अर्थबजार

सहकारी एकीकरण कार्यविधि जारी

सौर्य अनलाइन २०७० जेठ १७ गते २:२३ मा प्रकाशित

sahakari-bibhag-2काठमाडौं, १७ जेठ । सहकारी विभागले सहकारी संघसंस्था एकीकरण (मर्जर)सम्बन्धी कार्यविधि, ०७० बिहीबारदेखि लागू हुने गरी जारी गरेको छ । सहकारी ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न सहकारी संघसंस्था एकआपसमा एकीकरण गर्ने सम्बन्धमा सहकारी ऐन, ०४८ र सहकारी नियमावली, ०४९ को अधीनमा रही कार्यविधि निमार्ण गरी जारी गरेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए ।
राष्ट्र बैंकले मर्जर नीति ल्याएर बैंक तथा वित्तीय क्षेत्रलाई व्यवस्थित गर्न थालेपछि विभागले सहकारी संस्था व्यवस्थित गर्न एकीकरण कार्यविधि जारी गरेको उनले बताए । ‘अब सहकारीहरूको मर्जरले गति लिनेछ,’ उनले भने, ‘यसअघि पनि स्वतस्फूर्त रूपले सय संस्था एकीकरण भइसकेका छन् ।’ तर कार्यविधिले बाध्यकारी भने नहुने उनले बताए । एकीकरणको खुख्य उद्देश्य सवल र सक्षम संघसंस्था निर्माण गर्न, संघसंस्थालाई पुँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघसंस्थाको दिगो विकास र स्थायित्व प्रदान गर्न, सदस्यहरूलाई प्रदान गर्ने सेवामा गुणात्मकता तथा परिमाणात्मकतामा वृद्धि गर्नु रहेको छ ।
त्यस्तै, एक व्यक्ति एक सहकारी सदस्यतालाई जोड दिन, सञ्चालन खर्चमा कटौती गरी उत्पादन क्षेत्रमा लगानी बढाउन, संघ/संस्थालाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीकरण गर्न, सहकारी क्षेत्रमा देखिएका विकृतिमा सुधार गर्न एकीकरणको उद्देश्य रहेको उनले बताए । एउटै कार्यक्षेत्रभित्रका, एकभन्दा बढी सहकारी संस्था, फरक जिल्ला भए पनि कार्यक्षेत्र जोडिएका संस्था,  सञ्चालन लागत घटाएर सदस्यलाई बढी लाभ वितरण गर्न चाहने संस्था,  एउटै विषयसँग मेल खाने खालका संघहरू एकीकरण हुनसक्ने विभागले जनाएको छ ।
संघसंस्था एकआपसमा एकीकरण गर्दा दुई वा दुईभन्दा बढी एकै प्रकृतिका सहकारी संस्था एकीकरण गर्न चाहने संस्थाले साविकमा स्वीकृति पाई कारोबार गरिरहेको कार्यक्षेत्र जोडिएको भएमा उपर्युक्त कार्यक्षेत्र प्रदान गर्न सकिने जनाएको छ । त्यस्तै, एकीकरण गर्दा ठूलो कार्यक्षेत्र रहेको अवस्था भए उपयुक्त स्थानमा सदस्यता सेवा केन्द्र खोल्न दिइने व्यवस्था छ । फरक विषयका संस्थाहरू एकीकरण हुने भएका त्यस्ता संस्थालाई सो संस्थाले चाहेको विषय वा प्रकृति राख्न स्वीकृति प्रदान गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय