नेपाली कागज उद्योग स्थापना

म्याग्दी, १५ जेठ । उत्तर–पूर्वी क्षेत्रमा पर्ने राम्चे गाविसको नांगीमा सामुदायिक वनले नेपाली कागज उद्योग स्थापना गरेको छ । स्थानीय महिलाले सीप सिक्न र परीक्षणका लागि सुरु गरेका कागज उत्पादन कार्यलाई निरन्तरता तथा व्यावसायिक बनाउन उद्योग स्थापना गरिएको हो ।
नांगीबाराही सामुदायिक वन उपभोक्ता समूहले केही दिनअघि जिल्ला वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिमा हिमाञ्चल हातेकागज तथा ह्यान्डीक्याप उद्योग दर्ता गरेपछि उद्यमीहरूलाई कानुनीरूपमा सहज भएको छ ।
लद्युउद्यम विकास कार्यक्रम तथा संगम म्याग्दीले तालिम र आवश्यक उपकरण सहयोग गरेपछि नांगीमा स्थानीय महिला उद्यमीहरूले कागज उत्पादनको परीक्षण गरेका थिए ।
उत्पादित नेपाली कागज र कागजबाट बनाइएका सामग्रीको माग बढेपछि आम्दानीको राम्रो सम्भावना देखिएकाले सामुदायिक वनका उपभोक्ताहरूको आयआर्जन वृद्धिका लागि उद्योग स्थापना गरिएको स्थानीय हिमाञ्चल उच्चमाविका प्राचार्य रमन पुनले बताए । उनका अनुसार उद्योगमा चार लाख रुपियाँ लगानी भएको छ ।
स्थानीय महिला तथा विपन्न व्यक्तिहरूलाई रोजगार प्रदान गरी उनीहरूको आयआर्जन वृद्धि, लोक्ताको संरक्षण तथा दिगो उपयोग गर्ने लक्ष्य राखिएको उद्योगबाट भएको आम्दानीको केही प्रतिशत विद्यालय सञ्चालन, वन संरक्षण र गाउँको विकास निर्माणमा लगानी गर्ने उद्देश्य पनि रहेको प्राचार्य पुनले बताए । हाल एक दर्जनको संख्यामा नांगीका उद्यमीहरूले हाते कागज उद्योगमा लोक्ता प्रशोधन गर्ने, कागज बनाउने र कागजबाट नोटबुक, डायरी, झोला, टोपीलगायतका सामग्री बनाउने गरेका छन् । कागज उत्पादन गरेर गत वर्ष तीन लाख ४४ हजार रुपियाँ आम्दानी भएको थियो ।
नेपाली कागज र सोबाट निर्मित सामग्री बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्चमाविलाई सहयोग गरिएको थियो । मध्यपहाडी क्षेत्रमा पर्ने नांगी र आसपासका क्षेत्रको जंगलमा नेपाली कागज उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ अल्लो प्रशस्त मात्रामा पाइन्छ ।

प्रतिक्रिया