थ्री–स्टार र आरसिटीको जित

काठमाडांै, १२ जेठ । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको सहिद स्मार लिग च्याम्पियन थ्री–स्टार क्लबले गोर्खाकपमा विजयी सुरुवात गरेको छ । थ्री–स्टारले  नवलपरासीको  देशभक्त युवा क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । थ्री–स्टारका सन्तोष  साउखलले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको  थ्री–स्टार दोस्रो हाफमा थपआक्रामक बन्यो । एकपक्षीय खेलमा थ्री–स्टारले पहिलो हाफको १५औँ मिनेटमा पहिलो गोलको खाता खोल्यो । प्रकाश बुढाथोकीको पासमा साउखलले पहिलो गोल गरे । सन्तोसले दोस्रो हाफमा थपदुई गोल गरे । उनले दोस्रो हाफको जिखा डोडोजको पासलाई गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । साउखलले ह्याट्रिक पूरा गर्ने क्रममा ५८औँ मिनेटमा जगजितको पासलाई सदुपयोग गरेका थिए ।
डोडोजले जगजितको पासलाई उपयोग गर्दै पहिलो गोल गरे  । थ्री–स्टारका लागि अन्य गोल भने निराजन खड्का र  योगेश गुरुङले गरे ।
शनिबार नै भएको अर्को प्रतिस्पर्धामा आरसिटीले एपिएफमाथि २–१ को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । समग्र खेलम एपिएफले आरसिटीमाथि दबाब बढाए पनि नतिजा भने आरसिटिले आफ्नो पक्षमा पार्‍यो ।
आरसिटीका लागि अमर डंगोलले खेल सुरुभएको ३६ सेकेन्डमानै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एपिएफ फर्ममा आउन नपाउँदै एक गोल खाए पनि आरसिटीमाथि दबाब सिर्जना गर्न भने सफल भयो ।
एपिएफले ३६औँ मिनेटमा पाएको उत्कृष्ट मौकाको सदुपयोग गर्न चुक्ता पहिलो हाफमा बराबरीको अवसरबाट एपिएफ बञ्चित हुनु पर्‍यो । जाङबु शेर्पालाई आरसिटीका डिकेश खड्गीले लडाएपछि पाएको पेनल्टीलाई गणेश लावतीले सदुपयोग गर्नबाट चुके । उनको प्रहारलाई गोल रक्षक दिलिप क्षेत्रीले पन्ज गरेपछि बारमा लागेर फर्केको थियो ।
५०औँ मिनेटमा एपिएफका जाङबु शेर्पाको पासलाई राजेन्द्र रावलले ६ यार्डबाट प्रहार गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा पनि अन्य केही राम्रा मौका खेर फालेको एपिएफलाई हार चखाउने क्रममा आरसिटीका लागि ७९औँ मिनेटमा सुमन लामाले निर्णयक गोल गरे ।

प्रतिक्रिया