भारतीय पाठ्यक्रम रोक्न राष्ट्रपतिसमक्ष हारगुहार

काठमाडौं : अखिल नेपाल शिक्षक संगठनले नेपालमा भारतीय पाठ्यक्रमको पठनपाठनमा प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रपतिलाई गुहारेको छ ।
नेपालको राष्ट्रियता र अखण्डतामाथि धावा बोल्ने गरी भारतीय पाठ्यक्रम पढाइने गरेको भन्दै संगठनले सोमबार त्यस्ता पाठ्यक्रममा प्रतिबन्ध लगाउनुपर्ने भन्दै राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको हो ।  संगठनले राष्ट्रपति डा. यादवसमक्ष भारतीय पाठ्यक्रममा प्रतिबन्ध लगाएर त्यस्तो पाठ्यक्रम लागू गर्ने विद्यालयलाई कारबाहीको मागसमेत गरेको छ ।
नेपालमा डिएभी सुशील केडिया, चाँदवाग, रुपिज, मोर्डन इन्डियन, राई स्कुल दिल्ली पब्लिकलगायत १४ वटा विद्यालयले भारतीय बोर्डको सिबिएसई र आइसिएसईको पाठ्यक्रम पढाउने गरेका छन् । पाठ्यक्रममा ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’, ‘लुम्बिनी भारतमा पर्छ, कञ्चनजंघा र अन्नपूर्ण हिमाल भारतीय हिमशृंखलामा पर्छन्’ भन्नेजस्ता भ्रामक कुरा सिकाउँदै आएका छन् । संगठनका अध्यक्ष गुणराज लोहनीले नेपालभित्र नेपालकै राष्ट्रियतामाथि धावा बोल्ने पाठ्यक्रम पढाइरहेकाले खारेजीको माग गर्दै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाएको जानकारी गराए । ‘नेपालबारे धावा बोल्ने भारतीय पाठ्क्रम पढाउनु भनेको यहाँको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि हस्तक्षेप हो,’ अध्यक्ष लोहनीले भने, ‘एउटा स्वाभिमानी नेपालीका लागि यस्तो हर्कत कुनै पनि हालतमा सह्य हुन सक्दैन । त्यसैले त्यस्ता पाठ्यक्रममाथि प्रतिबन्ध लगाएर पढाउने विद्यालयलाई कारबाही गर्नुपर्छ ।’
ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले राष्ट्रियताको सवालमा आफू गम्भीर भएकाले गर्नसक्ने काम अगाडि बढाउने जवाफ दिएका थिए । उनले राष्ट्रियतालाई लिएर गरिएको आन्दोलनलाई जागरणका रूपमा देशव्यापी बनाउन सुझाव दिएका थिए । (सौस)

प्रतिक्रिया