चार वर्षपछि हो यही माया हो

ho-yahi-maya-hoकाठमाडौं : चलचित्र हो यही माया हो निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र आगामी १० बाट प्रदर्शनमा आउन लागेको जानकारी गराइयो ।
कार्यक्रममा निर्देशक दीपक श्रेष्ठले चलचित्रको बारेमा भन्दा पनि नायक राजेश हमालले यसको प्रचारमा साथ नदिएको गुनासो पोखे । राजेशले साथ नदिए पनि चलचित्र राम्रो भएको उनले दाबी गरे ।
त्यस्तै, निर्माता सुवास गिरीले आफूले कुनै पनि धारको भन्दा पनि राम्रो चलचित्र बनाएको बताए भने संगीतकार सुरेश अधिकारीले चलचित्रको गीतसंगीत राम्रो बनाउने प्रयास गरेको बताए । उनले चलचित्रको धार नहुने बरु आधार हुने भन्दा सबैको हाँसोका पात्र बने ।
१ घन्टा ढिलो गरी कार्यक्रममा आएका चलचित्रका अभिनेता राज तिमिल्सिनाले ढिलो भएकोमा सबैसँग माफी मागे । त्यस्तै नायिका जियाले आफूले दर्जनौँ चलचित्र अभिनय गरे पनि पहिलो अभिनय गरेको र रिलिज हुने यही चलचित्र भएको बताइन् । यसै चलचित्रदेखि आफू जमुनाबाट जियाको सुनाइन् । चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई, चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले शुभकामना दिएका थिए ।
दीपक श्रेष्ठको निर्देशनमा तयार भएको ‘हो यही माया हो’लाई सुवास गिरीले निर्माण गरेका हुन् । राजेश हमाल, करिष्मा मानन्धर, जिया केसी, हिउवाला गौतम, श्याम राई, हिमाल केसीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
प्रेमकथालाई विषयवस्तु बनाइएको यस चलचित्रमा सुवास इन्टरटेन्मेन्ट प्रालिको पहिलो प्रस्तुति हो । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, हिमाल केसीको द्वन्द्व तथा राजनकुमार श्रेष्ठको पटकथा संवाद छ भने संगीत सुरेश अधिकारीले दिएका छन् । देशभरका हलबाट एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र काठमाडौं, पोखरा, जोमसोमलगायत स्थानमा छायांकन गरिएको छ । (सौस)

प्रतिक्रिया