कार्यालय प्रमुख सरुवाको विरोध

विराटनगर, १० जेठ । विद्युत् चुहावट नियन्त्रण तथा विद्युत्को विस्तार गर्ने कार्यमा उल्लेखनीय भूमिका खेल्ने विद्युत् वितरण केन्द्र दुहवीका प्रमुख चुटुन श्रीवास्तवको सरुवा गरिएकामा स्थानीय जनताले बिहीबार विरोध गरेका छन् । साथै स्थानीय बासिन्दाले विद्युत् वितरण केन्द्र दुहवी शाखा र बजार बन्द गराउने चेतावनीसमेत दिएका छन् ।
उक्त वितरण केन्द्रमा नौ महिनाअगाडि सरुवा भई आएका श्रीवास्तवले एक हजार ४ सयभन्दा बढी विद्युत् चोरी गर्नेलाई कारबाही तथा उद्योगी व्यवसायीलाई विद्युत् सेवा उपलब्ध गराउन उल्लेखनीय भूमिका खेलेकाले पुन: थमौतीको माग गरिएको हो । दुहवीका स्थानीय बासिन्दा तथा विद्युत् वितरण केन्द्रका कर्मचारीले प्रमुख श्रीवास्तवको सरुवाले सबैलाई समस्या पारेको बताएका छन् । पूर्वाञ्चलका उद्योगलाई गैरकानुनी रूपले विद्युत् उपलब्ध गराउनेलाई सरुवा एवं कारबाही गर्नुको सट्टा राम्रो काम गर्ने कार्यालय प्रमुखलाई सरुवा गर्नु न्यायोचित नभएको दुहवीका स्थानीय रामशरण साहले बताए ।

प्रतिक्रिया