मोफसलको हस्तक्षेप

me-Prabin-Baniyaकरिब दुई महिनाअघि झापामा ऐतिहासिक कला साहित्य उत्सव सकिएको थियो । रिडर्स झापाले सिमानामा त्यस्तो सानदार कला साहित्य उत्वस गर्‍यो, जसलाई भाषा, कला र साहित्यको केन्द्र भनिने काठमाडौंले तीन दिनसम्म पटक–पटक फर्केर हेर्‍यो । र, एकपटक काठमाडांै लगभग रित्तिएको निष्कर्ष निकाल्यो । पूर्वको प्रतिनिधित्व गर्दै झापाले एकपल्ट मोफसलको शक्ति देखायो । भारत र नेपालको सिमानामा भएको उक्त कार्यकाक्रमको गुनगान धेरै गाइयो । कति लेखकजनले ‘प्यालनवाइज गरिएको’ आरोप लगाउँदै विभेदपूर्ण आलोचना गरे । कतिले स्वस्थ आलोचना । समालोचना–आलोचनाका माझबाट हेर्दा आयोजकले जे गर्‍यो, सम्झनलायक काम गर्‍यो भन्ने निष्कर्ष निकालियो ।
साहित्य उत्सव झापाको काँकडभिट्टामा मात्रै सीमित रहेन । सिमानाको चर्चा–परिचर्चा सेलाउन नपाउँदै कला साहित्यको उत्सवको रन्कोले खोटाङलाई पनि छोयो । भाषा, कला, साहित्यमा लागेका खोटाङका सिर्जनशील मनहरू काठमाडौंमै पटक–पटक जुटे । र, खोटाङ कला साहित्य महोत्सवको योजनाको खाका कोर्न थाले । दर्ननौँपटकका बैठक, छलफलपछि ‘खोटाङ साहित्य कला उत्सव–२०७०’ आयोजना गर्ने तयारीमा जुटे । खोटाङले पहिला यस्ताखाले कार्यक्रम गरेको थिएन, कहिल्यै । तीन महिनादेखिको तयारी, दर्बिलो योजना र सामूहिकताका साथ खोटाङमा रहेको ‘राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान’ र ‘रावासावा प्राज्ञिक समाज’को संयुक्त आयोजनामा एकपटक खोटाङलाई कला साहित्यको जग टेकाएर उभ्याउने अठोट गरे ।
वैशाख १४ देखि १६ सम्म चलेको ३ दिने ‘बृहत् खोटाङ कला साहित्य उत्वस–२०७०’ ले खोटाङलाई एकपटक उज्यालो बनायो । पूर्वलाई अरू उज्यालो बाँढ्यो । ‘जे छ सबथोक यहीँ छ र हामीभन्दा बाहिर अरू कोही पनि छैन’ भन्ने काठमाडौंलाई एकपटक खोटाङले सोच्न बाध्य बनाइदियो । अर्कातर्फ भाषा, कला साहित्यको मूलधारमा आफ्नो हिस्साको दाबी जनायो । उत्सवमार्फत, खोटाङले फेरि एकपटक मोफसलको शक्ति प्रर्दशन गर्‍यो । वरिष्ठ आख्यानकार खगेन्द्र संग्रौलाको भनाइको निष्कर्ष निकाल्ने हो भने पूर्वबाट खोटाङले केन्द्रलाई चेताउने काम गरेको छ । जरुर † जुन अर्थमा उत्सव सकियो त्यसले समग्र पूर्वको भाषा, कला साहित्यको वर्तमान क्षेत्रलाई अझै फराकिलो बनाउने र अरू उचाइ थप्ने काम गरेको छ ।
