सरकारलाई व्यंग्य गर्दै राष्ट्रगान गाएबापत ‘रोयल्टी’

काठमाडौं, ७ जेठ । राजधानीको एक विद्यालयका विद्यार्थीले राष्ट्रगान गाएवापत राष्ट्रगान सर्जक व्याकुल माइँलालाई रोयल्टीस्वरूप नगद प्रदान गरेका छन् । राष्ट्रगान सर्जकलाई राज्यले सेवासुविधा उपलब्ध नगराइरहेको बेला नयाँ बानेश्वरस्थित काव्य स्कुलका विद्यार्थीले दैनिक १० पैसाका दरले संकलन गरेको एक वर्षको ८ हजार ९ सय ८० रुपियाँ नगद  सोमबार प्रदान गरेका हुन् ।
विद्यालयमा पढाइ हुँदा जम्मा भएर राष्ट्रगान गाएको दिनको हिसाब गरी उनीहरूले राज्यलाई घचघच्याउने गरी देशमै पहिलोपटक यस्तो कार्यको सुरुआत गरेका छन् । उक्त विद्यालयमा ४ सय ३० विद्यार्थी छन् । विद्यालयमा सञ्चालित काव्य स्काउट ट्रुपको सक्रियतामा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काव्य स्कुलले उक्त कार्य गरेको हो ।
राष्ट्रगान सर्जक माइलाले पनि विद्यार्थीको उक्त कार्य अनुकरणीय भएको भन्दै प्राप्त रकम दुर्गम जिल्लाका विद्यालयमा पुस्तकालय स्थापनाका लागि खर्च गर्ने प्रतिबद्धता जनाए । उनले ६/७ वर्षदेखि पुस्तकालय स्थापना अभियानअन्तर्गत रुकुम, खोटाङ, गोरखा, दोलखा, ओखलढुंगामा प्रतिपुस्तकालय ९० हजार रुपियाँबराबरको पुस्तक सहयोग गरेको जानकारी पनि दिए । उनले पछिल्लोपटक रामेछापको चण्डेश्वरी उच्च माविलाई आफ्नो गीति एल्बम बिक्रीबाट प्राप्त ५० हजार रकम सहयोग गर्ने उल्लेख गरे । विद्यार्थीले दिएको रकम भने भक्तपुरको एभरेस्ट इंग्लिस स्कुलसँगको सहकार्यमा कुनै पनि विद्यालयमा पुस्तकालय स्थापना खर्च गर्ने उनले बताए ।
उनले राष्ट्रगान साझा भएकाले व्यक्तिगत रूपमा आफूलाई रोयल्टी दिनु नपर्ने बताए । उनले भने, ‘अबदेखि यस्तो रकमलाई छात्रवृत्तिमा प्रयोग
गर्न आग्रह गर्छु ।’ राष्ट्रगान सर्जक नेपालीहरूको साझा व्यक्तित्व भए पनि राज्यले भने त्यसअनुरूप सेवासुविधा उपलब्ध गराउन सकेको छैन ।
उनले काव्यका विद्यार्थीहरूको कार्यले आफूलाई भावुक बनाएको उल्लेख गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहन गर्न काव्य स्कुलले विद्यार्थीलाई सिकाएकोमा प्रशंसा गरे । विद्यालयमा सोमबारको एसेम्ब्लीमा आयोजित कार्यक्रममा विद्यार्थीले राष्ट्रगान सर्जक माइलासँगै लहरै उभिएर दाहिने हात देब्रे छातीमा राखेर राष्ट्रगान पनि गाएका थिए । राष्ट्रगान सकिएपछि  माइलालाई विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया