नेप्से परिसूचक पाँच सय पुग्यो

काठमाडौं, ५ जेठ । नेप्से परिसूचकमा सुधारको संकेत देखिएको छ । साढे पाँच सय पुगेको नेप्से केही दिनअघि पाँच सयभन्दा तल झरेकोमा पुन: पाँच सय अंकमा पुगेको छ । साताको पहिलो दिनको तुलनामा १६ दशमलव ५८ अंकले वृद्धि भई नेप्से ४ सय ९९ दशमलव ९५ अंकमा  पुगेको नेप्सेले जनाएको छ ।
सुधारका क्रममा रहेको सेयर बजारमा एकाएक नेप्से पाँच सय अंकभन्दा तल झर्नु सेयर बजारमा ठूलो गिरावट आउनु हो । तर, यसमा क्रमश: सुधार देखिनुलाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।  गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय १३ कम्पनीको कारोबार भएकामा ४ हजार ६ सय ८१ कारोबारबाट ३३ करोड ७१ लाख ६० हजार रुपियाँ बराबरका १६ लाख ४६ हजार ८ सय ८० कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
यसअघि १ सय १३ कम्पनीको कारोबार भएको थियो । जसमा ५ हजार ३ सय ७४ कारोबारबाट ५१ करोड १४ लाख १३ हजार रुपियाँ बराबरका २५ लाख ६ हजार ५ सय ३० कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३४ दशमलव ०७ प्रतिशतले ह्रास भएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १८ करोड ५८ लाख ६३ हजार रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५५ दशमलव १३ प्रतिशत हो ।
गत साता वाणिज्य बैंक समूहको परिसूचक १७ दशमलव २४ अंकले बढयो भने उत्पादनमुलकको ६ दशमलब ६४, अन्य  समूहको २२ दशमलव ३२, जलविद्युत्को ३३ दशमलव २८, बिमाको ७३ दशमलव ४८, वित्तको १ दशमलव ४० र विकास बंैकको सूचकांक ३ दशमलव ३७ अंकले बढेको छ । तर, होटल समूहको सूचकांक भने ६ दशमलव ९९ ले नकारात्मक रहेको नेप्सेले जनाएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ८८ अंकले वृद्धि भई १ सय २५ दशमलव ५४ अंकमा पुगेको छ ।
गत साता कारोबार रकम ३ करोड ५२ लाख २८ हजार रुपियाँ) का आधारमा नबिल बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयरसंख्या ६ लाख ५१ हजार ७ सय ८० कित्ताका आधारमा नबिल ब्यालेन्सड फन्ड अग्रस्थानमा छ ।
साताको उत्कृष्ट कम्पनीमा नबिल, एभरेस्ट, ग्लोबल आइएमई, नेपाल बंगलादेश बंैक र चिलिमे हाइड्रो पावर कम्पनी छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार हुन सकेन ।

प्रतिक्रिया