ऐतिहासिक स्थान संरक्षण गर्न माग

बर्दिवास, १७ जेठ । महोत्तरी जिल्लाका ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्त्वका स्थान संरक्षणको अभावमा अस्तित्व नै गुम्ने अवस्थामा पुगेका छन् । पौराणिककालदेखिका महत्त्वपूर्ण धरोहरको रेखदेख र संरक्षण हुन नसक्दा अब अस्तित्व नै लोप हुने अवस्थामा पुगेका हुन् ।
अघि त्रेता युगमा रामसीताको विवाहका लागि वेदी बनाउन पवित्र माटो लिइएको मटिहानी, रामायणकालमै पितृ–मातृभक्त भनिएका श्रवणकुमारका अन्धा बाबुआमा बस्ने जिल्लाको बगडा–९ स्थित अन्धाअन्धी स्थान, आदिकालमा स्थापित मानिएको माईस्थान गाविसको टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ शिवलिंग, माईस्थानकै पञ्चधुरा माईस्थान, सोनामाईको आदि देवी शक्तिपीठ मानिने सती सोनामाईस्थान, आदिकालमा स्थापित मानिएको भङ्गाहा–६ सिद्घपुरस्थित सिद्घनाथ शिवलिंग, जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव, सन्सारी माईमन्दिर, पडौलस्थित कारिख महाराजस्थान र पछिल्लोकालमा महाकवि विद्यापतिको साहित्य सिर्जनस्थल मानिएको बनौलीस्थित विद्यापति गढले संरक्षण र सम्बद्र्घन खोजेको बुद्घिजीवीको भनाइ छ ।
यीमध्ये जलेश्वर, मटिहानी, टुटेश्वर, सोनामाई, कारिखस्थान र माईस्थानले अझै आफ्नो परिचय धानिरहे पनि संरक्षण र व्यवस्थापकीय चाँजोको अभावले राम्रो विकास गर्न नसकेको नेपाल सरकारका अवकाशप्राप्त प्रशासक जिल्लाकै बनौलीका बासिन्दा नारायण झाले बताए । यता, अन्धाअन्धी स्थान, विद्यापतिगढ, सिद्घनाथ र सन्सारी माईस्थानलगायतका धार्मिक र ऐतिहासिकस्थल भने सरकार, सामाजिक संघसंस्था, स्थानीय निकाय र सम्बद्घ अन्य पक्षको बेवास्ताले अब खण्डहरमा परिणत हुने स्थिति बढेको पूर्व प्रशासक झाको भनाइ छ । जिल्लाका पौराणिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्वका स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गराउन आवश्यक पूर्वाधार विकासमा स्थानीय निकाय, जिल्लास्थित सरकारी निकाय र खासगरी मिथिलाक्षेत्रका यस्ता ठाउँको संरक्षण र सम्बद्र्घनको जिम्मेवारी पाएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निष्क्रियताकै कारण एक समयमा जिल्लाको मात्र नभई मिथिला क्षेत्र कै प्रसिद्घ मानिएका यी स्थानको अब खोजविन हुन छाडेको बुढापाकाको गुनासो छ ।
जिल्लाका धार्मिकस्थलमा लाग्ने मेला, उत्सवबाट हुने आम्दानी बाँध्न स्थानीय निकायको तत्परता देखिए पनि यिनको सम्भारमा देखिएको उदासीनता भने उदेकलाग्दो भएको अर्का पूर्व प्रशासक भंगाहा–१ का ७५ वर्षीय तेजनारायण सिंह थारूले टिप्पणी गरे । यता, जिविस र सम्बन्धित गाविस कार्यालयले भने आºना ठाउँका विशिष्ट परिचय बोकेका स्थलको विकासमा यथोचित ध्यान पुर्‍याए पनि अत्यन्त न्यून रकममा काम गर्नुपर्ने हुँदा अपेक्षित काम नदेखिएको बताएका छन् । रातु र बडहरी नदीको दोभान (संगम)स्थित प्रसिद्घ धार्मिकस्थल सिद्घनाथको संरक्षण र विकासमा आफ्नो कार्यालयले निरन्तर काम गरिरहे पनि बर्सेनि हुने बाढीको कटान रोक्न ठूलै योजनाको आवश्यकता रहेको भंगाहा गाविसका सचिव रामनारायण झाको भनाइ छ ।
त्यसैगरी, जिविस महोत्तरीले पनि जिल्लाका पौराणिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्वका ठाउँको विकास एवं संरक्षणमा प्रत्येक वर्षको जिल्ला परिषद्मा ध्यानाकर्षण गराइए पनि उपल्लो तहबाट उपेक्षा हुने गरेको जनाएको छ । जिविस, नगरपालिका र गाविसले स्थानीय निकायले निर्धारण गरेको तालिका अनुसार काम सम्पादन गर्न नसकेर न्यूनतम सर्त मापन (एमसिपिएम) मा असफल हुँदा प्राप्त हुने बजेट कटौती हुँदै गएपछि झनै समस्या थपिएको जिविस महोत्तरीका योजना तथा प्रशासकीय अधिकृत राधेश्याम गिरीले बताए । महोत्तरी जिल्लाको जिविस महोत्तरी र ७६ गाविसमध्ये ६३ गाविस स्थानीय विकास मन्त्रालयले निर्धारण गरेको न्यूनतम सर्त मापन तालिकामा असफल हुँदा जिल्लाको चार करोडभन्दा बढी बजेट कटौती भएर विकास निर्माण कार्यक्रम नराम्ररी प्रभावित भएको जिविस महोत्तरीले जनाएको छ ।
त्यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले माध्यमिकी मिथिला क्षेत्रको विकासमा मित्रराष्ट्र भारतले सहयोगको चासो देखाए पनि सरकारले भारतसँगको संवादलाई निर्णायक तवरले नटुंग्याउँदा निर्माण कामले अपेक्षित गति लिन नसकेको जनाएको छ । अन्य नियमित सम्भारका काम भई रहे पनि त्यसले जन अपेक्षाको सम्बोधन गर्न नसक्दा गुनासो बढेको परिषद्का अध्यक्ष दिगम्बर रायको बुझाइ छ । जिल्लाका आम बासिन्दाले भने यी महत्त्वपूर्ण धरोहरको विकास, संरक्षण र सम्बद्र्घनले पहिचान विस्तारसँगै पर्यटन प्रवद्र्घन र आर्थिक गतिविधिसमेत विस्तार हुने भएकाले यसलाई प्राथमिकतामा राख्न जिविस, गाविस, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र अन्य सम्बद्घ निकायसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया