‘गणेश लामा आफै अदालत जाने’

ganesh-lamaकाठमाडौं, १२ जेठ । अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका चर्चित डन गणेश लामा आफै अदालतमा उपस्थित हुने भएका छन् ।
पारिवारिक स्रोतका अनुसार अदालतले तोकेको म्याद सकिनुभन्दा अघि नै लामा अदालतमा उपस्थिति हुनेछन् । लामालाई कसैले पक्राउ गर्न नपर्ने दाबी गर्दै स्रोतले भन्यो, ‘उसलाई प्रहरीले पक्राउ गर्न पर्दैन । अदालतमा आफै जानेछन्, किनकि अदालतले तोकेको म्याद अझै सकिएको छैन ।’
शनिबार सञ्चार माध्यममा लामा पक्राउ परेको भन्दै खवर सार्वजनिक भएको थियो । लामा पक्राउ परेको समाचार गलत रहेको परिवारका सदस्यले बताएका छन् । उनीहरूका अनुसार लामा १० दिनदेखि पार्टी कामका लागि बारा गएका छन् । निजी गाडीमा गएका लामा आइतबारसम्म काठमाडौं फर्कने कार्यक्रम छ । त्यस लगत्तै अदालतमा उपस्थित हुनेछन् । ‘लामा पार्टी कामका लागि काठमाडौं बाहिर छन् । उनी शनिबार राति या आइतबारसम्ममा काठमाडौं फर्कनेछन् । त्यसपछि अदालत जानेछन्’ पारिवारिक स्रोतले भन्यो ।
प्रहरीले पनि लामा पक्राउ परेको भन्ने खबर गलत रहेको बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी उत्तम सुवेदीले लामालाई आफू मातहतका कुनै पनि निकायले पक्राउ नगरेको बताए । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी विजयलाल कायस्त र केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का  एसएसपी उत्तम कार्कीले लामा पक्राउ बारे जानकारी नभएको बताए । केन्द्रीय प्रवक्ता डिआइजी केशव अधिकारीका अनुसार
मातहतका कुनै पनि निकायबाट लामालाई पक्राउ नगरिएको बताए । उनले भने, ‘लामा पक्राउ पर्‍यो भन्ने खबर कसरी बाहिर आयो । त्यसबारे मलाई जानकारी छैन । हामीले उनलाई पक्राउ गरेका छैनौँ ।’
लामासहित पाँच डनलाई विशेष अदालतले मुद्दा दर्ता भएको भोलिपल्टै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । उनीहरू विरुद्ध ५ जेठमा सम्पत्ति सुद्धिकरण विभागले अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले तोके अनुसार अबको आठ दिनभित्र उनीहरू अदालतमा उपस्थित हुनुपर्ने हुन्छ । अदालतमा लामा, दीपक मनांगे, परशुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरी र उनीहरूका श्रीमतीविरुद्ध मुद्दा दर्ता छ ।
विशेषले म्याद तामेल गर्नका लागि काठमाडौं जिल्ला अदालतमा र विराटनगर जिल्ला अदालतका नाममा पत्रसमेत काटिसकेको छ । म्याद बुझेको वा तामेली भएको मितिले १५ दिनभित्र अभियुक्त अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ ।
मुद्दामा लामाको २७ करोड १ लाख, मनाङेको १४ करोड ७३ लाख, बस्नेतको ११ करोड ६१ लाख, चक्रे मिलनको ७ करोड ८ लाख र गिरीको २ करोड ९४ लाख रुपियाँ अबैध भएको भन्दै बिगो जफत गर्न, त्यति नै जरिवाना तिराउन र १ देखि ४ वर्ष कैद सजाय तोक्न माग गरिएको छ ।

प्रतिक्रिया