फेडेररको उत्कृष्ट पुनरागमन

Roger-Federar-----Tenisपेरिस, २१ जेठ । दोस्रो वरीयताका स्विस खेलाडी रोजर फेडेरर पाँच सेटसम्म चलेको खेलमा स्थानीय खेलाडी गिलेस सिमोनलाई हराउँदै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको क्वार्टरफाइनल प्रवेश गरेका छन् । यता स्पेनका टमी रोब्रेडो सुरुका दुई सेट हारेर पनि त्यसपछिका लगातार तीन सेटसमेत त्यो खेल नै जित्ने ग्रान्डस्लाममा ८६ वर्षयताकै पहिलो खेलाडी बने । रोब्रेडोले निकोलस अल्माग्रोलाई ६–७, ३–६, ६–४, ६–४ र ६–४ ले हराए । फेडेररले सिमोनलाई ६–१, ४–६, २–६, ६–२ र ६–३ ले हराए ।
सुरुआती सेट जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएर दबाबमा परेका फेडेररले चौथो सेटमार्फत खेलमा फर्कंदै नौ वर्षपछि कुनै पनि ग्रान्डस्लाममा क्वार्टरफाइनलअघि आउट हुने खतरा टारेका थिए । फेडेरर लगातार ३६औँ पटक ग्रान्डस्लाम क्वार्टरफाइनल प्रवेश गरेका हुन् । ‘म आत्तिएको थिइनँ । तर, प्रतियोगिताबाटै आउट हुन्छु कि भन्नेमा केही समय डर लागेको थियो ।’ जितपछि १७ वटा ग्रान्डस्लामका विजेता फेडेररले भने । फेडेररको यो नौ सयौँ क्यारियर जित हो ।
यता १५औँ वरीयताका सिमोनले फेडेररलाई बलियो चुनौती पस्किन सकेकोमा खुसी व्यक्त गरे । फेडेररले क्वार्टरफाइनलमा अर्का खेलाडी जो–विलफ्राइड सोंगाको सामना गर्नेछन् । सोंगाले सोझो सेटमा केभिन एन्डरसनलाई हराए ।
सन् १९२७ मा विम्बल्डनमा फ्रान्सका हेनरी कोचेटले लगातार तीन खेलमा सुरुको दुई सेट गुमाएर खेल जितेयता आइतबार रोब्रेडो र अल्माग्रोबीचको खेलअघि कुनै पनि खेलाडीले यो सफलता हात पार्न सकेका थिएनन् । ‘सायद यस्तो सफलताका लागि कसैले पनि प्रयास गर्दैन,’ रोब्रेडोले भने । पछिल्ला दुई वर्ष चोटका कारण कोर्टमा उत्रिन नसकेका रोब्रेडो सन् २००९ को प्रेmन्च ओपनपछि पहिलोपटक ग्रान्डस्लाममा क्वार्टरफाइनल प्रवेश गरेका हुन् । उनले अब आफ्नै देशका डेभिड फेररको सामना गर्नेछन् ।
यता महिला एकलतर्फ विश्व नम्बर एक सेरेना विलियम्स, रोबर्टा भिन्सीलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । जारी प्रतियोगितामा १० गेम मात्र गुमाएकी १५ एकल ग्रान्डस्लाम विजेता सेरेनाले अब सन् २००९ को संस्करणकी विजेता स्वेत्लना कुज्नेत्सोभाको सामना गर्नेछिन् । विना वरीयताकी कुज्नेत्सोभाले आठौँ नम्बरमा रहेकी एन्जेलिक कर्बरलाई तीन सेटमा हराइन् ।

प्रतिक्रिया