बेवारिसे बन्दै सहकारी भवन

भक्तपुर, २१ जेठ । सम्बन्धित निकायको लापरबाहीका कारण लाखौँ मूल्य पर्ने सहकारी भवन अलपत्र अवस्थामा पुगेका छन् ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा जिल्लामा निर्मित नौवटा सहकारी गोदाम घरमध्ये अहिले अधिकांश प्रयोगविहीन हुँदा लाखौँको सम्पत्ति अलपत्र परेको हो । पञ्चायतकालको सुरुका वर्ष सर्वसाधारणलाई सहकारीमार्फत संगठित गरी सहकारी गोदाम घर निर्माण गरिएको थियो । त्यतिबेला भक्तपुरका नौवटा इलाकामा एक/एकवटा सहकारी गोदाम घर निर्माण गरिएका थिए ।
२०२१ मा सरकारले भूमिसुधार योजना लागू गर्‍यो । सुरुमा १६ जिल्लामा लागू भएको भूमिसुधार योजना भक्तपुरमा पनि लागू भएको थियो । भूमिसुधार योजनासँगै भक्तपुरको तत्कालीन गुण्डु र लोकन्थली गाउँ पञ्चायतमा विकेन्द्रीकरण योजना पनि लागू भएको थियो । सोही योजनाअनुसार कृषि उत्पादनमा वृद्धि गर्न, रासायनिक मल बिक्री वितरण गर्न, सरल र सहज तरिकाले बीउबीजन उपलब्ध गराउन र कृषकलाई आवश्यक ऋण प्रवाह गर्नका लागि जिल्लाका नौवटै इलाकामा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ती गोदाम घर निर्माण गरिएको थियो ।
ती सहकारी गोदाम घर भक्तपुरका लोकन्थली, नगदेश, बालकुमारी, दधिकोट, कटुञ्जे, झौखेल, खरिपाटी, नंखेल र ताथलीमा निर्माण गरिएको थियो । ती गोदाम घरमध्ये लोकन्थलीको घर दिव्यश्वरी मन्दिरको जग्गामा निर्माण गरिएकाले हाल मन्दिरकै सेवा समितिले सञ्चालन गरिरहेको छ । त्यसैगरी, खरिपाटीको गोदाम घरको केही भागमा महानगरीय प्रहरी प्रभाग खरिपाटीका प्रहरीहरू बस्दै आइरहेका छन् । द्वन्द्वकालमा नेपाली सेनाको चेकपोस्ट खडा गर्ने क्रममा ठाउँ अभावले प्रहरीले सो भवन प्रयोग गर्न थालेको स्थानीय प्रभु ढुंगानाले बताए । नगदेशको सहकारी गोदाम घरमा हाल सिद्धीगणेश सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । लामो समय बेवारिसे अवस्थामा रहेको सो भवनलाई आवश्यक मर्मत सम्भार गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष वीरेन्द्रभक्त प्रधानांगले बताए ।
झौखेलको गोदाम घरमा पनि एक वर्षदेखि कोटदेवी सहकारी संस्था लिमिटेडले पुन: मल बिक्री गर्दै आएको छ । ताथलीको गोदाम घर भने गणेश माविले १० वर्षदेखि गोदामकै रूपमा प्रयोग गरिरहेको छ । विद्यालयले आफ्नो पुराना र काम नलाग्ने फर्निचरलगायतका सामग्रीहरू थन्क्याउने थलोको रूपमा प्रयोग गरिरहे पनि मर्मतसम्भारको अभावमा जीर्ण हुँदै ढल्ने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन ।
स्थानीय रामबहादुर थापाका अनुसार गाविस स्रोतका अनुसार पटकपटक ठाउँ खाली गर्न गरिएको अनुरोधलाई विद्यालयले आलटाल गरिरहेको छ । बाँकी रहेका अन्य गोदाम घरको अवस्था पनि लथालिंग नै रहेको जिल्ला सहकारी संघका व्यवस्थापक मेघनाथ घिमिरेले जानकारी दिए । नंखेल, दधिकोट, कटुञ्जेका गोदाम घरहरू जीर्ण अवस्थामा छन् ।
कटुञ्जेको गोदाम घर जीर्ण अवस्थामा रहेको बताउँदै स्थानीय बालकृष्ण थापाले नयाँ ढंगबाट पुन:सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए । तत्कालीन सहकारीका सञ्चालकहरूले आर्थिक अनियमितता गरेका कारण सहकारी बन्द भएपछि भवन प्रयोगविहीन हुँदा जीर्ण बन्न पुगेको उनले बताए । ०४८ सालमा नयाँ सहकारी ऐन आएपछि घाटामा सञ्चालन भइरहेका ती सहकारी संस्था बन्द भएका हुन् । सहकारी बन्द भएपछि भवन अलपत्र परेको जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष सुरेन्द्रप्रताप शाहले बताए । कतिपय भवनको लालपुर्जा नभएकाले बंैकले ऋण दिन नमानेका कारण पनि सहकारी सञ्चालनमा ल्याउन नसकेपछि भवनहरू बेवारिसे अवस्थामा पुगेको अध्यक्ष शाहले बताए ।
सो ऐनले सहकारीलाई स्वायत्तता प्रदान गरी जुन अवस्थामा रहको हो सोही अवस्थामा सञ्चालक समितिलाई जिम्मा लगाएको जानकारी दिँदै संघका व्यवस्थापक मेघनाथ घिमिरेले भने, ‘सम्पति र ऋणसमेत सञ्चालकलाई जिम्मा लगाइयो । सञ्चालकले ऋणको भार थेग्न नसकी सहकारी बन्द गर्दा भवन पनि अलपत्र पर्‍यो ।’ सहकारी मन्त्रालयको गठनसँगै देशभरिका सहकारी गोदाम घरको तथ्यांक माग गरिएको जानकारी दिँदै सोको तथ्यांक संकलन गर्दै सहकारीको ऋण र सम्पति के गर्ने भन्ने सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको समेत घिमिरेले जानकारी दिए । नमुना परियोजनाका रूपमा निर्माण भएका गोदाम घरहरूको उचित मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गर्दै सहकारीविज्ञ कैलाशभक्त प्रधानांगले सरकारले ती सहकारीहरूका ऋण र दायित्व मिनाहा गरी पुन:सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । सरकारले विभिन्न समयमा सहकारीका नाममा विभिन्न कार्यक्रमहरू घोषणा गरे पनि उचित नीति बन्न नसक्दा भक्तपुरका यी गोदाम घरको अवस्था फेरिन नसकेको स्थानीय जनताको गुनासो रहेको  छ ।

प्रतिक्रिया