डेंगुको जोखिम बढ्यो

काठमाडौं, १७ जेठ । वर्षात््सँगै तराईका जिल्लामा डेंगुका बिरामी देखिन थालेका छन् । वर्षात् सुरु भएलगत्तै तराईका जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग नियन्त्रणका लागि उच्चसतर्कता अपनाएको छ ।
वर्षात्को सुरुवातसँगै चितवन, रूपन्देही, बारा, पर्सा, कैलालीलगायत केही जिल्लामा यस वर्ष पनि डेंगुको संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागले रोग फैलन नदिन जिल्लामा विभिन्न कार्यक्रम पुर्‍याइसकेको जनाएको छ । विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरका अनुसार डेंगुका बिरामी देखिन थालेको खबर आइरहेकाले दुई वर्षअघि जस्तो डेंगुको प्रकोप नफैलियोस् भनेर तराईका जिल्लामा उच्चसतर्कता अपनाइएको हो । रोग नियन्त्रणका लागि र रोग लाग्न नदिनका लागि आवश्यक औषधिसहितको जनशक्तिलाई उच्चसतर्कतामा राखिएको डा. ठाकुरको भनाइ छ ।
‘जोखिममा रहेका जिल्लामा आवश्यक औषधिदेखि जनशक्ति पर्याप्त मात्रामा व्यवस्था गरिएको छ,’ उनले भने, ‘बिरामी देखिएका भनिएका जिल्लामा समेत डेंगुको डर नबढोस् भनेर थपऔषधिसहितका टोली परिचालन गरिएको छ ।’ उनका अनुसार पूर्वतयारी गर्दा पनि एक/दुई स्थानमा चेतनाको अभावमा बिरामी देखिएका छन् ।
दुई वर्षअघि चितवन, बारा, पर्सा, नवलपरासी, कैलाली, रूपन्देहिलगायत २४ जिल्लामा डेंगु महामारीकै रूपमा फैलिएको थियो । त्यस बेला डेंगु नियन्त्रणका लागि सरकारका तर्फबाट समयमै पर्याप्त कार्य नगरेकाले धेरै व्यक्ति डेंगुबाट पीडित हुनुपरेको थियो भने दर्जनभन्दा बढीको मृत्यु भएको थियो । दुई वर्षअघिको जस्तो अवस्था यस वर्ष नआओस् भनेर पूर्वतयारी गरिरहेको ठाकुरले जानकारी दिए ।
ठाकुरले पूर्वतयारी गरेको बताए पनि चितवन तथा रूपन्देही र भैरहवा क्षेत्रमा डेंगुका रोगी फेला परेको खबर चिकित्सकमा आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि डेंगुका बिरामी उपचारका लागि आएको स्रोतले जनायो । वर्षात्को सुरुवातमै डेंगुका बिरामी देखिन थालेपछि चिकित्सकले यस वर्ष पनि डेंगु प्रकोपका रूपमा देखापर्न सक्ने चेतावनी दिएका छन् ।
वरिष्ठ डेंगुरोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार पछिल्ला दिनमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण देखिएलगत्तै आवश्यक कदम चाल्न नसक्दा रोग प्रकोपका रूपमा देखापर्ने सम्भावना बढेको छ । ‘वर्षा सुरु भएदेखि नै दैनिक रूपमा रोगिका संख्यामा वृद्धि भइरहेको छ,’ डा. पाण्डेले भने ‘अब पनि आवश्यक कदम नचाल्ने हो भने यसले ठूलै महामारीको रूप लिन सक्छ ।’
चिकित्सकका अनुसार गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडौं र अन्य पहाडी जिल्लामा पनि देखापर्न थालेको छ । जसका कारण तराईमा मात्र नभई उपत्यकालगायत केही पहाडी जिल्लामा समेत डेंगु रोगको जोखिम बढेर गएको छ ।
अन्य लामखुट्टेले सामान्यतया राति टोक्ने गर्दछ । तर, डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने भएकाले पनि यसको जोखिम अझ बढी भएको डा. पाण्डेको भनाइ छ । ‘अरू लामखुट्टेले राति टोक्ने भएकाले मानिस सुन्ते बेलामा झुल प्रयोग गर्छन्,’ उनले भने, ‘तर, यसले त दिउँसो टोक्ने भएकाले काममा गएका बेला वा अन्य अवस्थामा पनि बढी सतर्कता अपनाउनुपर्ने हुन्छ ।’
डा. ठाकुरले डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सामान्य रोग भएको बताए । उनका अनुसार मानिसको घरमा रहेको सफा पानी, गमला, टायर मर्मत केन्द्र, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारणले यस्ता ठाउँमा लामखुट्टे आउँछ कि भनेर सचेत रहनुपर्नेछ । स्वास्थ्य मन्त्रालयबाट मात्र रोग नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै उनले भने ‘सर्वसाधारणमा जनचेतना फैलाउन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ । सहरका सबै लामखुट्टे सखाप पार्न सकिँदैन । लामखुट्टे सखाप पार्नुभन्दा पनि यसले फुल पार्ने र बस्ने ठाउँ नै नष्ट पारिनु पर्दछ ।’
नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ । जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु संक्रमणले गर्दा शरीरको रगत जम्ने (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । डा. पाण्डेका अनुसार यो भाइरस दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट शरीरमा पुग्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने भएकाले यसको टोकाइबाट जोगिनु नै रोग लाग्नबाट जोगिने उत्तम उपाय हो । आंैलो उत्पन्न गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्ने डा. पाण्डेले जानकारी दिए ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा भने डेंगुको संक्रमण  नफैलिने डा. पाण्डेले बताए । उनका अनुसार यसको लक्षण संक्रमण भएको तीनदेखि १४ दिनभित्र देखिन्छ । यसको लक्षण एकभन्दा बढी हुन सक्छन् । चिसो लाग्नुका साथै ज्वरो, टाउको दुखाइ, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाक्वाकी लाग्नु, वान्ता हुनु, छालामा बिमिरा(र्‍यासेज) देखिनु, रगत बग्नु वा रगतको ‘र्‍यास’ देखिनुलगायत यसका लक्षण हुन् । यस्तोमा रक्तचाप सामान्यभन्दा धैरै कम हुन सक्छ । असाध्य कमजोरी महसुस र भोकसमेत कम लाग्छ । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफँै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ । वयस्कको दाँजोमा बच्चा र बूढापाकामा यो रोगको प्रकोप बढी देखिन्छ ।

प्रतिक्रिया