लभस्टोरी र एक्सन एकसाथ

Karisma-manandharकाठमाडौं : आफ्नो चलचित्र लाग्ने समयमा सिंगल रिलिज होस् भन्ने चाहना हरेक निर्मातामा हुन्छ तर हाम्रो विडम्बना भनौँ वा के भनौँ अचेल एक मात्र चलचित्र रिलिज भनेको कल्पनाभन्दा बाहिरको कुरा हो । अघिल्लो साता फ्राइडे रिलिजअन्तर्गत चार चलचित्र प्रदर्शनमा आए । तर, यो साता अर्थात् आज शुक्रबार चार नयाँ चलचित्र सार्वजनिक प्रदर्शनमा आउने भएका छन् ।
ती चलचित्र हुन्, ‘हो यही माया हो’, ‘उमा’, र ‘रिया’ । ‘हो यही माया हो’ दीपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र हो भने ‘उमा’ मा छिरिङ रितार शेर्पाको निर्देशन छ । त्यस्तै, ‘रिया’ सुजितकुमार निर्देशनमा तयार भएको छ ।
हो यही माया हो निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आउन लागेको हो । वैदेशिक रोजगार व्यवसायी सुवास गिरीले निर्माण गरेको यस चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, जिया केसी, हिउँवाला गौतम, श्याम राई, हिमाल केसीलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।
प्रेमकथालाई विषयवस्तु बनाइएको चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, हिमाल केसीको द्वन्द्व तथा राजनकुमार श्रेष्ठको पटकथा संवाद छ भने संगीत सुरेश अधिकारीले दिएका छन् ।
त्यस्तै, ‘रिया’ सुजित कुमारले निर्माण गरेको चलचित्र हो । एकतर्फी प्रेमकथामा आधारित यस चलचित्रमा अस्मिता कँडेल, भूपेन्द्र खड्का, रामेश्वर बुर्लाकोटी, मनीष केसीलगायतको अभिनय छ ।
उमा द्वन्द्वकालका कथा समेटिएको चलचित्र हो । कथा, निर्माण निर्देशककै छ । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, प्रवीण खतिवडा, सिर्जना सुब्बा, मिथिला शर्मा, प्रकाश घिमिरे, अशोक शर्मा, तुलसी घिमिरे, प्रमोद अग्रहरि, पुष्कर गुरुङ, सुरेश चन्द, शान्ति गिरी, मञ्जु गिरीलगायतको अभिनय चलचित्रमा छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । (सौस)

प्रतिक्रिया