मनाङ–मस्र्याङ्दी निर्माण हुदै

लमजुङ : मनाङमा निर्माण हुन लागेको १४१ मेगावाट क्षमताको लोअर मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण कार्य यसै वर्षदेखि सुरु गरिने भएको छ ।
नेपाल सरकारबाट ०६६ सालमा सर्वेक्षण अनुमति प्राप्त गरेको बुटवल पावर कम्पनीले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले मनाङको ताचै बगरछाप गाविसमा बाँध बाँधेर मनाङकै धारापानी गाविसको खोत्रो गाउँमा निर्माण हुने विद्युत्गृहमा भूमिगत सुरुङमार्फत पानी खसाली विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि ४५ मिटर लामो र ६ मिटर उचाइको बाँध बाँधेर ५.३ मिटर व्यास भएको भूमिगत सुरुङ निर्माण गरिनेछ । आयोजनाका विकास प्रबन्धक डा. निर्मलकुमार आचार्यका अनुसार विद्युत्गृहमा बराबर क्षमताका दुईवटा पेल्टन टर्वाइनको प्रयोग गरिनेछ ।
आयोजनाको स्वीकृतप्राप्त क्षमता १४१ मेगावाट भए पनि यसलाई बढाएर २१० मेगावाटमा पुर्‍याउने सम्भावना देखिएकाले यसका निम्ति अध्ययन भइरहेको आचार्यले जानकारी दिए । आयोजनाको सम्भाव्यता अध्ययन कार्य पूरा भई आयोजना कम्पनीले विद्युत् विकास विभागलाई प्रतिवेदनसमेत बुझाइसकेको र वातावरणीय प्रभाव मूल्यांकन तयार पारी वातावरण मन्त्रालयबाट स्वीकृति लिने काम पनि सकिएको बताइएको छ । रन अफ दि रिभर प्रणालीमा आधारित यो आयोजनाले पाँच किलोमिटर लामो २२० किलोभोल्ट क्षमताको डबल सर्किट विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र पाइसकेकाले सोको सर्वेक्षणसमेत तत्काल सुरु गर्ने बताइएको छ ।
यद्यपि, आयोजनास्थलका स्थानीय बासिन्दाले नि:शुल्क सेयरको माग गरेकाले आयोजनाका कामले गति लिन नसकेको र देशको राजनीतिक अवस्थाले आयोजना निर्माणमा थप समस्या उत्पन्न भएको कम्पनीले जनाएको छ । सबै प्रक्रिया पूरा भएकाले आयोजना निर्माणमा जानुपर्ने भए पनि प्राधिकरणले पिपिए नगरिदिएकाले निर्माण सुरु गर्न नसकिएको गुनासो गरेको छ । बिपिसीसँग लोअर मनाङ–मस्र्याङ्दीसहित ३० मेगावाट क्षमताको ङादी, ३७.६ मेगावाटको काबेलीजस्ता ठूला आयोजना रहेका छन् ।

प्रतिक्रिया