तीन करोडको गितार

Guitarविश्वचर्चित सांगीतिक ब्यान्ड बिटल्सको एक गितार तीन करोड रुपियाँभन्दा बढी मूल्यमा बिक्री भएको छ । बिटल्सका जोन लेनन र जर्ज हेरिसनले बजाउने गरेको यो गितार अमेरिकामा हालै भएको लिलामीका क्रममा ४ लाख ८ हजार डलर मूल्यमा बिक्री भएको हो । यसै गितारमार्फत बिटल्सले विश्वलाई सांगीतिक उत्कृष्टताको स्वाद चखाएको थियो ।
परम्परागत ढाँचाको स्वरूप दिइएको यो गितार सन् १९६६ मा बिओएक्स कम्पनीले बनाएको थियो । न्युयोर्कमा हालै भएको लिलामीमा ४६ वर्ष पुरानो यो गितार जसले किने, उनको नाम भने अझै सार्वजनिक भइसकेको छैन । सन् १९६७ मा आयोजित म्याजिकल हिस्ट्री टुरका दौरान हेरिसनले यसै गितारमार्फत ‘आई एम द वारलस’ गीत बजाएका थिए । त्यही साल लेननले यसको उपयोग ‘हेलो गुडबाई’ गीतको म्युजिकभिडियोमा गरेका थिए ।
लिलामघर जुलियनका अनुसार यो गितारको अनुमानित रकम सुरुमा २ देखि ३ लाख डलरका बीच थियो । तर, यसको बिक्री भने अनुमानभन्दा ज्यादै बढी रकममा भयो । यो गितार पछि लेननले बिटल्स समूहका सदस्य एलेक्स म्याजिकका नामले चर्चित एलेक्स मरदासलाई दिएका थिए, मरदासको २५औँ जन्मदिनको उपहारस्वरूप । गितारका पछाडि लेखिएकै भेटिन्छ– ‘म्याजिक एलेक्स । एलेक्सका लागि । साथी भएकोमा धन्यवाद † २ मे १९६७– जोन ।’
मरदासले सन् २००४ यो गितार बेचिदिएका थिए । क्रमश: बिक्री हुँदै यो पछिल्लो समय लिलामघरमा आइपुगेको थियो । गितारको पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर क्रेताले यति मोटो रकम हालेको अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया