सगरमाथा हीरक दौडमा सय पत्रकार

काठमाडौं, १५ जेठ । सगरमाथा हीरक महोत्सवको अवसरमा पत्रकारबीचको दौड प्रतियोगिता सम्पन्न भएको छ । पर्यटन पत्रकार संघले मंगलबार राजधानीमा आयोजना गरेको दौड प्रतियोगितामा विभिन्न सञ्चारगृहका सय पत्रकार सहभागी भए ।
दौडमा महिलातर्फ इन्दिरा ढकाल, प्रमिला मानन्धर र सुनिता दवाडी क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा आए । त्यस्तै, पुरुषतर्फ रमेश सुनुवार, नवीन पाठक र रामकुमार पन्त क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा आउन सफल भए । विजेता धावकमध्ये पहिलो, दोस्रो तथा तेस्रो स्थानमा आउनेलाई पुरस्कारस्वरूप क्रमश: पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ प्रदान गरिएको थियो । ‘सम्पदा संरक्षण अभियानमा हामी सञ्चारकर्मी’ भन्ने नाराका साथ संघले मंगलबार बिहान पत्रकारबीच सगरमाथा हीरक सम्पदा दौड प्रतियोगिता आयोजना गरेको थियो । दौड वसन्तपुरबाट प्रारम्भ भई नयाँ सडक, शान्तिबाटिका, भद्रकाली हुँदै पुन: वसन्तपुरमा गई समापन भएको थियो । प्रतियोगिताको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले देशको सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनले सञ्चारकर्मी नै सम्पदा संरक्षणको कार्यमा जुट्नु निकै सराहनीय काम भएको जानकारी दिए ।

प्रतिक्रिया