बेरोजगार भत्ता माग

काठमाडौं : सरकारले रोजगारीको व्यवस्था गर्न नसके बेराजगारी भत्ता दिनुपर्ने सरोकारवालाले बताएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप)द्वारा राजधानीमा आयोजित ‘रोजगारिता : सम्भावनाका क्षेत्र’ विषयक कार्यक्रममा सरोकारवालाले युवाहरूलाई सामाजिक सुरक्षाको रूपमा शैक्षिक भत्ता, बेरोजगारी भत्ता  र स्वास्थ्य भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
बेरोजगार युवा संघका अध्यक्ष चन्द्रबहादुर थापाले रोजगारका लागि बाध्य भएर विदेशिने वा देशमा नै बेरोजगार भई भौँतारिने युवालाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा संलग्न  गराउनुका साथै तिनलाई उद्यमी बनाउँदै रोजगारीको क्षेत्रमा अग्रसर बनाउनेतर्फ बेरोजगार युवा संघ अगाडि बढिरहेको बताए ।
पूर्वमन्त्री गणेश शाहले मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउन रोजगारी वृद्धि र लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत गोविन्दप्रसाद पराजुलीले बजेटको अभावका कारण क्षमता अभिवृद्धि गर्ने युवा केन्द्रित कार्यक्रम सञ्चालनमा कठिनाइ परेको जानकारी दिए ।
कोक्यापकी अध्यक्ष उषा बडुवालले युवा उद्यमीलाई उद्योग सञ्चालन गर्न सहज तथा सुलभ ब्याज र लामो समयसम्म ऋण प्राप्त गर्न सकिने व्यवस्था सुनिश्चित गरिनुपर्ने धारणा राखिन् । राज्यले युवालाई दुई लाखसम्म विनाधितो ऋण दिने नीतिगत घोषणा गरे पनि हालसम्म ग्रामीण क्षेत्रका युवाले उक्त सेवा सजिलै पाउन नसकेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था भए पनि सो अनुरूप हुन सकेको छैन ।

प्रतिक्रिया