लालपुर्जा नहुने मलपाउनबाट वञ्चित

काभ्रे,२० जेठ । लालपुर्जा विनाका कृषकले अनुदानको मल नपाउने भएका छन् । अनुदानीत  मलको दुरुपयोग भएको गुनासो बढेपछि सरकारले मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन कार्यविधि २०६९ लागु गरेपछि वास्तविक कृषकहरु समस्यामा परेका हुन् ।
ब्यवसायीक कृषिका लागि जग्गा ठेक्कामा लिई वा साहुको जग्गामा बर्षाै देखि खेति किसानी गर्ने किसान अब अनुदानको मल पाउनबाट बञ्चित भएका छन । यो नियम लागु भए लगत्तै कृषकहरुलाई मल खरिदका लागि समस्या भएको पाँचखाल प्रतिष्ठा कृषि सहकारीका विक्रेता जगन्नाथ अधिकारीले बताए । ‘कृषि सामाग्री संस्थानले जग्गाको कित्ता भन्न नसक्ने कृषकहरुलाई मल नबेच्न भनेको छ, साहुको जग्गा कमाएका कृषकहरुलाई चार पटक सम्म कित्ता नम्वर ल्याउनु भन्दा पनि ल्याउन नसकेपछि मल दिन सकिएन ’ अधिकारीले भने ।
पाँचखालमा ९० प्रतिशत जमिन खेति गर्न कृषकहरुले भाडामा लिएका छन् भने १० प्रतिशत मात्रै आफै खेति गर्दै आएका छन् । कित्ता नम्वर भन्न नसक्ने कृषकको नक्कली कित्ता राखेर पेश गरेको अवस्थामा समेत कतैबाट छानविन गर्न सकिने अवस्था नभएको पलाञ्चोक भगवती कपि उत्पादक सहकारी संस्था लिमिटेडका विक्रेता नोमप्रसाद अधिकारीले बताए । अब अनुदानमा उपलब्ध गराउने रासायनिक मल किन्नका लागि किसानले एक बोरा मल किन्नका लागि पनि आºनो जग्गाधनी प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्ने भएको छ ।
कार्यविधिको बिक्री वितरण सम्बन्धी व्यवस्थाको ६ नम्बर बुदामा कृषि सामाग्री कम्पनीबाट नियुक्त भएका सहकारी संस्थाले आफुलाई तोकिएको गाविस/नगरपालिका क्षेत्रभि मात्र मलखाद विक्री वितरण गर्नुपर्ने उल्लेख छ । सोही व्यवस्थाको ७ नम्बर बुँदामा प्रत्येक पटक मल लिन आउँदा बिकेताले अघिल्लो पटक बिक्री वितरण गरेको मलको विवरण अनुसूची– ५ बमोजिम कम्पनी समक्ष पेश गर्नुपर्नेछ । सो नभएमा त्यस्ता विक्रेतालाई कम्पनीले मल उपलब्ध गराउदैन ।
कृषि सामाग्री संस्थान धुलिखेलमा काभ्रे, सिन्धसुपाल्चोक, दोलखा र रामेछापका करिव ५ सय सहकारीले अनुदानको मल विक्री गर्ने अनुमति पाएका छन् ।  २०६९ बैशाखको अन्तिमसम्ममा ५ हजार २ सय २८ मेट्रिक टन युरिया, २ हजार ४ सय ९२ टन डिएपी र ३ सय २५ टन पोटास विक्री गरेको कम्पनीले २०६९ साउन १ देखि २०७० बैशाखसम्म ११ हजार ९ सय २५ मेट्रिक टन युरिया, ४ हजार ३ सय २७ डिएपी, ५६ टन पोटास विक्री गरिसकेको छ । कम्पनीले २ हजार टन क्षमताको गोदाममा दोब्बर भन्दा धेरै मल गोदाम गरेको छ ।

प्रतिक्रिया