खोजखबर

जागिरमा पुनर्बहाली गर्ने भन्दै रकम उठाएको पुष्टि

सौर्य अनलाइन २०७० जेठ ८ गते १०:३० मा प्रकाशित

Bhagauda-Suraksha-Karmiकाठमाडौं, ८ जेठ । भगौडा सेना–प्रहरीलाई जागिरमा पुनर्बहाली गर्ने भन्दै द्वन्द्वपीडित सेना प्रहरी संघर्ष समितिले रकम उठाएको रसिद नै फेला परेको छ । यसअघि समितिले रकम नउठाएको दाबी गर्दै आएको थियो ।
सौर्यलाई प्राप्त पाँच हजार एक सय रुपियाँ बुझेको रसिदमा संघर्ष समितिका कमान्डर सूर्यबहादुर घिमिरेको हस्ताक्षर छ । ‘नवीनकुमार विष्टज्यूबाट सहयोगस्वरूप रु ५१ सय रुपैयाँ स–धन्यवाद प्राप्त भयो,’ रसिदमा उल्लेख छ । ९ वैशाख ०६६ उक्त रसिद काटिएको छ । रसिद नम्बर ८५५ रहेको छ । रसिदको टुप्पोमा द्वन्द्वपीडित सेना प्रहरी बसुन्धरा काठमाडौं उल्लेख छ ।
समितिका कमान्डर घिमिरेले भने उक्त रसिद नक्कली भएको दाबी गरे । आफूले कसैसँग पनि रकम नबुझेको उनले बताए । ‘रसिदमा त तपार्इंकै हस्ताक्षर छ नि ?’ भनेर सोधेपछि भने उनी केही हच्किए । ‘मैले यसबापत तपार्इंलाई के गर्नुपर्छ गरुँला, बसेर कुरा गरौँ न,’ भन्दै उनले प्रलोभन देखाउन खोजे । उनको प्रस्ताव सौर्यले अस्वीकार गरेपछि भने उनी आफूलाई फसाउन नक्कली कागजपत्र बनाइएको दाबी गर्न थाले । ‘मेराविरुद्ध लागेकाले नक्कली कागज बनाएको हुनसक्छ, तपार्इं त्यसको पछि नलाग्नुहोस्,’ उनले भने ।
संघर्ष समितिमा रकम बुझाउने विष्टले भने आफूले रकम कमान्डर घिमिरेलाई नै बुझाएको बताए । जागिरमा पुनर्बहाली गराइदिने बताएपछि आफूले रकम दिएको उनले बताए । ‘जागिरमा पुनर्बहाली गराइदिन्छु, अहिले रकम नदिए छुट्न सक्ला भनेपछि पैसा दिएँ,’ विष्टले भने ।
विष्टका अनुसार यसरी रकम बुझाउने अरू पनि धेरै छन् । नयाँ र पुुरानासँग लिने दर फरक रहेको उनले बताए । पुरानासँग पाँच हजार एक सय र  नयाँसँग १० हजार रुपियाँसम्म लिने गरेको उनले बताए । ‘म पुरानो लटको थिएँ । मसँग पाँच हजार एक सय लिए । नयाँसँग त उनीहरूले दश हजारसम्म लिएका थिए,’ उनले भने । स्रोतका अनुसार संघर्ष समितिका नाममा यसरी उठाइएको रकमको कुनै लेखाजोखा छैन । उठाइएको रकमबारे समितिसँग विवरण माग्दा सदस्यलाई जानकारी दिने गरिएको छैन । घिमिरेकै संयोजकत्वमा भगौडा सेना प्रहरीले हालै ‘नेपाल राष्ट्रिय सेवा दल’ नामको दल खोल्ने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय