वैद्य पार्टीको विरोधको अर्थ छैन : महरा

Krishnabahadur-Maharaदेउखुरी, ९ जेठ । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले नयाँ नेपाल र नयाँ संविधान निमार्णका लागि चुनाव हुनैपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महराले संविधानबाट नयाँ नेपालको निमार्ण हुने भएकाले चुनाव हुने बताए ।
‘निर्वाचन हुन्छ, यसमा कुनै दुविधा छैन्,’ उनले भने, ‘सरकारले  मिति घोषणा गर्नासाथ निर्वाचनको सरगर्मी बढ्न थालिहाल्छ ।’ नेता महाराले तोकिएकै समयमा चुनाव गराउन नदिने भनी विरोधमा रहेका नेकपा–माओवादीसहितका ३३ दल विरोधमा रहनुको कुनै औचित्य नभएको बताए । ‘विरोधले कुनै अर्थ राख्दैन,’ उनले भने, ‘औचित्यहीन विरोधको काम छैन ।’ चुनावबाट नै देशले निकास पाउनेमा नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय समुदायसमेत विश्वस्त भएकोले चुनाव भएरै छोड्ने उनको भनाइ छ ।
मतदाता नामावली संकलनलगायत चुनाव केन्द्रित क्रियाकलापमा नेकपा–माओवादीले प्रारम्भिक चरणमा बिथोल्न खोज्ने प्रयास गरेको भए पनि अन्तत: त्यो प्रयास सफल नहुने दाबी गरे । ‘निर्वाचन बिथोल्छौँ भन्दैमा त्यो बिथोलिँदैन’ उनले भने, ‘अन्तत: प्रयास असफल सावित हुन्छ ।’ चुनाव अगावै सबै दलका नेताहरूले आफ्नो पार्टी नै पहिलो हुने दाबी गर्छन् यसमा तपार्इंहरूको पार्टी के हुन्छ भन्नेमा दाबी गर्नुहुन्छ ? भन्ने जिज्ञासामा नेता महाराले चुनावमा पहिलो हुन्छ भन्ने दाबी अन्य दलहरूझै एकीकृत नेकपा माओवादीको पनि रहेको बताए, ‘यो प्रश्नको जवाफ सहजै छ, हामी पनि पहिलो पार्टी हुन्छौँ ।’ पार्टी पहिलो भन्ने कुरा चुनावको परिणामले देखाउने बताए पनि आफ्नो पार्टीको एजेन्डा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भएकाले फेरि पनि पहिलो पार्टी भएरै छाड्ने ठोकुवा गरे ।

प्रतिक्रिया