गाई फार्म बन्द

भक्तपुर : मुलुकभर गाई पालन व्यवसायले मनग्य आम्दानी गरिरहेको बेला भक्तपुरमा भने गाई फार्महरू बन्द हुँदै गएका छन् ।
करिब एक वर्षअघि निक्कै तामझामका साथ सुरु गरिएको ताथलीको गाई फार्म वर्षदिन नपुग्दै बन्द भएको छ । ताथली गाविस वडा नं. १ ताथलीको भ्याली मोडेल गाई फार्म सुरु गरिएको ६ महिना नपुग्दै बन्द भएको हो । नर्मल भट्टराई, दीपक पनेरु, खेमराज पौडेल, नकुल राउत, अरूण बगाले, सुदर्शन थापा, गोकर्ण थापा र जीवन भट्टराई गरी आठ जनाको लगानीमा सञ्चालनमा ल्याएको फार्म गत वर्षको १६ पुसमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा उद्घाटन गरेका थिए ।
ठूलो स्केलमा लगानी गरिएको सो फार्ममा नाफा पाउन नसकेका कारण बन्द भएको सञ्चालक बताउँछन् । दूध उत्पादन गर्ने र स्थानीय तहमा रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको फार्मका लागि ४० लाख लगानी गरेको लगानीकर्ता एवं सञ्चालक निर्मल भट्टराईले जानकारी दिए । भट्टराईले सुरुआतमा एकदम दृढ भएर लागे पनि उद्घाटनपछि भने फार्म सञ्चालनमा आइपरेका समस्या देखिएपछि आवश्यक मात्रामा मुनाफा लिन नसकेको र अधिकांश लगानीकर्ता हतोत्साही भएकाले फार्म बन्द गर्नुपरेको धारणा राखे । उनका अनुसार करिब एक सय वटासम्म गाई पाल्नसक्ने क्षमता भएको फार्ममा ४० वटा मात्र गाई पालिएको थियो । सात जनाले रोजगारीसमेत पाएको सो फार्मबाट दैनिक तीन सय लिटर दूध उत्पादन भए पनि सञ्चालन गरेदेखि नै घाटामा गएका कारण वर्षदिन नबित्दै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
उनले भने,  ‘एकातर्फ फार्मप्रति ध्यान दिएर काम गर्ने मान्छे पाउन नसक्नु अर्कोतर्फ सञ्चालक देशको राजनीतिक पृष्ठभूमिबाट आएको कारण सबै आ–आफ्नै व्यवसायमा लागे, खासै अनुभव नभएकाले यस्तो स्थिति आएको हो’ ।  फार्मका लागि स्थानीयको १० रोपनी जग्गा भाडामा लिइएको थियो ।

प्रतिक्रिया