खोटाङ कला साहित्य उत्सवको रूप अन्य उत्सवहरूको जस्तै रह्यो । विधागत रचनाहरू वाचन भए । विधागत अन्तक्र्रिया र चर्चाहरू भए । स्थानीय कवि, लेखकहरूको लेखनी र परम्पराका बारेमा बहसहरू भए । काठमाडौंको साहित्यको समकालीन अवस्थाबारे तातो बहस चल्यो । डायस्पोरिक साहित्य लेखनीका बारेमा निकै नै चाखलाग्दो छलफलल भयो । कथाका कुरा भए । लेखकीय व्यथाका पनि कुरा भए ।  महोत्सवले लेखकहरूलाई जमघट गरायो । भाषा र साहित्यका बारेमा ताता बहसहरू भए । युवाले युवालाई भेटे । पुराना र नयाँ पुस्ताबीच पठन र पुस्तकका बारेमा घनीभूत अन्तक्र्रियाहरू भए । पाठकहरूसँगै लेखकहरू उभिए । समालोचक तथा भाषाविद्हरू जुटे । पुस्तक/चित्रकला प्रदर्शनी र सांगीतिक कार्यक्रमहरू अन्य आकर्षणका रूपमा रहे ।
उत्सवमा भेराइटिजहरू थिए । पट्यारलाग्दो साहित्यिक भाषणवाजी कम र अन्तक्र्रियात्मक कार्यक्रम बढी रह्यो । कार्यक्रमलाई सक्रिय र सहभागितामूलक बनाइराख्न आयोजकले सक्दो प्रयास गरेकै देखिन्थ्यो । खास गरी विधागत हिसाबबाट आयोजकले काठमाडौंबाट स्थापित स्रष्टाहरूलाई अतिथिका रूपमा खोटाङ पुर्‍यायो । गजल विधाअन्तर्गत ललिजन रावल, गीतअन्तर्गत भूपाल राई, कविताअन्तर्गत श्रवण मुकारुङ, कथा र निबन्धअन्तर्गत श्रीओम श्रेष्ठ ‘रोदन’ आदि आयोजकका नजरमा परेछन् । आख्यानअन्तर्गत खगेन्द्र संग्रौलालाई प्रमुख अतिथिका लागि  रोजियो । यसबाहेक खोटाङबाहिरका अरू थुप्रै कवि, लेखकहरू जुटे । युवा पुस्तका चर्चित कवि स्व.स्वप्निल स्मृति र लेखक–पत्रकार वसन्त बस्नेतलगायत काठमाडौंबाट त्यहाँ पुगे ।
उता सुनसरीबाट देवान किरााती, हेमन यात्रीहरू थपिए । यसबाहेक खोटाङले जन्माएका तर खोटाङभन्दा बाहिर बसेर काम गरिरहेका थुप्रै साथहरू एकपटक आफ्नो जरा गाढिएको भूमिमा पुगे । र, त्यहीँबाट एकपल्ट सामूहिक हात उठाए । शक्ति प्रदर्शन गरे । पहिला कवि, लेखक भनेर दरिएका र बीचमा गुमनाम रहेका विष्णु आभूषणजस्ता कविहरूलाई एकपटक मञ्चमा उभ्याइदियो महोत्सवले ।
कार्यक्रमको पहिलो दिन साहित्य र्‍यालीसहित दिक्तेल बजारको परिक्रम गरियो । उद्घाटन समारोहपछि ‘जिल्लास्तरीय खुला कविता प्रतियोगिता’ सम्पन्न भयो । प्रतियोगिताबाट प्यारसी राई (प्रथम), प्रतिबोध आचार्य (द्वितीय) र सविता भट्टराई (तृतीय) ले क्रमश: १० हजार, ७ हजार र ५ हजार नगदसहितको पुरस्कार हात पारे । सोही दिन विभिन्न विषयमा विधागत कार्यत्रपत्रहरू प्रस्तुत गरिए । ‘खोटाङ जिल्लाको साहित्य’माथि डा.धनप्रसाद सुवेदी, ‘खोटाङको साहित्य कला’सम्बन्धी ज्ञानेन्द्र विवश, ‘विधागत सौन्दर्य’सम्बन्धी भागवत आचार्य, नयाँ विधा ‘आँचल’माथि पुरण राई आदिले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुतिका दिन कार्यक्रम अलि पट्यारिलो भएको उपस्थितहरूको अनुहारबाट सजिलै पढ्न सकिन्थ्यो ।
दोस्रो दिनको कार्यक्रम विधागत अन्तक्र्रियामा केन्द्रित रह्यो । गजलको बान्कीमाथि ललिजन रावलले चर्चा गरे । गुणस्तरीय गीतबारे भूपाल राईले बहस गरे । त्यसैगरी राम्रा कविता र खराब कविताका बारेमा कवि श्रवण मुकारुङले चाखलाग्दो चर्चा गरे । कथा लेखन र निबन्धका बारेमा श्रीओम श्रेष्ठ ‘रोदन’ले चर्चा गरे । लेखक–पत्रकार वसन्त बस्नेतले दुईवटा कविता पस्किए । उत्सवका प्रमुख अतिथि खगेन्द्र संग्रौलाले समकालीन आख्यान र आफ्नाबारे केही कुरा बाँडे । उक्त दिन गजल वाचन गर्ने र गाउनेहरूले पूरै कायक्रमलाई कब्जा नै गरे । साँझदेखि कविहरू ताते । जतिबेला कविहरू जाँगर लगाएर लय हालीहाली कविता पाठ गरिरहेका थिए, त्यतिबेला दर्शकदीर्घामा बसेका धेरै स्रोताहरूचाहिँ निन्द्रादेवीको काखमा लुट्पुटिइरहेका देखिन्थे ।
दोस्रो दिनको साँझपख पाहुनाहरूले घुमेर मुड फ्रेस गरे । राति ८ बजेसम्म आ–आफ्ना खुराक पस्कने क्रम चलिहाल्थ्यो । गजलकारहरूले गजल वाचन गर्थे/गाउँथे । कविहरूले कविता ठोक्थे । सुन्नेहरू सुनिरहेका देखिन्थे । नसुन्नेहरू बाहिरभित्र गरिरहेका देखिन्थे । जमातमा खासखुस चलिरहन्थो । युवा कविहरू समूहमा गफ छाँट्थे  ।  कार्यक्रमको अन्तिम दिन अतिथिहरूलाई पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीको भ्रमण गराउँदै विदाइ गर्ने काम भयो ।
कवि टंक भट्टराई जतिबेलै व्यस्त देखिन्थे । सबैभन्दा हतारो र चटारो उनैलाई थियो सायद । खोटाङमा त्यस्तो बृहत् कला साहित्य उत्सव सभ्य र भव्य रूपमा सम्पन्न गर्ने उनको परिकल्पना धेरै अघिदेखिको रहेछ । उत्सव उनैको संयोजकत्वमा सम्पन्न भयो । त्यसो त उनीसँगै अरू थुप्रै सहयोगीहरू रहेछन् । काठमाडौंमा बसेर खोटाङको कर्यक्रमको डिजाइन बनाउँदै गर्दा एउटा जमात थियो ।
खोटाङमा धेरैथोकभईकन पनि केहीकेही कुराको अभावचाहिँ खड्किएकै रहेछ । यतिका धेरै कलाकर्मी, कवि, लेखक र बुद्धिजीवीहरूको बाक्लो जमात त्यहाँ छ, तर त्यहाँ एउटा पनि चित्तबुझ्दो पुस्तकालय रहेनछ । त्यहाँको पठन संस्कृति निकै कमजोर रहेछ । मानिसमा पढ्ने बानी छैन । लेख्नेहरू आ–आफ्नै ठाउँबाट लेखिरहेका छन्, समाज आफ्नै गतिमा छ । खोटाङमा प्राज्ञिक वर्ग छन्, तर प्राज्ञिक धरातल कमजोर छ, उत्सवभरि रहँदै गर्दा यो पंक्तिकारले निकालेको एउटा निष्कर्ष यो पनि हो । भलै, खोटाङले यो कला साहित्य उत्सवमार्फत केन्द्रमा गतिलो हस्तक्षेप गरेको छ । यसबाहेक, काठमाडौं र खोटाङलाई भावनात्मक रूपमा जोडिराख्ने काम पनि गरेको छ, यो महत्त्वपूर्ण कुरा हो ।
[email protected]

प्रतिक्रिया