द्वन्द्वपीडितलाई स्वरोजगार तालिम

रोल्पा : रोल्पाका ६० जना द्वन्द्वपीडित महिला तथा बालबालिकालाई क्षमता अभिवृद्धि अन्तर्गत रोजगार व्यवसाय विकासका लागि विभिन्न स्वरोजगार तालिम दिइएको छ ।

सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा देशका २५ जिल्लामा सञ्चालन भएको कार्यक्रम अनुरूप रोल्पामा उक्त कार्यक्रम सञ्चालन भएको हो । मन्त्रालयको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखा रोल्पाबाट सञ्चालित उक्त तालिममा जिल्लाका विभिन्न गाविसका द्वन्द्वपीडित महिला तथा बालबालिकाले विभिन्न किसिमका सीपमूलक तालिम पाएका हुन् ।
मन्त्रालयको १९ लाख ३१ हजार ७ सय रुपियाँको सहयोगमा सञ्चालन भएको तालिममा जिल्लाका ६० जना द्वन्द्वपीडित महिला तथा बालबालिकामध्ये १० जनालाई ४५ दिने झोला बुनाइ तालिम, १० जनालाई ४५ दिने सल बुनाइ तालिम, १० जनालाई ७ दिने ब्रिकेट बनाउने तालिम, १० जनालाई ६० दिने मोबाइल मर्मत तालिम, १० जनालाई ९० दिने सिलाइकटाइ तालिम र १० जनालाई ९० दिने ढाकाबुनाइ तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखा रोल्पाका नायब सुब्बा राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
साथै तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालनमा सहुलियत मिलोस भन्ने उद्देश्यले तालिममा प्रयोग भएका मेसिन उपकरण ८० प्रतिशत छुटमा प्रशिक्षार्थीहरूलाई नै उपलब्ध गराएको श्रेष्ठले बताए । सीप तथा आयआर्जनमूलक तालिम पाउँदा जिल्लाका द्वन्द्वपीडित महिला तथा बालबालिका हर्षित हुँदै व्यवसाय सञ्चालनको तयारीमा रहेका छन् ।

प्रतिक्रिया