कारबाहीमा उपाध्यक्षसहित ६ पदाधिकारी

Gunraj-Lohani-काठमाडौं, ६ जेठ । नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले विगतमा सरकार र सरोकारवालासँग भएका सहमति कार्यान्वयनको माग गरेको छ ।
माग पुरा नभए आन्दोलन गर्ने संगठनको चेतावनी छ । ‘शिक्षकहरुका माग पुरा नभए आन्दोलन गर्छौं,’ संगठनले भनेको छ । राजधानीमा सम्पन्न विस्तारित बैठक पछि आज (सोमबार) जारी विज्ञप्तिमा माग पुरा गराउन शैक्षिक र पेशागत आन्दोलनमा जोड दिईएको छ ।
बैठकले आगामी भदौ पहिलो साता चौथो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ‘×२०७० साल भदौ–२, ३ र ४ गते चौथो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सम्मेलनका लागि ‘राष्ट्रिय, वैज्ञानिक र जनवादी शिक्षाका पक्षमा संघर्ष गरौं, मर्यादित पेशाको सुनिश्चिताका लागि एकताबद्ध होऔं’ भन्ने मुल नारा पनि तय भएको छ । गुणराज लोहनीको संयोजकत्वमा चौथो राष्ट्रिय सम्मेलन मुल व्यवस्थापन समिति समेत गठन भएको विज्ञप्तिमा जनाईएको छ ।
विगतमा शिक्षा मन्त्रालय, शिक्षासँग सरोकारवालाबीच भएका सहमतिहरु लागू गराउन एकल वा संयुक्त आन्दोलन गर्ने, शिक्षा क्षेत्रमामा देखापरेका विकृतिका बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ ।
निजी विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरु माथि भएका विभिन्न खाले शोषण, दमन र उत्पीडनका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको संयोजक लोहनीले जनाए ।
यसैबीच, संगठनलले उपाध्यक्ष तुलसी घिमिरेसहित ६ जनालाई कारबाही गरेको छ ।
साधारण सदस्य समेत नरहने गरी कारबाहीमा पर्नेमा उपाध्यक्षहरु घिमिरे, रत्नबहादुर ओली, भोलानाथ सापकोटा, सचिव जीवनाथ पराजुली, सचिवालय सदस्य रामप्रसाद अधिकारी र शंकर अधिकारी रहेका छन् ।
संगठनको बदनाम गर्ने, विधानका विपरीत काम गर्ने, व्यक्तिगत लाभ लिने, गोपनीयता भंग गर्नेलगायतका आरोपमा साधारण सदस्यता समेत नरहने गरेर निस्कासन गरिएको जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया