संकल्पको च्यारिटी सम्पन्न

Sankalpaविराटनगर, १७ जेठ । प्रेम तथा शान्तिको सन्देश र योगप्रति समर्पित नेपाली कथानक चलचित्र ‘संकल्प’को विराटनगरमा प्रथम प्रदर्शन (च्यारिटी प्रिमियर सो) गरिएको छ । रमा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र संकल्पको निर्माता, लेखन तथा निर्देशन प्रकाश राय हुन् ।
गणतन्त्र दिवसको अवसर पारेर हालै विराटनगरको हिमालय टाकिजमा प्रथम प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेखनीय उपस्थिति थियो । प्राय: हिन्दी चलचित्र प्रदर्शन हुने सो हलमा संकल्प लाग्दा दर्शकका खचाखच भिड देखिन्थ्यो । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका युवाहरूलाई योग अभ्यासको माध्यमबाट सही मार्ग देखाउन सकिन्छ भन्ने सन्देश चलचित्रमा छ ।
रत्नाकर डाँका कसरी वाल्मीकि बने, हत्यारा अंगुलीमाल बुद्धको सामीप्य पाएर अहिंस्रकको उपाधि कसरी पाए, अराजकताको दौरान बरालिएका युवा पनि सामाजिक निर्माणका अभियन्ता बन्न सक्छन् भन्ने तथ्य चलचित्रमा देखाउन खोजिएको निर्देशक रायले बताए ।
चलचित्र सेन्सर बोडबाट ‘यु’ सर्टिफिकेट पाएको यस चलचित्रमा लोकनाथ खनाल, ध्रुव तामाङ, तोरण कार्की, सुरेश अग्रवाल, कृष्णकुमार लोहिया, सन्तोष सरकार, राजेशकुमार भगत, मुन्ना झा, रमेश ठाकुर, मानबहादुर कुँवर, सञ्जय शाह, योगिन खड्का, महेश सम्राट, प्रिया भगत, जेनिसा तामाङ, संगीता, समीक्षा कार्की, विजिता अधिकारीलगायतको अभिनय छ । विक्रमश्री बाँस्तोलाको संगीत रहेको चलचित्रमा निर्देशक रायले योग गुरुको भूमिका निर्वाह गरेका छन् । (सौस)

प्रतिक्रिया