युद्ध

Bishow-Sigdelएउटा युद्ध लड्नु त छँदै थियो । अर्को युद्ध पनि यही बेला आइपर्‍यो । युद्धमाथि युद्ध थपिँदाको परिस्थिति गम्दै ऊ डुंगाको छेउमा बसेको थियो । अर्को छेउमा डुंगा खियाउने माझी अस्सी घाटतर्फ अगाडि बढ्न सानोतिनो युद्ध लड्दै थियो । चिप्लो बहनाको छप्ल्याङ् –छुप्लुङ्को आवाज हरिश्चन्द्र घाट आरतीको तैयारीमा तम्तयार घण्टको आवाजलाई जित्दै साँझको नदीमा तैरिरहेको प्रतित हुन्थ्यो । गंगाका छातीमा तैरिरहेका असंख्य डुंगाहरू, घाटतिर घुमिरहेका तीर्थालु वा नांगो खुट्टा दौडिरहेका बालक, धुप–बत्ती बेच्ने साना नांले व्यापारी कसैतिर पनि उसको ध्यान थिएन । ऊ आँखा चम्लेर आफूले लड्नुपर्ने युद्ध गमिरहेको थियो । विचारमग्न यात्री लिएर माझी अस्सी घाटतिर बढ्दै थियो ।
साँझको नदीमा श्रद्धालुहरू आफ्ना मनोकामना पूरा गर्न टपरीमा बल्दो दियो बगाइरहेका थिए । विस्तारै अँध्यारोले कुची चलाएको नदीको छाती बत्तीहरूको उज्यालोले सिँगारिएको थियो । जाडो महिना भए पनि माझीको घामले रंग्याएको अनुहारमा पसिना दाना टल्कँदै थिए । भदैनी घाटनजिकै आइपुगेपछि उसले आफ्नो ज्याकेटको चेन लगायो । अँध्यारो–उज्यालोको यो खेलमा उसले दायाँतिरका पुराना भव्य महलहरूमा आँखा दगुरायो । उसलाई पानी कलको गोल घरको गुम्बजले घण्टाघरको सम्झना दिलायो । घण्टाघरमै जोडिएको त्रि–चन्द्र कलेजको एमए नेपाली कक्षाको सम्झना भयो । आङभरि धूलो लिएर सुतेका लामा मेचको सम्झना भयो । प्रत्येक दिन कापीका मध्य–पृष्ठ च्यात्दै मेचमा ओछ्याएर बस्दा दुब्लाउँदै–दुब्लाउँदै जाने सग्लो कापीको नियती झैँ दिनहरूको सम्झना भयो ।
ऊ अस्सी घाटमा ओर्लियो । छँटाएको झैँ लाग्ने यात्रुबाट नसोचेको भाडा पाएकोले रमाउँदै फर्कदै गरेको माझी र लहरमा नाच्दैअगाडि बढिरहेको डुंगालाई उसले किनारबाटै आँखाले भ्याइन्जेल पछ्यायो । अन्तत: रातका गर्भमा विलाएको डुंगालाई खोज्न छाडेर ऊ अस्सी घाटका सिँडीहरू उक्लन थाल्यो । चुच्चे झण्डा अनि ध्वजाहरू नदीको चिसो हावाका तालमा नाचिरहेका थिए । गंगाको आरतीका लागि पूजारीहरू दियो–कलस सजाउँदै थिए । मानिसहरू झुरूप्प जम्मा भई आरतीको प्रतीक्षा गर्दै थिए । ऊ घाटको सिँढीमा बस्यो ।
उसको नजिकै रामनामी ओढेकी कुइरिनी आएर बसी र मनोयोगले आरतीको तयारी हेर्न थाली । लगत्तै एउटा बाख्री र दुईवटा पाठाहरू उसको छेउमै आएर उभिए । बाख्राका पाठाहरूका आङमा सर्ट उनिएको थियो । अनि बाख्री झुत्रो कोटमा सजिएकी थिई । कुइरिनी झट्पट उठी र ऊ भन्दापछाडि गई क्यामेराको लेन्स मिलाउन थाली । कुइरिनीको क्यामेराको तारो उसको ढाड र तीन बाख्राहरू अनि भर्खरै आरम्भ भएको आरती हो भन्ने ठम्याएपछि उसले मनमनै तस्बिरको शीर्षक सोच्यो ‘चार आत्मा– गंगाको आरतीमा ।’
पूजारीले अनगिन्ती दियोघर भएको पानस लिएर मन्त्रमा कलात्मक आरती गर्न सुरु गर्दा ऊ आफ्ना ठाउँबाट उठ्यो । उसले सोच्यो, ‘ऊ सँगसँगै एउटा योद्धा पनि उठ्यो ।’ ऊ सोचाइ सम्झेर खिस्स हाँस्यो । उसले आफ्नो मोबाइल निकाल्यो र नोटिस लेख्नलाई अक्षरहरू थिच्यो–
ऊ उठ्यो
ऊ सँगसँगै
एउटा योद्धा
एउटा हार
एउटा सुस्केरा पनि उठ्यो ।
यसभन्दा अगाडि उसले सोचाइ तन्काउन सकेन । बन्दा बन्दैको कवितालाई उसले सरक्क मेट्यो र मोबाइल खल्तीमा हाल्यो ।
साँझमा राखिने खिच्रिङमिच्रिङ पसलहरू पार गर्दै ऊ वनारसको एउटा अँध्यारो गल्लीमा छिर्‍यो । आरामले उग्राउँदै आइरहेको गाईलाई उसले बाटो दियो र गौमाताको पुच्छरले छ्यापेको गौमुत्र र गोबरको छाप ढाडमा बोकेर ऊ अगाडि बढ्यो । एकहुल छाउरा अगिपछि लाउँदै गल्लीको सुरक्षा गर्ने काली कुकुर्नी उसलाई देखेर भुक्न थाली । मुखबाट च्वच्वच्व आवाज निकाल्दै ऊ अगाडि बढ्यो । पहिला आक्रमण गर्न तम्तयार झैँ कुकुर्नी ऊनजिकै आएपछि पुच्छर हल्लाउन थाली । उसले खल्तीबाट साँचो झिकी घरको ढोका खोल्यो । दिनभर वनारसका गल्ली–गल्ली भौँतारिनुको कथा उसको मोजाले बताइरहेथ्यो । अत: ऊ झट्पट खुट्टा धुन गयो । शौचालयबाट हलुका भएर आएपछि ऊ भान्छामा छिर्‍यो । बिहानका फोहर भाँडाहरू असरल्ल धाराका अगाडि थुप्रिएका थिए । अगिसम्मको खाना बनाउने जाँगर कट्कटिएका भाँडा हेर्दा कता पुग्यो कता उसले पत्तो पाएन । ऊ भाइलाई कुर्ने निष्कर्षमा पुग्यो र मन नलागी–नलागी सुत्ने कोठाभित्र छिर्‍यो ।
कोठामा छिर्नु अर्को युद्धको सम्मुख पर्नु थियो । कोठा सानो चिटिक्क सजाइएको थियो । त्यहाँ उसका लागि तैयार पारिएको सानो पलङ थियो । सफा सेता तन्ना, सेतै तकीयाका खोल र कोरियन कम्मलले उसको थाकेको शरीरलाई राम्रैसँग स्वागत गर्दथे । खाटको सम्मुख एउटा टेबुल थियो । जसमा दुई, चारवटा किताब, दुई पुरिया वाईवाई चाउचाउ, सानो फूल राख्न मिल्ने भाँडो थियो र त्यसैको छेउमा थियो ब्यागपाइपरको सिसी ।
ऊ आएकै दिन उसले देखेको थियो सिल तोडिएको ब्यागपाइपरको सिसी उसको सुत्ने ओछ्यान सामुन्ने थियो । बिहान सखारै ऊ सुनौलीबाट उत्तरप्रदेश परिवहन सेवाको बस समातेर वनारस झरेको थियो । भारतको भूमी टेक्ने बित्तिकै ठगीका अनेकौँ कथाहरू आरम्भ हुने कुरा भुक्तभोगीका मुखबाट सुनेकाले ऊ एकदमै चनाखो भएको थियो । आफूसँग भएको कालो ब्याग र सानो सुटकेस लगभग शरीरमा च्यापेरै ऊ भाइको कोठामा पुग्ने सवारीसाधन खोज्न थाल्यो । नजिकैको पसलबाट भाइलाई फोन गरी ऊ बल्ल मोलतोल मिलेको रिक्सामा चढ्यो । बिहानीको चिसो हावाको आनन्द लिँदै ऊ रिक्सासँगै अन्जान गल्लीमा चुइँकिँदै भाइले दिएको ठेगानामा पुग्यो । भाइ उसलाई लिन गल्लीको मुखैमा उभिएको थियो । उनीहरू कोठामा पुगे । हत्तपत्त ऊ नुहाउन गयो । त्यसपछि तात्तातो कफी पिएर ऊ उसका लागि तयार पारिएको कोठामा गई सुत्यो ।
अल्छि लाग्दो दिनको हल्लाखल्लासँगै ऊ उठ्यो । उठ्ने बित्तिकै उसका आँखा अगाडिपट्टिको टेबलमा परे । राम्ररी सजाइएको टेवलमा किताब, गुलावको ताजा फूल, चाउचाउका साथमा ब्यागपाइपरको सिसी थियो । ऊ अलमलमा पर्‍यो । घरबाट टाढा काम गर्दै आफ्नो पढाइ पूरा गर्न बसेको भाइले उसका अगाडि रक्सीको सिसी राख्नुको अर्थ के हो ?
ऊ खाना खाएर गंगाका तीरमा घुम्न निस्कियो । भाइ अफिस गइसकेको थियो । इलाहाबादमा रहेको एउटा कम्पनीमा काम मिलाइ दिने आश्वासन काठमाडौंको एक माडवारीले दिएकाले ऊ वनारस भाइकोमा आएको थियो । कम्पनीबाट फोन आउने बित्तिकै उसलाई खबर दिउँला भन्दा–भन्दै ऊ वनारसमा भाइसँग केही दिन बस्छु उतै फोन गर्नुहोला भन्दै वनारस लागेको थियो । उसको यो हतार गराइमा बेरोजगार भई बस्नुपर्दाको पीडा र काठमाडौंको विषालु वातावरणले प्रमुख भूमिका निभाएका थिए । सत्र–सत्र चोटिको प्रधानमन्त्री छान्ने चुनावको नाटक बेहोर्ने सरकारविहीन देशको स्थिति त्यसो त उसको भन्दा कम पीडाले भरिएको थिएन । तर, देश जति नै पीडाले छट्पटिए पनि ऊ जस्तो विदेशिन सक्दैनथ्यो ।
यावत् संगत–विसंगत नाप–तौल गर्दै ऊ दिनभरी गंगाका घाटमा भौँतारिरह्यो । राति कोठामा ऊ पुग्दा भाइले खाना बनाइसकेको रहेछ । गाउँ–घर आमा–बा, पढाइ–लेखाइ आदिबारे उनीहरूले लामो समयसम्म कुरा गरिरहे । नेपालबाट फोन आउने बित्तिकै इलाहाबाद जाने कुरा उसले बतायो । भाइ आफ्नो कोठामा सुत्न गएपछि ऊ पनि सुत्न कोठामा पस्यो । सुत्नुअघि उसले सिल खोलिएको ब्यागपाइपरको सिसीलाइ अनौँठो मानेर हेर्‍यो र सुत्यो ।
दुई, तीन र चार गरी उसका दिनहरू बिते । ऊ फोनको प्रतीक्षामा छट्पटाउन थाल्यो । छटपटिले उसका पाइतालामा सायद मोटरका पांग्रा जडान गरिदिए क्यार ∕ ऊ रातविरात वनारसमा पश्चिमा खैरे जोगी भौँतारिएझैँ भौँतारिन थाल्यो । उसको मगजमा अनेकौँ कुराहरू घुम्न थाले । ‘कम्पनीले बोलाएन भने के गर्ने, कुन मुखले फेरि नेपाल फर्किने ? आमा–बुबा, साथीभाइलाई के जवाफ दिने ?’ देशभित्रको राष्ट्रिय अनिश्चितताको युद्धबाट भागेर ऊ अर्को अन्तराष्ट्रिय अनिश्चितताको युद्धमा होमिन पुग्यो । आफूलाई धिक्कार्नु, वनारसका घाटलाई धिक्कार्नु, जोगी गाई र देवतालाई धिक्कार्नु उसको दिनचर्या हुनपुग्यो ।
रुग्ण मनस्थितिमा ऊ कोठामा झोक्राइरहेको थियो । उसका आँखा ब्यागपाइपरमा परे । त्यसो त ऊ रक्सी बढै रूचाउँदैन थियो । यसो साथीभाइ दसैँ तिहार जस्ता चाडपर्वमा जम्मा भएका समयमा एक दुई पेग मात्र लगाउँथ्यो । नत्र अरू समयमा ऊ रक्सी भनेपछि अलिक पछाडि नै सथ्र्यो । उसका घरपरिवारमा कसैले रक्सी पिएको उसलाई थाहा थिएन । न त उसको समाजमा नै रक्सी पिउनलाई छुट थियो । यी अनेक अनुभव, इच्छा, आकांक्षा र निषेधका कोलाजहरू मनभरि उमारेर ऊ ब्यागपाइपरको सिसीतर्फ बढ्यो ।
‘ओह † भाइले मलाई रक्सी राखिदिएको…….. ।’ उसले रक्सी टेबलमा रहनुको रहस्य पत्ता लगायो । ‘यदि भाइले लुकाउन बिर्सेको भए त दोस्रो दिनमै रक्सी यहाँबाट हट्नुपर्ने……..।’ उसले भाइ र ऊबीच रहेको औपचारिकताबाहेक अन्य कुरामा खाडल देख्यो । उसले पुख्र्याैली पाएको संस्कार र दम्भको रहलपहल आफूभित्र देख्यो । भाइ र ऊबीच हुने संवादहीनता देख्यो । ऊ रक्सीको सिसीतिर बढ्दा बढ्दै टक्क अडियो ।
प्रत्येकपटक सुत्ने कोठामा छिर्नु उसका लागि युद्धको सम्मुख पर्नु जत्तिकै हुन थाल्यो । मनको पीडा अनि अनिश्चितताको बखेडाले उसलाई भित्रैदेखि गाल्दथे । टेबलमा रहेको सिसीले उसलाई अवसादमा चुर्लुम्म डुबेको बेलामा बोलाउँथ्यो तर, ऊभित्रको जन्मगत संस्कारले उसलाई रोक्दथ्यो । ‘ठूलोबडो भएर गलत बाटोमा हिँडेर भाइलाई त्यो बाटो असल छ भनी भन्नु जत्तिकै हुन्छ टेबलमा राखेको रक्सी पिए ……….।’ उसको दाइ संस्कार भन्थ्यो ।
ललिता घाटको साम्राज्यश्वर पशुपतिनाथको मन्दिर हेरेर फर्केको रात एकचोटि फेरि ऊ कोठामा युद्धको सम्मुख पर्‍यो । अगाडि टेबलको ब्यागपाइपर उसलाई बोलाइरहेको थियो । वनारस आएको हप्तादिन बितिसकेको थियो । नेपालको माडबरीबाट कुनै खबर आएको थिएन न त उसलाई फोन नै लागिरहेको थियो ।
ऊ जुरुक्क उठ्यो र ब्यागपाइपरको बिर्को खोल्यो । टेबलमै पानी पिउने गिलास थियो । उसले झटपट सिसीबाट रक्सी गिलासमा खन्यायो । रक्सीको गन्ध ह्वास्स नाकमा पस्यो । उसलाई अघिदेखि टन्किरहेको कपाल अलिक सन्चो भएजस्तो भयो । उसले पिउनलाई गिलास उठायो र ओठसम्म लग्यो तर उसले पिइहाल्न सकेन । केही क्षण ऊ जड भयो । उ विस्तारै कामिरहेको थियो । उसले आफ्नो जिब्रो मुखबाहिर निकाल्यो र गिलासको रक्सीमा डुबायो । तत्काल जिब्रो रन्थनिने जलन उसले अनुभव गर्‍यो र जिब्रो निकाल्यो । अनि विस्तारै उसले रक्सी सिसीमै खन्याइदियो ।
त्यो रात ऊ खाना नखाई सुत्यो । भोलिपल्ट पनि उसको अनिश्चित जागिरको कथा–व्यथा उही रह्यो । जीवनसँग उसको युद्ध चलिरह्यो तर कोठामा उसले युद्ध लड्नु परेन । किताब, फूलदानी, चाउचाउसँगै रहेको ब्यागपाइपर अब उसको प्रतिद्वन्द्वि रहेन ।
दुई दिनपछि उसले कोठामा फर्किदा देख्यो, उसको सुत्ने कोठाको ब्यागपाइपर उसको कोठामा थिएन । उसले लडेको यो युद्ध जित्यो कि हार्‍यो उसले बुझ्न सकेन ।

प्रतिक्रिया