ललितपुर तेक्वान्दोमा विना र मेरीलाई स्वर्ण

काठमाडौं, १६ जेठ । चुनदेवीकी विना थापा मगर र आशिष स्कुलकी मेरी तामाङले ललितपुर जिल्लास्तरीय विद्यालय खेलकुदअन्तर्गत छात्रा तेक्वान्दोमा बुधबार स्वर्ण जितेका छन् । मानभवनस्थित डिएभी स्कुलमा भएको महिला ४२ केजीमुनि विनाले पदमप्रकाश माविकी सम्झना मगर तथा ४४ केजीमुनि मेरीले चुनदेवीकी अनिता लिम्बूलाई पराजित गरी स्वर्ण हात पारे । छात्राको ४६ केजीमुनि पदमप्रकाशकी रुविना घलेले चुनदेवीकी अमृता थापा मगरलाई तथा ४९ केजीमुनि सम्पूर्ण माविकी नवीना बुढाथोकीले आशिषकी उषा राईलाई हराउँदै शीर्षस्थान कब्जा गरे । छात्रको ४५ केजीमुनि जेम्सका उज्ज्वल ढकालले माउन्ट मकालुका रोमन थापा, ५१ केजीमुनि सम्पूर्णका उज्ज्वल श्रेष्ठले जेम्सका उत्सव ढकाल, ४८ केजीमुनि पदमप्रकाशका सुरज श्रेष्ठले सुदेशा हाइस्कुलका पवन राई तथा ५५ केजीमुनि आशिषका विपुल खापुङले सम्पूर्णका चेतन थापा मगरलाई पाखा लगाउँदै स्वर्ण चुमे । जम्मा ७० खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
खेलकुदअन्तर्गत छात्र फुटबलमा एडभान्स र लिभिङ स्टोनले जित हात पारेका छन् । हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा भएको खेलमा एडभान्सले पथप्रदर्शक मावि तथा लिभिङ स्टोनले डिएभीलाई समान २–० को नतिजामा पन्छाए ।
खेलकुदअन्तर्गत छात्र क्रिकेटमा लिटिल एन्जल्स (एलए) र आदर्श विद्यामन्दिर (एभिएम) सेमिफाइनलमा प्रवेश गरेका छन् । एलएले नाइटिङ्गेललाई २ रनले हरायो । पहिले ब्याटिङमा उत्रेको एलएले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । जवाफमा नाइटिङ्गेलले १० ओभरमा ८ विकेट क्षतिमा ६९ रन जोड्यो ।
एभीएमले सुदेशालाई ९ विकेटले पन्छायो । सुरुमा ब्याटिङ गरेको सुदेशाले निर्धारित १० ओभरमा ७ विकेट नोक्सानीमा ७६ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा एभिएमले ५ ओभर ५ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेटायो । सेमिफाइनलमा एभिएमले डिएभी तथा एलएले आइडियल मोडेल स्कुलसँग खेल्नेछन् । क्रिकेटमा ६ टिम सहभागी छन् ।
खेलकुदअन्तर्गत छात्र कबड्डीको उपाधि ग्लोरियसले जितेको छ । इमाडोलस्थित पिस प्वाइन्ट स्कुलमा भएको फाइनलमा ग्लोरियसले पिस प्वाइन्टमाथि ३८–३५ को जित रच्यो । ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।
एथलेटिक्सतर्फ ४ सय मिटर दौडको छात्रमा नाइटिङ्गेलका मीनबहादुर चौधरी तथा छात्रामा सुदेशाकी प्रतिभा विष्टले स्वर्ण जितेका छन् । छात्रमा ब्लुबर्डका सुवास लिम्बू दोस्रो र सेन्ट जेभियर्सका आशिष सुनवार तेस्रो भए । छात्रामा सुदेशाकी अनिता बन्दारा दोस्रो तथा सेन्ट जेभियर्सकी आशना थापा तेस्रो स्थानमा रहे । छात्रा १ सय मिटर दौडमा आइडियलकी लुजला अमात्य पहिलो, सेन्ट जेभियर्सकी रेशम राई दोस्रो तथा यशस्वी गुरुकुलकी रजिना दुलाल तेस्रो भए । छात्राको १ हजार ५ सय मिटर दौडमा सुदेशाकी काजल विष्टले स्वर्ण, सुदेशाकै सिर्जना खड्काले रजत तथा सेन्ट जेभियर्सकी सविना घलेले कांस्य जिते । सोही स्पर्धाको ब्वाइजमा जेम्सका विशाल बानियाँले स्वर्ण, वज्रबाराहीका सुशन श्रेष्ठले रजत तथा नाइटिङ्गेलका अशोक आचार्यले कांस्य प्राप्त गरे ।

प्रतिक्रिया