माओवादी र कांग्रेसका दुई दर्जन कार्यकर्ता एमालेमा

जाजरकोट, २० जेठ । जाजरकोटमा माओवादी र कांग्रेसका दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमालेले आगामी चुनावलाई लक्षित गरी सञ्चालन गरेको ‘संविधान सभा निर्वाचनका लागि पार्टी परिचाल अभियान’अन्र्तगत जाजरकोटको क्षेत्र २ दुईमा भएका विभिन्न सभामा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गर्नेहरूमा एमाओवादी, नेकपा–माओवादी र नेपाली कांग्रेसका जिल्ला तथा गाउँस्तरका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेको युवा संघका पूर्वमहासचिव निरज आचार्यले जानकारी दिए । क्षेत्र नम्बर २ को सीमाबाट सुरु गरिएको अभियान चलिरहेको छ । अभियानअन्र्तगत जेठ १५ गते बुधबार नेकपा माओवादीका गाउँ संगठन समिति सदस्य अमृत सिंह, नेपाली कांग्रेसका नवीन शाहीलगायत १५ जनाले एमालेमा प्रवेश गरेको आचार्यले बताए । यस्तै, शुक्रबार साल्मामा भएको कार्यक्रममा नेकपा–माओवादीका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, गाउँ  सदस्य चन्द्रबहादुर विकसहित तीन जना, र साल्मा–८ का एकीकृत माओवादी कार्यकर्ता प्रेमबहादुर नेपाली पनि एमालेमा प्रवेश गरेको आचार्यले बताए । त्यसैगरी १८ तते शनिबार दशेरामा भएको कार्यक्रममा दशेरा–४ का कांग्रेस कार्यकर्ता वीरबहादुर थापा, दशेरा–७ का सेते चदरा, कालीबहादुर नेपाली, धनबहादुर थापा र अमरबहादुर रावतलगायत १० जना एमालेमा प्रवेश गरेको आचार्यले सौर्यलाई बताए । केही व्यक्तिले एमाले परित्याग गरे पनि एमालेमा प्रवेश गर्नेको कमि नभएको आचार्यले बताए । ‘एक/दुई जनाले पार्टी छोड्दैमा केही हुँदैन, पार्टीमा भित्रिनेको संख्या त्यसको तुलनामा कयौँ गुणा बढी छ,’ आचार्यले भने ।
विगतमा युवालाई सर्वहरावर्गको मुक्तिका लागि सहिदको पंक्तिमा लाग्न प्रेरित गर्ने माओवादीमा अहिले व्यक्तिवादी प्रवृति हावी भएपछि माओवादीका कार्यकर्ता एमालेको आएको आचार्यको दाबी छ । त्यस्तै, एकीकृत माओवादीले बाहिर–बाहिर चुनावको कुरा गरे पनि भित्रिरूपमा चुनाव नचाहेको आचार्यले बताए । पार्टी परिचालन अभियानलाई जाजरकोटका ३० वटै गाविसमा सक्रिय बनाउने एमालेको नीति छ । जेठ ३० गते जिल्लाभर भएको कार्यक्रमको समीक्षा गरिने पार्टी अध्यक्ष डम्बरबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया