ग्यास बिक्रेताले अन्य सामग्री बेच्न नपाउने

काठमाडौं : ग्यास बिक्रेताले ग्यासबाहेकका अन्य दैनिक उपभोग्य सामग्री बेच्न नपाउने नयाँ व्यवस्था सरकारले गरेको छ ।
आगामी १ असारदेखि लागू हुनेगरी सरकारले चामल, दालजस्ता सामग्री बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएपछि अन्य सामग्री नबेच्ने भएका हुन् । ग्यास, रेगुलेटर, चुलो, रेगुलेटर पाइप, तिनको मर्मत–सम्भारलगायत कार्य गर्न ग्यास बिक्रेतालाई सुविधा दिइएको तर अन्य वस्तुको कारोबारमा रोक लगाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले बताए ।
‘१ असारदेखि दुई रङका सिलिन्डरको प्रयोगसँगै ग्यास र त्यससम्बन्धी वस्तुको कारोबार एउटै पसलबाट मात्र हुनेछ,’ सचिव जोशीले भने, ‘पानदेखि पानी पसलेसमेतले ग्यासको कारोबार गर्दै आएकाले एकै स्थानबाट मात्र बेचविखन गर्न तथा ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न सहज हुन्छ ।’
हाल नेपालभर १३ लाख ग्यास सिलिन्डर प्रयोगमा रहेको अनुमान छ ।     यसैबीच, नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको ‘आइजिटी ब्रान्ड’को ग्यास सिलिन्डर रेगुलेटर आएको छ । डेनमार्कमा निर्मित उक्त रेगुलेटर एमआर हाइटेक ट्रेडिङ कम्पनीले बजारमा ल्याएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा सचिव जोशी, नेपालका लागि डेनमार्कका राजदूत मोर्टेन जेसपर्सन, अभिनेत्री करिश्मा मानन्धरलगायतले यो उत्पादनले उपभोक्ताको विश्वास जित्न सफल हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया