हकको हत्यारा अझै पत्ता लागेन

राजविराज, २० जेठ । पूर्वसभासद सदरुल मियाँ हकको हत्यामा संलग्न दोषीको पहिचान र कारबाहीका लागि हकका आफन्त र स्थानीयवासीले माग गरेका छन् । हत्याको १३ दिन बिते पनि प्रहरीले हत्याराको पहिचान गर्न नसक्दा आफूहरूसमेत असुरक्षित महसुस गर्न थालेको भन्दै सुरक्षाको माग गरेका छन् ।
हक हत्याको विरोधमा गठित संघर्ष समितिले आइतबार सप्तरीका सिडिओ हरिकृष्ण पौडेल, एसएसपी भोगबहादुर थापा र एसपी सञ्जयसिंह बस्नेतलाई संयुक्त भेट गरी अनुसन्धान प्रक्रियाबारे जानकारी लिँदै यस्तो माग गरेको हो । संघर्ष समितिको नेतृत्वमा हकका भाइहरू जीवरित मियाँ र गुलाब मियाँसहित सदरमुकाम राजविराज आएको ६० जनाको टोलीले सिडिओ पौडेल, एसएसपी थापा र एसपी बस्नेतलाई भेट गरेको थियो । संघर्ष समितिका संयोजक दाउद मियाँले सिडिओ बंगलामा भएको भेटमा घटनाको लामो समय बिते पनि त्यस विषयमा कुनै जानकारी पाउन नसकेको गुनासो गरेका थिए ।
जवाफमा सिडिओ पौडेलले घटनाको सुक्ष्म अुनसन्धान भइरहेको जानकारी दिँदै केही दिन प्रतीक्षा गर्न आग्रह गरेका थिए । सुरक्षा निकायसमेतलाई अनुसन्धानको दायरामा राखेर न्यायिक छानबिन आयोगले अनुसन्धान गरिहेको बताएका पौडेलले स्थानीय प्रशासनले समेत आफ्नो तर्फबाट सम्पूर्ण शक्ति प्रयोग गरी घटनाको सत्यतथ्य पत्ता लगाउने र हत्यारालाई कठघरामा ल्याउने प्रयासमा रहेको जानकारी दिए । ‘यो घटना स्थानीयस्तरमा मात्र सीमित नभई राज्यको दायित्व बनेको छ,’ उनले भनेका थिए, ‘केही दिन अरू धैर्य गर्नोस्, सबै कुरा बाहिर आउँछ ।’
एसएसपी थापाले जिल्लादेखि केन्द्रसम्म सम्पूर्ण संयन्त्रले आ–आफ्नो क्षेत्रबाट अनुसन्धान तथा हत्याराको खोजी गरिरहेको जानकारी दिँदै अनुसन्धानको प्रगति नसोध्न आग्रह गरेका थिए । ‘हामीअन्तिम अवस्थामा काम गरिरहेका छौँ,’ थापाले भने, ‘तर, त्यसबारे बोलिहाल्नु छिटो हुनसक्छ ।’ प्रहरीको प्रगति बाहिर आए अनुसन्धानका सम्पूर्ण प्रमाण नष्ट हुनसक्ने भएका कारण प्रहरीले आफ्नो कार्यप्रगति बाहिर नल्याएको उल्लेख गर्दै थापाले ९९ प्रतिशत काम गरेर पनि एक प्रतिशतमा बाधा परे आफूहरूको काम व्यर्थ हुने बताए ।
एसपी बस्नेतले घटनास्थलमा सुरक्षाका लागि प्रहरीको थप टोली पठाएको र सक्रियतासमेत बढाएको जानकारी दिँदै निर्धक्क आफ्ना गतिविधि सञ्चालन गर्न स्थानीय तथा मृतकका परिवारका सदस्यलाई आग्रह गरे । आफूहरू दिनरात काम गरिरहेको र सोचेभन्दा अगाडि नै घटनाबारे यथार्थ सार्वजनिक गर्ने बस्नेतको दाबी थियो ।
टोलीमा संघर्ष समितिका सदस्यहरू युसुफ अली, दिनेश यादव, इसाद अन्सारीलगायत स्थानीयवासीको सहभागिता थियो । पूर्वसभासद् ्रहक ७ गते बिहान ८ बजे कल्याणपुर–२ स्थित बिसनपुर चौकमा रहेको आफ्नै हुमा पेट्रोलपम्पमा मृत अवस्थामा भेटिएका थिए । हकको हत्यापछि गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनास्थलमै पुगी माग सम्बोधनको प्रतिबद्धता जनाएपछि स्थानीयवासीले आन्दोलन फिर्ता लिएका थिए । उनीहरूले ठाउँ–ठाउँमा सडक अवरोध गरी हत्याको विरोध गरेका थिए ।

प्रतिक्रिया