शाब्दिक हतियारको प्रहार

bimaअविकसित समाजमा विसंगतिहरू धेरै हुन्छन् । विविध रंगका त्यस्ता विसंगतिहरू, राजनीतिक, प्रशासनिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, शैक्षिक इत्यादि रूपमा मौलाइरहेका भेटिन्छन् । यसरी मौलाएका ती विसंगतिहरूभित्र खोजिपसी हेर्ने हो भने त्यहाँ एउटा रहस्य फेला पर्छ, जुन रहस्यलाई ‘अनैतिकता’ को नाममा जान्न सकिन्छ र यही अनैतिकतालाई अर्थिक नामाकरण गर्ने हो भने त्यो ‘भ्रष्टाचार’ को छविमा देखापर्छ ।
त्यसो त भ्रष्टाचार आर्थिक रूपमा मात्रै हुँदैन, नैतिकहीन क्रियाकलापहरू, बेइमानी, दुराचार, व्यभिचार इत्यादि सबै प्रकारका नकारात्मक मानवीय चरित्र भ्रष्टाचार हुन् ।
प्रत्येक मान्छेभित्र भ्रष्टाचारजन्य यी यावत अवगुण छन् । अपवादमा कोही तिनबाट टाढै बस्ने कोसिस गरिरहन्छन्, कोही जानीजानी पनि नजानेजस्तो तीसँगै, टाँसिएरै रहेका हुन्छन् । मूलत: लेखक/कविहरू यस मामिलामा अलिक सचेत हुन्छन् र यदाकदा युवराज मैनालीजस्ता लेखकहरू, बढी नै सचेत भएर देखा पर्छन् ।
युवराज मैनाली समाजमा रहेका भ्रष्टाचारजन्य क्रियाकलापलाई ‘भाङ’को उपमा दिन्छन् । पछिल्लो समय आफ्नो हास्यव्यंग्यसंग्रह ‘भ्रष्टाचारको भाङ’मार्फत उनी निजी धारणा अभिव्यक्त गर्छन् – भ्रष्टाचार, लागुऔषध जस्तो… खाने बानी परेपछि छोड्नै नसकिने, र लेख्छन्– ‘…भ्रष्टाचार र भाङ उस्तैउस्तै हो । …यो पनि लागू त्यो पनि लागू, भाङ शिवजीको बुटी हो, भ्रष्टाचार घरदेखि सत्तासम्म पेट्रोलविना मोटर चलेभैँm चल्ने लागू हो ।…’
काँडाको आँखामा काँडै संसार अथवा फूलको आँखामा फूल नै संसार देख्ने असत्यवादीभैँm भाङ खाएको बर्बराइमा मैनाली पनि बोल्छन्– ‘भाङमा मै लिप्त तपार्इं नै लिप्त, अरू कसरी  निर्लिप्त बन्लान् त ?…’ यसरी, सबैलाई आफूजस्तै भाङप्रेमी देख्नु एक प्रकार कमजोर आत्मशक्ति हुनेहरूको मनोविज्ञान हो । तर, त्यो मनोविज्ञान मैनालीको हेराइको सार होइन केवल कटाक्ष हो भ्रष्टाचारीहरूविरुद्धको ।
उनी ढुक्क छन्, संसार यत्तिकै यथास्थितिमै चलिरहन्छ र त संकेत गर्छन्– भ्रष्टाचार–प्रवृत्ति नहुने हो भने समाज आफ्नो ठाउँबाट हलचल गर्न सक्दैन । इमानदारीको राजनीति गर्ने हो भने सत्ता कसरी टिकिरहन सक्छ ? उनी जिज्ञासा पोख्छन्– नैतिकतापूर्वक व्यापार गर्ने हो भने उद्योगधन्दा कसरी फस्टाउँछ ? किताबभित्रै मैनालीले व्यंग्यको नीतिलाई कतै पनि पछि पर्न दिएका छैनन्  । मान्छेभित्र रहेको अनैतिक चरित्रलाई सचेत रूपमा हेर्ने आँखा भएका भनेर माथि लक्षित गरिसकिएका मैनाली समाजभित्रका नकारात्मक पक्षमाथि जाइलागेका छन् । स्वघोषित लेखकहरूमाथि व्यंग्य गर्छन्, चाकडीबाज पत्रकारहरूमाथि व्यंग्य गर्छन्, व्यापारी, नेतालगायत सम्पूर्ण नाम होस् कि बदनाम होस्, जसरी पनि चर्चा खोज्ने धूर्त–पाखण्डीहरू उनको शाब्दिक हतियारको प्रहारबाट भाग्न सकेका छैनन् ।
अत्यन्त भावपूर्ण शैलीमा प्रस्तुत भएका उनका व्यंग्यात्मक धारणाहरू पाठकका लागि ग्राह्य त छँदै छन्, त्यसभन्दा माथि उत्तिकै मार्मिक छ उनको लेखनीमा । तथापि, उनको लेखनशैलीमाथि केही क्लिष्टताको संज्ञा थोपरिने सम्भावना भने छ । तर, आंशिक रूपमा त्यस्तो सम्भावित आक्षेप सही देख्न सकिए पनि पूर्णरूपमा त्यो सही होइन भनेर किताबभित्रैको लेखन स्वयंले प्रस्ट्याउँछ पनि † यो पक्कै हो, सामान्य भाषा र साहित्यिक भाषाबीच केही–केही त अन्तर हुन्छ नै, त्यो हुनु पनि पर्छ । अन्यथा, ‘साहित्यिक’ र ‘तमसुक’ लेखाइमा कुनै भेद रहन्न । युवराज मैनालीको विशेषता पनि यही नै हो कि यो लेखनमा उनको शैली अन्य लेखकहरूका दाँजोमा फरक नै छ, त्यो फरकपनालाई हामी ‘उत्कृष्ट’ को संज्ञा दिन सक्छौँ ।
किताबभित्रका सबैजसो हास्यव्यंग्यहरू निबन्धात्मक शैलीमा लेखिएका छन् । मूलत: समालोचकीय विधामा उनको कलम विशेष रूपले चल्ने भएकाले पनि यस्तो भएको हुन सक्छ । त्यसैले स्वाभाविक छ, किताबभित्रका रचनामा उनको धेरै ‘भेराइटी’ (विविधता) पाइँदैन, निबन्धात्मक ढाँचा मात्रै पाइन्छ ।
निबन्ध स्वयंमा विचार वा विश्लेषणप्रधान हुन्छन् । स्वभावत: यही चरित्र उनका व्यंग्यहरूमा पाइन्छन् । यो सम्भवत: उनको लेखनमाथिको आलोच्य पक्ष हुन सक्छ, रचनामा पात्रहरू त छन् तर ती बोल्दैनन्, एकआपसमा संवाद गर्दैनन्, केवल लेखक बोल्छन्, लेखकको मनोभाव मात्रै बोल्छ । तर, अब उनले लेखेर छपाउने हास्यव्यंग्यहरूमा यो पक्ष ‘करेक्सन’ भएर आउनुपर्छ भनेर पाठकहरूले भनिदिए भने त्यो अन्यथा ठहरिँदैन ।

प्रतिक्रिया