गणतन्त्रप्रति प्रतिबद्धतासहितको प्रतिवेदन पारित

काठमाडौं, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनशक्ति पार्टी (राजपा)को एकता महाधिवेशनले गणतन्त्रप्रति प्रतिबद्धता जनाएको छ । एकता महाधिवेशनअन्तर्गत शनिबार गणतन्त्रप्रति प्रतिबद्धतासहितको राजनीतिक प्रस्ताव शनिबार पारित गरेको छ ।
राजपाका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गणतन्त्रप्रति प्रतिबद्धता, बहुलवाद, पूर्ण प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, मानवअधिकार, राष्ट्रवाद र जनपक्षीय
उदारवाद, समावेशीलगायतका विषय समेटिएका छन् । पूर्वपञ्चहरूको दल भनेर चिनिने राप्रपा र राजपाको एकता महाधिवेशनले गणतन्त्रप्रति प्रतिबद्धता जनाएको हो । बन्दसत्रमा अर्जुन राईले वैदेशिक, प्रतिभा राणाले महिला, ठाकुरसिंह थारूले मधेसी र श्रीधर परियारले दलितसम्बन्धी छुट्टाछुट्टै रूपमा प्रस्तुत गरेका प्रतिवेदन पनि पारित भएका छन् । परशुराम खापुङले पेस गरेको विधान संशोधन प्रतिवेदनमाथि छलफल भइरहेको स्रोतले जनाएको छ ।
आगामी संविधानसभा चुनाव सम्पन्न गर्न पार्टी सक्रिय रूपमा परिचालन हुने निर्णय पनि शनिबारको बन्दसत्रबाट भएको छ । बन्दसत्रमा दुई सयभन्दा बढी सहभागीले मुलुकको राजनीतिक, पार्टी संगठन सुदृढीकरण र भावी रणनीतिबारे केन्द्रित रहेर सुझाव दिएको महाधिवेशन प्रचार समितिका सहसंयोजक किरण गिरीले जानकारी दिए ।
शुक्रबार सुरु भएको एकता महाधिवेशन आइतबार सम्पन्न गर्ने कार्यक्रम भए पनि बन्दसत्रमा धेरैभन्दा धेरै वक्ताले बोल्ने इच्छा देखाएकाले महाधिवेशन लम्बिन सक्ने संकेत देखिएको गिरीले बताए ।

प्रतिक्रिया