राजधानीछेउको गाउँ

टिभीको उलिन्काठ चढेर
घरघर भित्रिएका छन् उर्वशी–तिलोत्तमा गण
अब सायद हजुरबाहरूसित
समयका प्रति जर्जर प्रलाप बर्बराउने समय छैन
सिरियलका नायकका मृत्युमा
रुँदारुँदा लाल भएका गृहिणी आँखाहरू
आफ्ना श्रीमान्मा कोढ नै सल्के पनि देख्दैनन्
एनिमेसन र कार्टुनका महानायकहरू
भुराहरूका आदर्श भएका छन्
र, उनीहरू धुस्नोमा लडीबुडी खेलेर
सिँगो पृथ्वी बचाउने महाअभियानमा संलग्न छन्
शिरमा रंगहरूको सहर बोकेर हिँड्छन्
उत्तरआधुनिक केशविन्यास भएका युवायुवती
थरीथरीका कट्टुका ब्रान्ड एम्बेसडरजस्ता
हिपहप भाइबहिनीका प्यान्टहरू
खसिरहेछन् तलतल
नेताको इमानजस्तै
कस्तो द्रूत भएछ परिवर्तनको रफ्तार
कस्तो वायुवेगमा आएछ आधुनिकता
कति विघ्न बद्लिएछन् मान्छेहरू
तर, त्यो धारामाथिको दोबाटोमा
किन देखिन्छन् सधैँ
खरानीका डल्ला, रातो खुर्सानी, कालो मासका गेडा
र पहेँला अक्षताहरू
हिउँद–वर्षा एकनास उर्लिरहेछ कंक्रिटको बाढी
खोलाका किनारमा मरेका भ्यागुता उत्तानो परेर
पसारिए झैँ
पसारिएका छन् ढुंगाका केही घर
जादुगरको हातबाट सिक्का गायब भए झैँ
रातारात गायब भइरहेछन् खेतका गराहरू
र जादुगरको टोपीबाट खरायो प्रकट भए झैँ
रातारात प्रकट भइरहेछन्
ढलान गरिएका चारकोठाका घरहरू
यौटा सुत्नेकोठा, यौटा बैठककोठा,
यौटा भान्छाकोठा, र यौटा राखनधरन गर्ने कोठा
यसरी,जीवनको सम्पूर्ण सार चार कोठा भएपछि
अब खुला फाँट कसलाई चाहिन्छ र
तै तै बचेका छन्
दुईचार चोक्टा चउरहरू
जहाँ क्रिकेट खेल्छन् किशोरहरू
र मान्छेहरूले क्रिकेट नबुझिदिँदा दु:खी हुन्छन्
साथसाथ अचम्मित पनि
क्रिकेट नबुझ्ने यी मान्छेहरू
कसरी एक्काइसौँ शताब्दीका जन्तु हुन सक्छन् ?
देशलाई बेरोजगारीले ढाके झैँ
ढाक्द छ चुरोट र गाँजाको धूवाँले पुलघरलाई
युवाहरूलाई थाहा छ
समस्याहरूलाई खोँचमा पुर्‍याउन सहयोग गर्ने
त्यस्तो क्यु बल कतै छैन
तथापि सबै खेल्नमा व्यस्त छन्
यो उग्र खेलप्रेमले
थाहा छैन कतिलाई डुबाउने हो
किचकन्नीको मायाले झैँ ।
राजधानी छेउको गाउँ,
हरेक दिन राजधानी आउँछ
आफू उसँग जोडिएको छु  भन्ने देखाउन खोज्छ
राजधानी उसको जुत्तामा लागेको माटो हेर्छ
र परक्क मुन्टो बटार्दै
हुप्प फुलेर बस्छ ।
(कवि केसीको कवितासंग्रह ‘भोकको क्षेत्रफल’बाट)

प्रतिक्रिया