प्रेस काउन्सिलविरुद्ध पत्रकारको रिट

काठमाडौं : प्रेस काउन्सिल नेपालले प्रकाशित गर्ने त्रैमासिक पत्रिका ‘संहिता’ले आफूहरूको व्यक्तिगत इज्जत, प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याएको भन्दै दुई पत्रकारले सोमबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । उनीहरूले दश लाख क्षतिपूर्तिको माग गरेका छन् ।
कम्युनिकेसन कर्नरका रोशन पुरी र नारायणी एफएम वीरगन्जका गोविन्द देवकोटाले निवेदन दर्ता गराएका हुन् । वीरगन्जबाट प्रकाशित ‘अस्तित्व’ नामक पत्रिकाले प्रेस काउन्सिल ऐन र पत्रकार आचारसंहिता विपरीत पत्रकार देवकोटाविरुद्ध कपोलकल्पित सूचना प्रकाशन गरेकाले काउन्सिलमा पत्रिकाको प्रतिलिपिसहित निवेदन दिइएकामा सो पत्रिकामाथि कारबाही नगरी काउन्सिलबाट प्रकाशित ‘संहिता’को १६ अंकमा सोही सूचना पुन: प्रकाशन गरिएको थियो ।
त्यसैगरी ‘संहिता’को १७ अंकमा ‘दाइ जयनेपाल, कमरेड अभिवादन’ शीर्षक सामग्रीमा अन्य पत्रकारसँग पत्रकार पुरी र देवकोटालाई पनि विदेश घुम्न पठाइएको झुटो लेख छापिएको आरोप निवेदनमा लगाइएको थियो । पत्रकारद्वय पुरी र देवकोटाले आफूहरूको मानप्रतिष्ठामा आँच आउने गरी काउन्सिलबाट गरिएको कामको क्षतिपूूर्तिस्वरूप दश लाख रुपिया भराउन र कानुन विपरीत कार्य गर्ने काउन्सिललाई कारबाही गर्न  माग गरेका छन् ।
निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र काउन्सिललाई विपक्षी बनाइएको छ । (सौस)

प्रतिक्रिया