एमालेको चुनावी अभियान सुरु

काठमाडौं, ४ जेठ । एमालेले संविधानसभा परिचालनसम्बन्धी एकमहिने अभियानको अन्तिम तयारी सकेको छ । केन्द्रीय कमिटीले तयार गरेको कार्ययोजनाअनुरूप शुक्रबार पार्टी मुख्यालय बल्खुमा अभियानका सदस्यको अभिमुखीकरण कार्यक्रम गरी चुनावी अभियान सुरु गरेको हो ।
केन्द्रीय सदस्यहरूको नेतृत्वमा देशका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा अभियान चलाउने तयारी एमालेले गरेको हो । हरेक निर्वाचन क्षेत्रमा एक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित क्षेत्रबाट राष्ट्रिय प्रतिनिधि परिषद्मा प्रतिनिधित्व गर्ने सदस्यहरू र अञ्चल समन्वय कमिटीबाट दुई सदस्य गरी माथिल्लो निकायबाट खटिनेछन् । अभियानको कार्यतालिका जिल्ला कमिटी र निर्वाचन क्षेत्रीय कमिटीले बनाउनेछन् । टोलीले हरेक निर्वाचन क्षेत्रका गाउँ–टोलमा पुगेर घरदैलो र पदयात्रासमेत गर्नेछ । त्यस क्रममा मतदाताको घरदैलोमा पुगेर जनमत बुझ्ने, स्थानीय अन्तरविरोध अध्ययन गर्ने, स्थानीय मुद्दाहरू पहिचान गर्ने, पार्टीको पहिचान बुझ्ने, पार्टीमा निष्क्रिय रहेका सदस्यलाई सक्रिय बनाउने र पार्टी छाडेकालाई पार्टीमा फर्काउने कार्यक्रम एमालेले बनाएको छ ।
‘निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने र अन्य पार्टीमा संलग्नलाई एमालेमा प्रवेश गराउनेसम्मको स्थानीयस्तरका काम टोलीले गर्नेछ,’ प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘पदयात्रा र घरदैलोजस्ता कार्यक्रमसहित एमालेको अभियान भोलिदेखि नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ ।’
स्थानीयस्तरमा भएको पार्टीको अवस्था बुझेर सबै क्षेत्रको प्रतिवेदन एक महिनापछि केन्द्रीय कार्यालयमा अभियानले बुझाउने निर्णय यसअघि नै केन्द्रीय कमिटीले गरेको थियो । शुक्रबार पार्टी मुख्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष झलनाथ खनाल, नेता केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतले बोलेका थिए । उनीहरूले आउने चुनावमा एमालेलाई बहुमतसहित पहिलो पार्टी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्न सहभागीलाई निर्देशन दिएका थिए ।
चुनावी अभियानमा जाँदा उग्रवामपन्थी अतिवाद, दक्षिणपन्थी संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पतन भएको विषयलाई प्रमुखताका साथ उठाउनुपर्ने नेताहरूले बताएका थिए । ‘युद्धकालमा उठाएका जनवाद र राष्ट्रवादका प्रस्थापनाहरू छाडेर उग्रवामपन्थी शक्तिहरू अहिले कसरी राष्ट्रिय एकता भड्काउँदै विखण्डनकारी बाटोमा हिँडिरहेका छन् र राष्ट्रिय आत्मसमर्पणवादी बनिरहेका छन्, त्यसलाई जनसमक्ष खुलस्त पार्नुपर्छ,’ अभियानका सदस्यहरूलाई निर्देशन दिँदै पार्टी अध्यक्ष झलनाथ खनालले भने, ‘आधारभूत वर्गका नागरिकलाई उग्रवामपन्थले कसरी उपयोग गर्‍यो र पछि आफ्नो स्वार्थ पूरा गरेपछि कसरी बिचल्ली बनायो, यसलाई जनसमक्ष राख्नुपर्छ ।’

प्रतिक्रिया