सर्वोच्चको प्रेसपासप्रति आपत्ति

काठमाडौं : नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले पत्रकार प्रवेश पासको विषयमा जारी गरेको सूचनाप्रति आपत्ति जनाएको छ ।
महासंघले सोमबार विज्ञप्तिमार्फत ‘पत्रकारहरूको प्रवेश पाससम्बन्धी सर्वोच्च अदालतको सूचना’ भनेर गोरखापत्रमा आइतबार प्रकाशित सूचनाप्रति महासंघले आपत्ति जनाएको हो । सूचनामा प्रकाशित ‘सर्वोच्च अदालतमा रिपोर्टिङ गर्न आउने पत्रकारलाई सर्वोच्चको मूल प्रवेशद्वारमा रहेको सुरक्षा युनिटबाट उपलब्ध गराइने प्रवेश पासको आधारमा मात्र प्रवेश दिने’ भन्नेलगायत व्यहोराले पत्रकारको न्यायालयमा पहुँच कमजोर हुने अवस्था उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । ‘जनतालाई न्याय दिने, उनीहरूको संवैधानिक र कानुनी हकको उपचार दिलाउने, मुलुकको न्यायालयका काम–कारबाही र गतिविधि प्रेसमार्फत निगरानी गर्ने र थाहा पाउने जनताको अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्चले कुनै पनि बहानामा यसलाई नियन्त्रण वा सीमित गर्नु हुन्न ।’
महासंघले दैनिक पत्रिकाका केही संवाददातालाई प्रवेश दिइएको भनेर टेलिभिजन, रेडियो, अनलाइनकर्मी तथा साप्ताहिक, पाक्षिक र सयौँ आमसञ्चारमाध्यममा क्रियाशील पत्रकारलाई न्यायालयको पहुँचबाहिर पार्ने कदम तत्काल सच्चाउन माग गरेको छ । (सौस)

प्रतिक्रिया