाषे पनि थिइन् ।
आमासँग लामो अन्तरालपछि भेट्दा वातावरण निकै भावुक बनेको डेविड सुनाउँछन्, ‘आमा कामिरहनुभएको थियो । म निर्णय गर्न सकिरहेको थिइनँ कि के गरुँ † म उहाँलाई अंकमाल गर्न चाहन्थेँ तर यो यनोमामी सम्प्रदायको संस्कार थिएन । अचानक म अंग्रेजीमा बात मार्न थालेँ, मलाई आफ्ना बाल्यकालका दिनहरू सम्झना आउन थाले । म त रुन पो थालेछु । २० वर्षपछि आफ्नी जन्मदात्रीलाई भेटिरहेको थिएँ । कति मान्छेले मलाई छोडेर गएकोमा आमाको आलोचना पनि गरेका थिए तर मलाई कुनै परबाह छैन । मेरी आमाको पीडा र बाध्यता ती मानिसलाई के थाहा ? तर, एउटा छोराले राम्ररी बुझ्न सक्छ ।’
जब मातापुत्र मिलनपछिको भावनात्मक संवेग शान्त भयो, आमाले डेविडलाई घरको हालचाल सोधिन् । के आमाले आफू भागेर आउनुको कारण केही बताइनन् ? ‘बताउनुभएन,’ डेविड भन्छन्, ‘अनुवादकको सहायतामा उहाँले यत्ति मात्र सोध्नुभयो, ‘बुबाको के छ ? अनि अरू मान्छे सन्चै छन् ?’ आमाले आफ्नो विगतबारे नबताउनुमा यनोमामी सम्प्रदायको स्वभावका कारण रहेको उनलाई लाग्छ । यो सम्प्रदायमा अतीतबारे उति गफ गर्न रुचाउँदैनन्, गरे पनि एकदमै कम । उनीहरू बढीजसो वर्तमानमै रमाउन रुचाउँछन् ।
आमासँग भेटेपछि डेविडले हजुरआमा, मामालगायत मावलीका अन्य सदस्यसँग पनि भेट गरे । तीन महिनासम्म मावलीमै बसेर २० वर्षदेखि थाती रहेको मातृस्नेह बटुले । ग्रामीण अनि प्राचीन जिन्दगीको आनन्द लिए । त्यसपछि फेरि अमेरिका फर्किए । के उनी अब फेरि आफ्नी आमालाई भेट्न जाँदैनन् ? भन्छन्, ‘अवश्य जान्छु, तर अहिल्यै होइन । केही समयपछि ।’ (एजेन्सी)

प्रतिक्रिया