खानेपानी संस्थान व्यवस्थापन बोर्डमा हस्तान्तरण

हेटौंडा, ९ जेठ । नेपाल खानेपानी संस्थान हेटौंडा शाखाको सम्पूर्ण स्वामित्व अबदेखि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । बुधबार यहाँ आयोजित कार्यक्रममा खानेपानी संस्थानका तर्फबाट हस्तान्तरण गरिएको सम्झौतापत्र सहरी तथा वातावरण सुधार आयोजनाका उपनिर्देशक नवराज प्याकुरेलले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई हस्तान्तरण गरे । यसअघि नेपाल खानेपानी संस्थानको तर्फबाट काठमाडौं र चितवनको भरतपुरमा क्रमश: व्यवस्थापन बोर्डमा हस्तान्तरण भइसकेको छ ।
तत्कालीन नेपाल खानेपानी संस्थान हेटौंडा शाखाले हेटौंटा नगरपालिका–७ र ११ बाहेक नगर क्षेत्रका उपभोक्तालाई अहिले दैनिक ८० लाख लिटर स्वच्छ पिउने पानी वितरण गर्दै आएको छ । हाल हेटौंडा नगरपालिका क्षेत्रमा दैनिक कुल एक करोड २० लाख लिटर स्वच्छ पिउने पानीको माग रहेको बताइएको छ । सुख्खा मौसमको प्रभावले यहाँ पानीको मुहान सुक्दै जाँदा अहिले हेटौंडा नगर क्षेत्रमा पिउने पानीको अभाव बढ्दै गएको छ । नगरपालिका क्षेत्रमा हालसम्म निजी आवास गृहमा कुल १० हजार तीन सयवटा र सार्वजनिक क्षेत्रमा ३० वटा धारा जडान गर्ने कार्य सम्पन्न गरिएको छ ।
नगरक्षेत्रभित्र बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखी एक वर्षभित्र करिब १० लाख लिटर गुणस्तरीय पानी वितरण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै ३० प्रतिशत पानीको चुहावट घटाएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले मध्यमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकाम हेटौंडामा बढ्दो सहरीकरणको साथै स्थानीय उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।
नेपाल खानेपानी संस्थान हेटौंडा शाखाका प्रमुख लक्ष्मणप्रसाद फुयाँलको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका पूर्वप्रमुख डोरमणि पौडेल, स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, नगरपालिकाको निमित्त कार्यकारी अधिकृत विके महर्जनलगायतले बढ्दो सहरीकरणलाई व्यवस्थित खानेपानी उपलब्ध गराउन सरोकारवाला एवं स्थानीय निकाय क्रियाशील हुनुपर्ने बताए ।

प्रतिक्रिया